१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बालिका बलात्कार आरोपी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले बन्द प्रशिक्षणमा राखेपछि शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै अधिकारकर्मी । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार ०७:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णयविरुद्ध प्रदर्शन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार ०७:२४:००

बालिका बलात्कार अभियोगमा २० लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको कारबाही फुकुवा गर्ने नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म विरोध सुरु भएको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा गम्भीर मुद्दाका आरोपीलाई खेलमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । 

क्यानले बिहीबार सन्दीपविरुद्ध लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो । बलात्कार अभियोग लागेपछि गत असोजमा क्यानले उनीविरुद्ध सम्पूर्ण खेलमा प्रतिबन्ध लगाएको थियो । कारबाही फुकुवा गरेपछि सन्दीप शुक्रबार नै आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आसन्न त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा सहभागी भइसकेका छन् । अदालतको आदेशअनुसार प्रहरी निगरानीमा हुनुपर्ने व्यक्ति राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा भएको भन्दै सडक र सामाजिक सञ्जालमा विरोध सुरु भएको छ । 

अभियन्ताले क्यानको निर्णयविरुद्ध सामाजिक सञ्जालमा क्यान बहिष्कार अभियान नै सुरु गरेका छन् । अभियानमा सहभागिता जनाउँदै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना अन्सारीले ट्विटरमा क्यान जवाफदेहिताविहीन भएको आरोप लगाइन् । उनले लेखेकी छिन्, ‘बलात्कार आरोप लागेका खेलाडीलाई टोलीमा खेलाउने निर्णय लिने पदाधिकारीलाई कुन–कुन दलले नियुक्ति गरेको हो ? खेलाडीलाई खेलाउनु मात्रै क्यानको दायित्व हो भने के तपाईंहरूको काम छैन र जवाफदेहिताविहीन संस्थाको काम छैन ।’

लेखक आन्विका गिरीले पनि राष्ट्रिय टोलीमा सन्दीपलाई फर्काउने क्यानको निर्णयविरुद्ध विरोध जनाएकी छिन् । आफ्नो ट्विटर ह्यान्डलमा लेखेकी छिन्, ‘जुन टिमले बलात्कार अभियुक्तलाई स्पेस दिन्छ, त्यो मेरो देशको टिम होइन । क्रिकेटको पुरुष राष्ट्रिय टिमलाई मेरो लोप्पा छ । अनि हामीलाई यो असंवेदनशीलतामा धकेल्ने प्रधानमन्त्री तथा खेलकुदमन्त्रीलाई पनि लोप्पा छ ।’

गायक सन्तोष लामाले पनि क्यानको निर्णयमा विरोध जनाएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘क्यानले खेलप्रेमी अनि सर्भायवरमाथि गरेको बुल्ली, बलमिचाइँ र के गर्न सक्छस् गर भन्ने भावको अभिव्यक्ति हो यो । नत्र यत्रो विरोध भइराख्दा यस्तो पोस्ट नआउनुपर्ने हो ।’

त्यस्तै, क्यानको निर्णयको विरोधमा अभियन्ताले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् । प्लेकार्डसहित शनिबार मण्डलामा सहभागी अभियन्ताले ‘मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुन सक्दैन,’लगायत लेखेका थिए । खेलको नियम पालना गर्ने संस्थाले न्यायको निमय पालना नगरेको भन्दै क्यानको विरोध गरेका छन् । 

उच्च अदालत पाटनको आदेशमा गत २९ पुसमा सन्दीप थुनामुक्त भएका थिए । उच्चको आदेशअनुसार प्रहरीको अनुमतिविना उनी काठमाडौं उपत्यका छाडेर बाहिर जान सक्दैनन् । त्यस्तै, उनलाई नेपाल छाड्ने अनुमति पनि छैन । उनको पासपोर्ट जफत गर्न उच्चले प्रशासनलाई आदेश गरेको छ । उनलाई चौबिसै घन्टा निगरानीमा राख्नसमेत अदालतले प्रहरीलाई निर्देशन दिएको छ । आदेश उल्लंघन गरे उनी पुनः थुनामा जाने उच्चले भनेको छ । राष्ट्रिय टोलीमा फर्केपछि उच्चको आदेश उल्लंघन गरेको भन्दै सन्दीपविरुद्ध सर्वोच्च अदालतमा पनि रिट निवेदन परेको छ । जसमा शुक्रबारबाट सुनुवाइ सुरु भएको हो । जिल्ला अदालत काठमाडौंमा सन्दीपमाथिको मुद्दा विचाराधीन छ ।