Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ माघ २१ शनिबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वन्यजन्तु चोरी–सिकारी : दुई प्रदेश सांसद र गाउँपालिकाका पूर्वअध्यक्षसहित ४७ विरुद्ध मुद्दा

Read Time : > 1 मिनेट
२०७९ माघ २१ शनिबार ०६:२६:००

पर्सा राष्ट्रिय निकुन्जमा वन्यजन्तु चोरी–सिकारीको घटनामा संलग्न रहेको ठहर भएपछि दुई प्रदेश सांसद र गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनाविरुद्ध मुद्दा दायर भएको छ । गत ४ पुसमा निकुन्जमा भएको वन्यजन्तु चोरी–सिकारीमा संलग्न रहेको ठहर भएपछि उनीहरूविरुद्ध निकुन्जमा मुद्दा दायर भएको हो । 

निकुन्जका वार्डेन मनोज रामका अनुसार काठमाडौं ५(२) का सांसद श्याम खड्का, पर्सा ३ (१) का स्वतन्त्र निर्वाचित सांसद प्रमोदकुमार जयसवाल र सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालविरुद्ध मुद्दा दायर भएको हो । उनीहरू वन्यजन्तुको अवैध चोरी–सिकारीमा मतियारको रूपमा रहेको भन्दै मुद्दा दायर गरिएको निकुन्जका वार्डेन रामले बताए । 

प्रदेश सभा सदस्य प्रमोद र गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप सहोदर दाजुभाइ हुन् । जसपामा सक्रिय राजनीति गरेका सांसद जयसवाल पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । हाल उनी जसपामै फर्केका छन् । अर्का प्रदेश सभा सदस्य खड्का भने कांग्रेसबाट निर्वाचित भएका हुन् । गाउँपालिकाका पूर्वअध्यक्ष जयसवाल जसपामा आबद्ध छन् । 

उनीहरूविरुद्ध राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने वार्डेन रामले बताए । वन्यजन्तुको अवैध चोरी–सिकारीका लागि मतियारको रूपमा काम गरेको ठहर भएकाले कसुरदारलाई लाग्ने सजाय आधा हुनेछ । कसुरदारलाई ५० हजार जरिवाना र एक वर्षसम्मको जरिवाना हुने व्यवस्था छ ।

आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर प्रदेश सांसद खड्काले वन्यजन्तुको सिकार गर्न लगाएको अनुसन्धानमा देखिएको निकुन्जले जनाएको छ । उनीमाथि निकुन्जले हातहतियार खरखजना ऐन, २०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर पठाएको वार्डेन रामले बताए ।

चोरी–सिकारीको क्रममा पक्राउ सांसद जयसवालका चालक सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुनमगर, सखुवा प्रसौनी– १ का ३७ वर्षीय झापसदास थारू, ४४ वर्षीय विशाल सहनी, काभ्रे सांगा– ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना– २ का ५२ वर्षीय म्लाङ दोङ र प्रकाश केसीलाई सोही ऐनको दफा २६ (३) बामोजिम सजाय हुने निर्णय भएको छ ।

गत पुस ४ मा निकुन्ज आडमै रहेको प्रदेश सांसद जयसवालको घरबाट सखुवा प्रसौनी– १ का झापस, विशाल, काभ्रे सांगा– ६ का दामोदर, धादिङ गंगाजमुना– २ का दोङलाई मृत हरिण र अवैध हातहतियारसहित नियन्त्रणमा लिइएको थियो । 

वन्यजन्तुको अवैध सिकार तथा तस्करीमा प्रदेश २–०३००१ च ३०९७ नम्बरको सेतो जिप प्रयोग भएको थियो । मारिएको जरायो सोही गाडीमा हालेर तस्कर निकुन्जका सुरक्षाकर्मीलाई लक्षित गरेर गोली हानेर भागेका थिए । जवाफी फायरिङमा गाडीको टायरमा गोली लागेपछि जंगल आडैमा रहेको सखुवा प्रसौनी गाउँपालिका– १ स्थित अकुनिया गाउँमा गाडी रोकेर भागेका थिए ।

उनीहरू गाडी बीचबाटोमै छाडेर सांसद जयसवालको घर गएका थिए । उनको घरबाट चोरी–सिकार गर्न प्रयोग भएका बन्दोबस्तीका सामान, हतियार र जरायोको सिंहसहितको टाउको बरामद भएको थियो ।

निकुन्जले घटनास्थलबाट बरामद भएका सवारी, ६ थान मोबाइल, दुई लाख ९६ हजार ६ सय ३० नेपाली र एक हजार दुई सय भारतीय मुद्रा, बन्दुकलगायत अन्य बन्दोबस्तीका सामग्री राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ बमोजिम जफत गर्ने निर्णय लिएको छ । बरामद सबै सामग्री परीक्षणका लागि निकुन्जले विधिविज्ञान प्रयोगशालामा पठाएको थियो । 

प्रतिवादीमध्ये केही व्यक्तिको अस्वाभाविक रूपमा वित्तीय कारोबार भएकोसमेत खुल्न आएकाले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत लेखी पठाइएको छ ।