मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १८ बुधबार १२:५८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हेटौँडा उपमहानगर आफैँले फुटबल एकेडेमी सञ्चालन गर्ने

Read Time : > 1 मिनेट
२०७९ माघ १८ बुधबार १२:५८:००

हेटौँडा उपमहानगरपालिकाले आफ्नै लगानीमा फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने भएको छ। 

उपमहानगरपालिकाको १३औँ कार्यपालिका बैठकले ‘हेटौँडा उपमहानगरपालिका फुटबल एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन कार्यविधि–२०७९’ स्वीकृत गरेसँगै एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालनको बाटो खुलेको छ।

अब हेटौँडा उपमहानगरपालिकाले दक्ष खेलाडी उत्पादनका लागि नगरभित्र आफ्नै प्रशिक्षण केन्द्र सञ्चालन गर्ने जनाएको छ। 

बागमती प्रदेशको राजधानीसमेत रहेको एक मात्र उपमहानगरले नयाँ खेलाडी उत्पादन तथा खेल क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले एकेडेमी सञ्चालन गर्न लागेको नगरप्रमुख मीना कुमारी लामाले बताइन्। 

उनले हेटौँडाबाट राष्ट्रिय रूपमा खेल्ने धेरै खेलाडी उत्पादन भइरहेको भए पनि त्यसलाई अझ व्यवस्थित गर्न उपमहानगरले नै एकेडेमी सञ्चालन गर्न लागेको स्पष्ट पारिन्।

लामाले भनिन्, ‘विगत लामो समयदेखि नै हेटौँडाका धेरै फुटबल खेलाडीले राष्ट्रिय टिममा अवसर पाइरहेका छन्। हेटौँडा फुटबलको लागि अति नै उर्वर भूमि हो, तर यसलाई व्यवस्थित गर्न सकिएको छैन। उपमहानगरपालिका आफैँले एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादनसँगै खेल क्षेत्रलाई व्यवस्थित गर्ने एउटा प्रयास गर्न लागेका हौँ।’

यसका लागि सबै नगरवासीको सहयोग आवश्यक पर्ने पनि प्रमुख लामाले बताइन्। स्वीकृत कार्यविधिअनुसार उपमहानगरले नगरका १९ वटै वडामा रहेका १२ देखि १४ वर्ष उमेर समूहका महिला तथा पुरुष खेलाडीलाई छनाेट गरी एकेडेमीमा राखेर प्रशिक्षण प्रदान गर्नेछ। 

प्रमुख लामाले उपमहानगरपालिका क्षेत्रका प्रत्येक वडाबाट एक–एकजना महिला तथा पुरुष खेलाडीसहित ४५ जनालाई ‘क्लोज क्याम्प’मा राखेर नियमित प्रशिक्षण दिने बताइन्।
उनले खेलाडीको प्रशिक्षणसँगै, आवास, खानपान, शिक्षा र स्वास्थ्य उपचारजस्ता आवश्यक सबै सुविधाको व्यवस्थापन उपमहानगरपालिकाले नै गर्ने स्पष्ट पारिन्।

एकेडेमीमा नगरका ४५ जना महिला तथा पुरुष खेलाडीलाई आवासीय सुविधासहित प्रशिक्षण गराउन उपमहानगरपालिकाले चालू आर्थिक वर्ष ०७९-८० का लागि ७५ लाख रुपैयाँ रकम विनियोजनसमेत गरेको छ।
 
स्वीकृत कार्यविधिअनुसार मकवानपुर जिल्ला फुटबल संघसँगको सहकार्यमा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा संरक्षक रहेको एकेडेमी तथा प्रशिक्षण केन्द्र सञ्चालन र अनुगमन समितिले एकेडेमीको कामलाई निगरानी र सुधारका लागि आवश्यक समन्वय गर्नेछ।

कार्यविधि स्वीकृत भएसँगै जिल्ला फुटबल संघ मकवानपुरसँग फुटबल एकेडेमी सञ्चालनका लागि औपचारिक सम्झौताको काम अघि बढाउने तयारी भइरहेको उपमहानगरपालिकाका प्रवक्ता एवं हेटौँडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले जानकारी दिए।