१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस
२०७५ चैत २३ शनिबार १४:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपत्यकाको ट्राफिक सुधारका लागि फुटपाथ अतिक्रमण हटाइदै

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत २३ शनिबार १४:२३:००

ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने भएको हो । 

महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाउन लागेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन यही चैत २१ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना अगाडि सारेको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक फुटपाथ अतिक्रमण हटाएसँगै ट्राफिक व्यवस्थापनमा सुधार आउने बताए । 'सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेको छ, सडक फुटपाथ अतिक्रमण आएसँगै जाम घट्ने विश्वास हामीले लिएका छौं,' उनले भने ।  

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।