मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १० मंगलबार ०७:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्मला कुर्मी बेपत्ता प्रकरण : पाँच दिनभित्र न्यायिक समिति गठन गर्न ‘अल्टिमेटम’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १० मंगलबार ०७:०८:००

बेपत्ता बनाइएकी नेपालगन्जकी निर्मला कुर्मी घटना अनुसन्धानमा न्यायिक छानबिन समिति गठनको माग गर्दै २६ दिनदेखि धर्नारत अधिकारकर्मी रुवी खानसहितको टोली पक्राउ परेका छन् । माइतीघर मण्डलाबाट बबरमहल हुँदै सिंहदरबारको दक्षिण ढोकातर्फ जाने क्रममा प्रहरीले उनीहरूलाई सोमबार दिउँसो पक्राउ गरेको हो । पक्राउपछि प्रहरी वृत्त सिंहदरबारमा करिब दुई घन्टा राखेर उनीहरूलाई छाडिएको थियो । 

खानसहितका अभियन्ता २६ दिनदेखि माइतीघर मण्डलामा लालटिन बालेर धर्नारत छन् । एक वर्षसम्म पनि घटनाको अनुसन्धान अघि नबढेको भन्दै शक्तिशाली न्यायिक छानबिन समिति गठन हुनुपर्ने उनीहरूको माग छ । ‘घटनाको छानबिन गर्न एक वर्षअघि सरकारसँग सहमति भएको थियो । तर, हालसम्म अनुसन्धान अघि नै बढ्न सकेन । सिआइबीसँग बुझ्दा घटनाका मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई अभियुक्त नै बनाइएको छैन । त्यसैले अब शक्तिशाली न्यायिक छानबिन समिति गठन हुनुपर्छ । यो हाम्रो बटमलाइन हो,’ खानले भनिन् ।

सरकारले पाँच दिनभित्र समिति गठन नगरे माइतीघर मण्डलामै आमरण अनशन बस्ने अभियन्ता खानले चेतावनी दिइन् । ‘हामीले न्यायिक समिति गठनको माग गरेका छौं । पाँच दिनभित्र समिति गठन नभए माइतीघर मण्डलामै आमरण अनशन बस्छौँ । यो हाम्रो ‘अल्टिमेटम’ हो,’ उनले भनिन् ।

धर्नाको ४० दिनपछि गत वर्षको २० पुसमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले घटनाको अनुसन्धान गर्ने सरकार र उनीहरूबीच सहमति भएको थियो । त्यसअघि उनीहरू नेपालगन्जबाट २० दिनको पैदलयात्रा गर्दै दबाब दिन काठमाडौं आएका थिए । सोही दबाबपछि घटनाको अनुसन्धान गर्न गृह मन्त्रालय तयार भएको थियो । दुई पक्षबीच भएको सम्झौताअनुसार छानबिन समिति गठन भयो । समितिले पनि घटनाको छानबिन गरिनुपर्ने बताएको छ । तर, हालसम्म सरकारको निकायले छानबिन गर्न सकेको छैन ।

नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी वर्ष दिनदेखि बेपत्ता छिन् । अपहरणपछि उनको हत्या गरिएको भन्दै आफन्तले बाँके प्रहरीमा १६ मंसिर ०७७ मै १२ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले बेवास्ता गरेपछि घटनालाई लिएर महिला अधिकारकर्मी रुवी खान नेपालगन्जमै आन्दोलनमा उत्रिइन् । कुनै सुनुवाइ नभएपछि उनको टोली पैदल हिँडेर काठमाडौं आएको थियो ।