Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एएसबिसी एसियन यू–२२ बक्सिङमा रजत पदक जितेपछि नेपालकी सुष्मा तामाङ
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १२ बिहीबार ०७:२४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कीर्तिमान रचेकी सुष्मा रजतमै सीमित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १२ बिहीबार ०७:२४:००

महिला ४८ केजी तौलसमूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग ५–० अंकका आधारमा पराजित हुँदा स्वर्ण जित्नबाट वञ्चित 

महिला मुक्केबाज सुष्मा तामाङले एएसबिसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रूपमा रजत पदक दिलाएकी छिन् । बुधबार थाइल्यान्डको बैंककमा भएको महिला ४८ केजी तौलसमूहको फाइनल भिडन्तमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग ५–० अंकका आधारमा पराजित हुँदा स्वर्ण जित्नबाट वञ्चित भएकी हुन् । नेपालको बक्सिङ इतिहासमा पहिलोपटक एसियनस्तरमा सुष्माले रजत पदक दिलाएकी हुन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक दीपक महर्जनले बैंककबाट नयाँ पत्रिकासँग कुराकानी गर्दै फाइनलमा सुष्माले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन् । ‘सुष्माले स्वर्ण पदकको भिडन्तमा निकै राम्रो प्रदर्शन गरेकी थिइन्,’ प्रशिक्षक महर्जनले भने, ‘हामीले शतप्रतिशत मिहिनेत गरेका थियौँ, तर विपक्षी उज्वेकिस्तानका खेलाडी धेरै फास्ट रहेछन् ।’ यसअघि, सुष्माले मंगोलियाकी बेसेन्बेई जानार्गुलीलाई आरएससीका आधारमा पराजित गर्दै फाइनल स्थान रक्षा गरेकी थिइन् ।

एसियनस्तरको बक्सिङ प्रतियोगितामा फाइनलमा स्थान बनाउने पहिलो नेपाली खेलाडीको रेकर्ड सुष्माले राखिन् । सुष्माले मंगोलियन खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्दा तेस्रो राउन्डमा हराएकी थिइन् । रेफ्री स्टोप कन्टेस्ट (आरएससी)का आधारमा सुष्मालाई विजयी घोषणा गरिएको थियो । सुष्माले क्वार्टरफाइनलमा भियतनामकी क्युनहानलाई ५–० अंकका आधारमा हराइन् । 

यसैबीच, बैंककमा चलिरहेको प्रतियोगिताको महिलातर्फ ५७ केजी तौलसमूहमा हेमा राई मंगोलियाकी बटुर जोलजार्गल र ७५ केजी तौलसमूहमा त्रिशा जवेगु काजकिस्तानकी एजन गुलसायसँग सेमिफाइनलमा पराजित हुुँदा कांस्य पदकमा चित्त बुझाए । 

फाइनलअघि घुँडामा समस्या 
नेपाललाई बक्सिङमा पहिलो स्वर्ण दिलाउने लक्ष्य राखेकी सुष्मा फाइनलमा प्रतिस्पर्धा गर्नुअघि चोटग्रस्त भएकी थिइन् । उनलाई घुँडाको समस्या भएको प्रशिक्षक महर्जनले बताए । ‘घुँडाको समस्याले सुष्मालाई समस्यामा राख्यो,’ उनले भने, ‘फाइनलमा गल्ती औँल्याउनुभन्दा पनि नेपाली खेलाडीले राम्रो खेलेको भन्न चाहन्छु ।’ नक्साल बक्सिङ क्लबमा आबद्ध सुष्माले पहिलो चरणमा उज्वेकिस्तानकी खेलाडी फोजिलोभाविरुद्ध राम्रो प्रदर्शन गरेकी थिइन् । तर, पछिका चरणमा विपक्षी खेलाडी हावी हुँदा सुष्माको केही सीप लागेन । ‘सुरुमा सुष्माले राम्रो खेलिन्, तर अन्तिममा हार सामना गर्नुपर्‍यो,’ प्रशिक्षक महर्जनले फाइनल खेलको विश्लेषण गर्दैै भने, ‘यद्यपि, ‘नेपालको एसियन च्याम्पियनमा ऐतिहासिक रजत पदक आएको छ ।’ 

सुष्माले प्रतिस्पर्धामा प्राविधिक रूपमा राम्रो हुनुपर्ने महसुस गरेकी छिन् । ‘टेक्निकल राम्रो हुनुपर्छ, पावर खेलले केही लागेन, आगामी खेलमा पिटाइ खान्छु, तर हार मान्दिनँ,’ सुष्माले खेलपछि प्रशिक्षक महर्जनलाई भनेकी थिइन् । 

चम्किलो तारा : घिसिङ
यसैबीच, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सुष्माको सफलतालाई चम्किलो ताराका रूपमा प्रतिक्रिया दिएका छन् । ‘सुष्मा नेपाली खेलकुदमा आजको समयको चम्किलो तारा हो,’ सदस्यसचिव घिसिङले सोसल मिडियामा भनेका छन्, ‘एउटा इतिहास रचिएको छ, त्यसका लागि बधाई ।’ सदस्यसचिव घिसिङले सुष्मालाई अर्को इतिहास रच्ने जिम्मेदारी पनि काँधमा आएको जनाएका छन् । यसका लागि राखेप सुष्माको साथमा रहेको घिसिङले लेखेका छन् ।

संघले बृहत् सम्मान गर्ने
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले विश्वस्तरीय खेलाडीविरुद्ध नेपालले कडा टक्कर दिएको बताएका छन् । ‘विश्व बक्सिङमा उज्वेकिस्तानका खेलाडी टपमा पर्छन्, उनीहरूविरुद्ध सुष्माले निकै राम्रो खेलेको पाएँ,’ अवालेले भने । बक्सिङ संघले सुष्मालाई नगदसहित सम्मान गर्ने अवालले जानकारी दिएका छन् । ‘स्वर्ण जित्दा हामीले एक योजना बनाएका थियौँ, अहिले रजत पदक आएको छ, नेपाली बक्सिङ संघको इतिहासमा यो पनि ठूलो सफलता हो,’ अवालेले भने, ‘हामी पक्कै पनि उसलाई बृहत् रूपमा सम्मान गर्छौं ।’ 

विपक्षी निकै बलियो : दीपक महर्जन, प्रशिक्षक, नेपाल
नेपालको एसियन च्याम्पियनमा ऐतिहासिक रजत पदक आएको छ । सुष्माले फाइनलमा राम्रो खेलिन् । संयमित हुँदाहुँदै अन्तिममा हारको सामना गर्नुपर्‍यो । पहिलो राउन्डमा राम्रो थियो । दुवै खेलाडीले फाइनल पावर गेम खेलेका थिए । विपक्षी निकै बलियो रह्यो । हामीले गल्तीभन्दा राम्रो खेलेको मान्नुपर्छ । सुष्मालाई घुँडाको समस्या थियो । यो सफलताले बक्सिङले नयाँ मोड लिएको छ । एक प्रशिक्षकको लक्ष्य राम्रो खेलाडी उत्पादन गर्ने हुन्छ । अर्काेपटक स्वर्ण जित्ने लक्ष्यका साथ प्रतिस्पर्धा गर्नेछौँ । यो नतिजाले बक्सिङ खेल्न र सिक्नमा युवापुस्तालाई प्रेरित गर्छ । आगामी एसियन गेम्समा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछौँ । विश्व च्याम्पियनसिपमा पदक जित्नका लागि प्रतिस्पर्धा गर्नेछौँ । 

हामी सम्मान गर्छौँ : राम अवाले, अध्यक्ष, बक्सिङ संघ
आज नेपाली बक्सिङले बैंककमा इतिहास रचेको छ । २१ वर्षीया सुष्माले नेपाली राष्ट्रिय झन्डाको सान बढाएकी छिन् । उज्व्वेकिस्तानका खेलाडी टपमा पर्छन् । फाइनलमा कडा टक्कर दिएको जस्तो लाग्छ । यो सफलताले युवा पिँढीलाई ऊर्जा प्रदान गरेको छ । फाइनल जितेको भए निकै राम्रो हुने थियो । फाइनल जित्दा के गर्ने भन्ने योजना बनिसकेको थियो । अहिले साथीहरू बाहिर छन् । पक्कै पनि हामी सुष्मालाई बृहत् रूपमा सम्मान गर्छौं । बक्सिङभित्रको आरोहअवरोहबीच ऐतिहासिक सफलता मिलेको छ । सबै एक हुँदा योभन्दा ठूलो सफलता पाउन सकिन्थ्यो जस्तो लाग्छ ।