मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुर्तजा हुसैन/रायन ग्रिम
२०७९ माघ १३ शुक्रबार ०९:४९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मस्क मोदीसामु लत्रिए 

Read Time : > 2 मिनेट
मुर्तजा हुसैन/रायन ग्रिम
२०७९ माघ १३ शुक्रबार ०९:४९:००

मस्कले अमेरिकी पुरातनपन्थीका लागि सभ्यता युद्धको घोषणा गरिरहँदा अधिनायकवादी सरकारबाट हुने वाक्–स्वतन्त्रता हननमा आवाज मुखर गर्न सकिरहेका छैनन्

भारत सरकारसँगको सहकार्यमा ट्विटर र युट्युबले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्ने बिबिसीको वृत्तचित्र धारावाहिकमाथि प्रतिबन्ध लगाएको छ । वृत्तचित्रमा सन् २००२ मा भारतको गुजरातमा भएको नरसंहारमा मोदीको संलग्नताको जाँच गरेको थियो । वृत्तचित्रलाई भारतीय अधिकारीले ‘प्रोपगान्डा’को संज्ञा दिएका छन् । 

भारतका सूचना एवं प्रसारण मन्त्रालयका वरिष्ठ सल्लाहकार कञ्चन गुप्ताले बिबिसी वृत्तचित्रलाई ‘शत्रुतापूर्ण प्रोपगान्डा र भारतविरोधी कुँडा–कर्कट’ भन्दै सामाजिक सञ्जालमा शृंखलाबद्ध आलोचना गरेका थिए । उनले ट्विटर, युट्युबजस्ता प्लेटफर्ममा वृत्तचित्रको लिंक ब्लक गर्न आदेश दिइएको बताएका थिए । भारतीय लेखक रकिब हमिद नाइकले द इन्टरसेप्टलाई ‘सरकारले कैयौँ सामाजिक सञ्जाल प्लेटफर्म, मुख्यतया युट्युब र ट्विटरमा सयौँ माग अघि सारेको थियो, जहाँ वृत्तचित्रका अंश वा लिंक समावेश भएका पोस्ट हटाउनु भन्ने निर्देशन थिए ।’ र, दुर्भाग्यवश यी कम्पनीले निर्लज्ज हुँदै भारत सरकारको उर्दी स्विकारेर धेरै भिडियो एवं पोस्ट हटाएका छन् । 

विदेशी नेताले मानवताविरुद्धको अपराध गरेको आरोपसम्बन्धी सामग्री हटाउनुले ट्विटरका लागि विशेषतः कम्पनीको हालैको व्यवस्थापकीय परिवर्तनका सन्दर्भमा एक समस्याग्रस्त उदाहरण स्थापित गरेको छ । आफूलाई ‘वाक्–स्वतन्त्रता निरपेक्षवादी’ भनेरै अर्बपति एलन मस्कले ट्विटरको स्वामित्व लिएका थिए । स्वामित्व लिनुअघि ट्विटरमा राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनका छोरा हन्टर बाइडेनबारे समाचारमा रोक लगाएको भन्दै उनले ट्विटरको कडा आलोचना गरेका थिए । 

जब मस्क अमेरिकामा पुरातनपन्थीप्रति भइरहेको वाक्–स्वतन्त्रता हननको विरोध गरिरहेका थिए, तब उनले ‘सभ्यताको भविष्यका लागि युद्ध’ घोषणा गरेका थिए, तर अहिले उनी अन्य देशका अधिनायकवादी मागका सन्दर्भमा कठिनाइ झेलिरहेका छन् । मस्कले हाल ट्विटरको सञ्चार मामिला हेरिरहेका छन् । यो वृत्तचित्र सतहमा आएपछि उनले पहिले त ‘मैले पनि सुनेको छु’ लेखेका थिए । र, पछि ‘टेस्ला र स्पेसएक्सको पनि जिम्मेवारी लिइरहँदा रातारात विश्वव्यापी रूपमा ट्विटरका हरेक पक्षलाई ठिक पार्न मेरा लागि सम्भव छैन’ भनेका थिए । युट्युबका प्रवक्ता ज्याक मालोनले द इन्टरसेप्टलाई बिबिसीको प्रतिलिपि अधिकार दाबीका कारण वृत्तचित्रलाई प्लेटफर्मबाट हटाइएको बताए, तर भारत सरकारले हटाउन माग गरेकोबारे भने टिप्पणी गर्न अस्वीकार गरे ।

ट्विटर र अन्य सामाजिक सञ्जाल सुरुवाती चरणमा अधिनायकवादी सत्ताका लागि चुनौती बनेका थिए, जसलाई सन् २००९ को इरानको आन्दोलन र तत्पश्चात् अरब वसन्त आन्दोलनले पुष्टि गर्छ । त्यतिवेला तानाशाहहरू सामाजिक सञ्जालविरुद्ध खनिएका थिए । भारतमा विपक्षी दल अखिल भारतीय तृणमूल कंग्रेस पार्टीका सांसद महुआ मोइत्रा र डेरेक ओ’ब्रायनले वृत्तचित्रमा लगाइएको सेन्सरसिपको अवज्ञा गर्दै वृत्तचित्रको लिंकलाई ट्विट गरेका थिए । ट्विटरले दुवैका ट्विट हटाइदियो । ट्विटरले अमेरिकी अभिनेता जोन कुस्याकको वृत्तचित्रसम्बन्धी ट्विट पनि हटायो (ट्विट अमेरिकी प्रयोगकर्ताले भने हेर्न सक्छन्) । सन् २००२ मा गुजरात दंगा हुँदा नरेन्द्र मोदी गुजरात राज्यका मुख्यमन्त्री थिए । मोदीलाई व्यक्तिगत तवरबाट दंगालाई प्रोत्साहन गरेको र दंगाका समयमा प्रहरी परिचालनमा रोक लगाएका थिए भन्ने आरोप लाग्ने गर्छ । सो दंगामा एक हजारभन्दा बढी मानिस मारिएका थिए । पत्रकार नाइक ‘हिंसामा भागिदारी भएको आरोप छल्न खोज्ने मोदीलाई वृत्तचित्रले सशंकित बनाइदिएको छ’ बताउँछन् । ‘मोदीले वृत्तचित्रलाई आफ्नो अन्तर्राष्ट्रिय छविका लागि खतरा देखेका कारण असाधारण सक्रियतासाथ भारतमा वृत्तचित्रमाथि रोक लगाउने प्रयास गरिरहेका छन्’ नाइक थप्छन् । 

मोदी सरकारले ट्विटरलाई आफूअनुकूल बनाउन ट्विटरलाई नियमित रूपमा दबाब दिँदै आएको थियो । एकपटक त सरकारले आलोचकले चलाउने ट्विटर ह्यान्डल बन्द नगरे भारतमा रहेका ट्विटरका कर्मचारीलाई गिरफ्तार गर्ने धम्कीसमेत दिएको थियो । जब मस्कले ट्विटरको स्वामित्व लिएका थिए, भारत सरकारको आग्रह मान्ने दर केवल २० प्रतिशत मात्रै थियो । अर्बपति मस्कले ट्विटरलाई निजी बनाइसकेपछि भारतका करिब ९० प्रतिशत कर्मचारीलाई निकाला गरे । अहिले भारत सरकारको ट्विटरमाथिको दबाबले राम्रै स्थान पाइरहेको देखिन्छ । यसका पछाडि सम्भवतः भारतमा मस्कको व्यापारिक स्वार्थले काम गरिरहेको देखिन्छ, अर्थात् भारतीय बजारमा मस्कले आफ्नो टेस्ला कारका लागि करछुटको माग गरिरहेका छन् । जेसुकै कारण होस, ट्विटर मोदी सरकारको स्वार्थअनुरूप चल्नुले मस्कको वाक्–स्वतन्त्रताको दाबीलाई कमजोर बनाइरहेको छ । मस्कले अमेरिकी पुरातनपन्थीका लागि सभ्यताको युद्धको घोषणा गरिरहँदा अधिनायकवादी सरकारबाट हुने वाक्–स्वतन्त्रता हननमा आवाज मुखर गर्न सकिरहेका छैनन् ।

युट्युबको स्वामित्व लिएको गुगलले पनि भारत सरकारबाट ठूलो दबाब झेलेको थियो । गुगलको पारदर्शी प्रतिवेदनले सन् २०११ यता गुगलले सबैभन्दा बढी विषयवस्तु (कन्टेन्ट) भारतका कारण हटाएको बताएको छ अर्थात् करिब १५ हजार सामग्री जुन जर्मनी र अमेरिकाको भन्दा बढी हो । गुगलले सन् २०२२ को जनवरी र मार्चबीच करिब नौ प्रतिशत विषयवस्तु हटाएको र सन् २०२० यता करिब ४४ प्रतिशत विषयवस्तु हटाएको थियो । 

दिल्ली र पन्जाब सरकारका विपक्षी दलका पूर्वप्रवक्ता अक्षय मराठेका अनुसार सामाजिक सञ्जालमा विषयवस्तु हटाउने आग्रह बृहत् दमनकै एक योजना हो । ‘वृत्तचित्रका सबै लिंक हटाउन ट्विटरलाई दिएको निर्देशन मोदीले ल्याउने भनिएको नियामक शासनको झल्को हो, जहाँ सरकारले मिथ्या समाचार के हो भनेर निर्धारण गर्नेछ र ठूला प्रविधि कम्पनीलाई समाचार सामग्री हटाउन आदेश दिनेछ’ मराठे बताउँछन् ।

(हुसैन र ग्रिम द इन्टरसेप्टका पत्रकार हुन्) 
द इन्टरसेप्टबाट