मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ २२ आइतबार ०८:०१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुल्मीमा हत्याका शृंखला बढ्दै, तीन महिनामा चार हत्या 

Read Time : > 1 मिनेट
२०७९ माघ २२ आइतबार ०८:०१:००

केही दिनयता गुल्मीमा हत्याका शृंखला बढ्दै गएका छन् । पछिल्लो तीन महिनामा चारवटा हत्या भएका छन् । मुसिकोट नगरपालिकामा दुई, इस्मामा एक र सत्यवती गाउँपालिका एकजनाको हत्या भएको छ । 

इस्माको हत्यामा संलग्न भारतीय नागरिक र सत्यवती घटनाका आरोपित पक्राउ परेका छन् । मुसिकोटको वामीमा श्रीमती हत्या गर्ने पनि पक्राउ परेका छन् । तर, होटेल सञ्चालकको हत्यामा संलग्न भने अझै फेला परेका छैनन् ।

१९ माघमा रुरु क्षेत्र गाउँपालिका– २ को कालीगण्डकी नदी किनारको ढोडेनी बगरमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमान्डमा खटिएकोे प्रहरी टोलीले घटनास्थल र संलग्नको अनुसन्धान सुरु गर्‍यो । 

१३ माघमा सत्यवती गाउँपालिका– १ रुद्रवेणीबाट रिमुवा जाने झोलुङे पुलनजिकै रगतका छिटा स्थानीयले देखेका थिए । स्थानीयकै सहयोगमा प्रहरीले मृतक भारतको सुगौली पूर्वी चम्पानगर– ८ का ४४ वर्षीय सेख आलीनाम र उनी बस्दै आएको होटेलको पहिचान गर्‍यो । सेखको गुल्मी अस्पतालमा पोस्टमार्टम गरियो । होटेल सञ्चालक ५६ वर्षीय छविलाल र श्रीमती ४८ वर्षीया विष्णु अधिकारीलाई पक्राउ गर्‍यो । सोधपुछकै क्रममा दम्पतीले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अधिकारीदम्पतीले गत १२ माघमा सेखको हत्या गरेर खोलामा फालेका थिए । सेखले मदिरा सेवन गरेर श्रीमतीलाई यौनजन्य क्रियाकलाप गरेको भन्दै हथौडा प्रहार गरेर हत्या गरेपछि अधिकारीदम्पती मिलेर बोरामा शव राखेर घरनजिकैको पुलबाट कालीगण्डकी नदीमा फालेको प्रहरी उपरीक्षक अर्जुन रानाभाटले बताए । 

गुल्मीको मुसिकोट नगरपालिका– ७ वामीका होटेल सञ्चालक बाग्लुङ बडिगाड गाउँपालिका– २ की ५८ वर्षीया गंगादेवी शेरचनको हत्या भएको एक हप्ता पुग्यो । उनी १५ माघमा होटेलभित्र हातखुट्टा बाँधिएको र मुखमा टेप लगाइएको अवस्थामा मृत फेला परेकी थिइन् । बिहान अबेरसम्म पनि होटेलको ढोका नखुलेपछि स्थानीयले वामी प्रहरीचौकीमा खबर गरेका थिए । प्रहरीको तालिमप्राप्त कुकुरसमेत झिकाएर प्रहरीले घटनाको अनुसन्धान गर्‍यो । तर, एक हप्ता पुगे पनि अपराधमा संलग्न फेला परेका छैनन् । 

त्यस्तै, मुसिकोट नगरपालिका– ७ वामीमै ४२ वर्षीय सूर्यबहादुर कुमालले १ कात्तिकमा श्रीमती तालकुमारी कुमालको हत्या गरेका थिए । घरायसी विवादमा कुटपिट गरेर घाइते बनाएपछि लुम्बिनी वामी अस्पतालमा उपचारको क्रममा तालकुमारीको ज्यान गएको थियो । हत्यामा संलग्न कुमाल जेल चलान भएका छन् ।

गत २८ कात्तिकमा गुल्मीकै इस्मा गाउँपालिका– ५ की ७४ वर्षीया एकल महिला जीवकला थापाको हत्या भएको थियो । उनी वर्षौँदेखि एक्लै घरमा थिइन् । जीवकलाको त्यो कथा युट्युबमा सार्वजनिक भएपछि भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंहले भिडियो पछ्याउँदै गाउँ गएर हत्या गरेका थिए । एक्लै घरमा बसेको र केही गहना भएको भिडियो देखेका सिंह जीवकलाको हत्या गरेर फरार भएका थिए ।