मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ माघ २२ आइतबार ०६:०७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको आज ‘निर्णायक’ बैठक

Read Time : > 2 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ माघ २२ आइतबार ०६:०७:००

गृहबाहेक अन्य मन्त्रालय लिन रास्वपालाई प्रधानमन्त्रीको प्रस्ताव

गृहबाहेक अन्य मन्त्रालय लिन प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई प्रस्ताव गरेको प्रस्तावमाथि छलफल गर्न आकस्मिक रूपमा शनिबार साँझ बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएको छ ।

बैठक बस्नुअघि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । स्रोतका अनुसार भेटमा प्रधानमन्त्रीले अदालतको फैसलाको सम्मान गर्नुपर्ने सबैको दायित्व भएकाले विकल्पसहित सहमति खोज्न प्रस्ताव गरेका थिए । चितवनमा उपनिर्वाचनको सुनिश्चितता भए विकल्पमा सहमति खोज्न सकिने सभापति लामिछानेको जनाउ थियो । राति साढे ८ बजे सुरु भई करिब साढे दुई घन्टा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आइतबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको थियो ।

सन्तोष परियार प्रमुख सचेतक, रास्वपा

बैठकमा गृह मन्त्रालय मात्रै नभएर राष्ट्रपतिदेखि उपनिर्वाचनसम्मको विषयमा छलफल भयो । यो गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपाको मात्रै विषय छैन, अन्य पनि छन् । कुनै निर्णयमा पुग्न सकिएन । त्यसैले आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने गरी शनिबार रातिको बैठक स्थगित भएको छ ।

‘बैठकमा गृह मन्त्रालय मात्रै नभएर राष्ट्रपतिदेखि उपनिर्वाचनसम्मको विषयमा छलफल भयो,’ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने, ‘यो गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपाको मात्रै विषय छैन, अन्य पनि छन् । कुनै निर्णयमा पुग्न सकिएन । त्यसैले आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने गरी शनिबार रातिको बैठक स्थगित भएको छ ।’

प्रमुख सचेतक परियारका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमबारे सत्तागठबन्धनभित्र भइरहेको संवादबारे सभापति लामिछानेले बैठकमा ‘ब्रिफ’ गरेका थिए । ‘सरकार छाड्ने–नछाड्ने भन्ने विषयमा खासै छलफल भएन, नेताहरू संवादमै हुनुहुन्छ । राजनीतिमा संवाद त बन्द गर्नुभएन,’ परियारले भने ।

नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै गुमेको गृह मन्त्रालय पुनः पाउनुपर्ने रास्वपाको माग छ । तर, प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पूर्णपाठ नआइसकेको तथा लामिछानेको पासपोर्ट विवाद छानबिनको विषय बनेकाले मन्त्री बनाउन अस्वीकार गर्दै आएका छन् । सत्तागठबन्धनभित्र भएको सहमतिअनुसार गृह मन्त्रालय रास्वपाले पाउनुपर्नेमा एमाले अध्यक्ष ओली सकारात्मक छन् ।

यसअघि रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी नै दिएको थियो । बिहीबार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा रास्वपाको बैठकअगाडि प्रधानमन्त्री प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका अध्यक्ष ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल कुनै निर्णय नलिन, हतारमा निर्णय लिँदा गठबन्धन नै अप्ठेरोमा पर्ने र सरकारको स्थायित्वमाथि प्रश्न उठ्ने भन्दै थप दुई दिनको समय माग गरेका थिए । उनीहरूकै आग्रहमा रास्वपाले दुई दिन पर्खने र उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्नो कुरा राख्ने निर्णय गरेको थियो ।

शनिबार राति दुई दिनको समयसीमा सकिँदासम्म संयन्त्रको बैठक बस्न सकेन । बरु, शनिबार बिहान गृह विवादकै विषयमा छलफल गर्न बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटमा ओलीले संयन्त्रको बैठक बस्न दबाब दिए पनि प्रधानमन्त्री प्रचण्डले खासै रुचि देखाएनन् । माओवादीको स्थायी कमिटी बैठकपछि पत्रकारसँग प्रचण्डले भनेका थिए, ‘समस्या समाधान हुन्छ ।’

तर, रास्वपाका उपसभापति एवं संसदिय दलका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको नयाँ प्रस्तावबारे अनभिज्ञता जनाए । ‘हामी त गृह मन्त्रालयमै अडिग छौँ,’ उनले भने, ‘हिजो, आज र भोलि सधैँ हाम्रो एउटै धारणा हो । उच्चस्तरीय राजनीतिक संयन्त्रले जे सहमति गरेको थियो, त्यही पालना हुनुपर्छ भन्ने हो । हामीले दुई दिनभित्र संयन्त्रको बैठक राख्नुस् भनेका हौँ, उहाँहरूले त्यो पनि सक्नुभएन । राजनीतिमा न्यूनतम इमानदारिता हुनुपर्छ भन्ने हो ।’

चितवन २ मा उपनिर्वाचनको मिति तोकिनुपर्ने विषयमा पनि छलफल भएको उपसभापति अर्यालले बताए । ‘पार्टीको महामन्त्री, सहमहामन्त्रीलगायत केही सदस्य पार्टीको कार्यक्रमका कारण उपत्यकाबाहिर रहेकाले पनि शनिबारको बैठकले कुनै निर्णय गर्न नसकेको हो । सम्भवतः आइतबारको बैठकले राष्ट्रपति र उपनिर्वाचनका विषयसँगै सबै विषयमा औपचारिक निर्णय गर्नेछ,’ उनले भने ।