मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ २२ आइतबार १३:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उपमहानगर राष्ट्रिय सम्मेलन : साझा धारणा बनाउन प्रदेश प्रमुख शेरचनको सुझाव

Read Time : > 1 मिनेट
२०७९ माघ २२ आइतबार १३:४३:००

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उपमहानगरपालिका तहका समस्या हल गर्न साझा धारणा बनाउन सुझाव दिएका छन् । संघीय सरकारले पालिकाहरूलाई निर्देशित रूपमा राख्न खोज्यो भन्ने चिन्ता धेरै दिन नरहने पनि उनले बताए । संविधानले दिएका अधिकारलाई छिटोभन्दा छिटो कार्यान्वयनमा लैजानु सबैको दायित्व भएको उनको धारणा छ ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले संघीयता बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले स्थानीय सरकारमा पनि महानगर, उपमहानगर र नगरको अवस्था र समस्या फरकफरक रहेकाले आर्थिक सामाजिक हिसाबले स्राेत साधनको वितरणबारे छलफल गर्न जरुरी रहेको बताए ।

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताए । बुटवलले उपमहानगरपालिकाहरूका साझा समस्याको समाधानको खोजी गर्ने अभ्यासको थालनी गरेकोमा खुसी व्यक्त गर्दै उनले यसले संघीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महानगर फोरमका संयोजक तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए । उनले संविधानले व्यवस्था गरेअनुसारका साझा र एकल अधिकार प्रयोगका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा जटिलता देखिएकाले त्यसको समाधानका लागि संघीय सरकारले चासो देखाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरू दोहोरिने गरेको र योजना कार्यान्वयनमा जटिलता देखिने गरेकोमा त्यसलाई सुधार गर्दै समन्वय र सहकार्यलाई जोड दिनुपर्ने बताए ।

यसैगरी, नेपाल नगरपालिका संघका सहकोषाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले संघीयता सफल बनाउन स्थानीय सरकारहरूलाई सफल बनाउनुपर्ने उल्लेख गरिन् । 

देशभरका उपमहानगरहरूका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू बुटवलमा भेला भएका छन् । शनिबार बुटवल आइपुगेका उनीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले स्वागत गरेको थियो ।