मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २२ शुक्रबार १८:०५:००
Read Time : > 1 मिनेट
समाचार

प्रदेश २ का चोक-चोकमा महिला प्रहरी अधिकृत देखिनेछन् : मुख्यमन्त्री राउत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २२ शुक्रबार १८:०५:००

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारी सेवामा महिलाको ५० प्रतिशत सहभागीता सुनिश्चित हुने कानुन तयार गरेको बताएका छन् । 

कानुन बनेपछि प्रदेशका हरेक सरकारी सेवामा महिलाको बलियो उपस्थिति हुने उनले बताए । दाइजो प्रथा र महिला हिंसा कम गर्न महिला सशक्तीकरण जरुरी रहेको उल्लेख गर्दै उनले प्रदेश २ ले नमुना थालनी गरेको दावी गरे ।

‘हामीले महिला सशक्तीकरण ऐन जारी ग-यौं,’ उनले भने, ‘समाजका सबै पक्षको विकास नै वास्तविक विकास हो, त्यसले मात्रै समाजको सकारात्मक रूपान्तरण गर्छ ।’

नयाँ पत्रिका न्युज रूममा प्रदेश सरकारले गरिरहेकाे कामबारे जानकारी दिँदै उनले प्रदेश लोकसेवा र प्रदेश प्रहरी सेवा कार्यान्वयन भएपछि प्रदेश २ का चोकचोकमा महिला प्रहरी अधिकृत देखिने बताए । निजामतीलगायत सबै सरकारी सेवामा ५० प्रतिशत महिलाको उपस्थिति सुनिश्चित हुनेगरी कानुन तयार गरेको उनले जानकारी दिए । 

प्रदेश २ मा बढी असर देखिएको दाइजो प्रथालाई रोक्न पनि छोरीलाई आत्मनिर्भर बनाउने तर्फ सरकारले विशेष ध्यान दिएको उनले बताए । पढेर आत्मनिर्भर बनेपछि महिला हिंसा र दाइजो प्रथा रोकिने उनको विश्वास छ । छोरी पढाए दाइजोको समस्या कम हुन्छ भनेरै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सुरु गरिएको उनले बताए ।

नपढेकै कारण अवसर आउँदा पनि बन्चित हुनुपर्ने अवस्था अन्त्य गर्न पढाईलाई प्रदेश सरकारले महत्व दिएको राउतले स्पष्ट पारे । ‘पढेका महिलामाथि अपवादका रुपमा मात्र घरेलु हिंसा हुने गरेको उदाहरण छ,’ उनले भने  ‘पढाईसँगै रोजगारीमा ५० प्रतिशत सुनिश्चितताले ठूलो परिवर्तन ल्याउँछ ।’

‘प्रदेश २ यस्तो हुनेछ, जहाँ चोकचोकमा महिला प्रहरी अधिकृत तैनाथ देखिनेछ,’ उनले भने, ‘सबै सरकारी सेवामा आधा महिला अधिकृत र कर्मचारी हुनेछन् । महिलालाई सक्षम नबनाइ समाज परिवर्तन हुंदैन् । महिलामाथि हुने हरेक अपराधलाई कडाइका साथ नियन्त्रण गर्छौं ।’

प्रदेश २ शिक्षामा कमजोर भएकैले पछाडी परेको उल्लेख गर्दै भौतिक पूर्वाधारमात्र नभई समग्र विकास सरकारको प्रमुख लक्ष्य रहेको उनले बताए ।