मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपालकी सुष्मा तामाङ (निलो जर्सी)ले मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई पन्च प्रहार गर्दै
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ९ सोमबार ०८:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुष्मा यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको फाइनलमा

एसियनस्तरको प्रतियोगितामा नेपाली बक्सर पहिलोपटक फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ९ सोमबार ०८:१५:००

नेपाली महिला मुक्केबाज खेलाडी सुष्मा तामाङ थाइल्यान्डको बैंककमा सञ्चालन भइरहेको एएसबिसी यू–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन् । प्रतियोगिताको ४८ केजी तौलसमूहको आइतबार भएको सेमिफाइनलमा सुष्माले मंगोलियाकी बाइसेनबाई जनरगुलीलाई आरएससीका आधारमा पराजित गर्दै अन्तिम दुई स्थान रक्षा गरेकी हुन् ।

नेपाली बक्सरले एसियालीस्तरको आधिकारिक प्रतियोगितामा फाइनल स्थान बनाएको यो पहिलो अवसर हो । नेपाल बक्सिङ संघको स्थापनादेखि अहिलेसम्म कुनै पनि खेलाडीले एसियनस्तरमा फाइनल स्थान बनाएको पनि यो नै पहिलोपटक हो । यसअघि नेपाली मुक्केवाज सेमिफाइनलसम्म पुगेका थिए । सुष्माका प्रशिक्षक दीपक महर्जन स्वयं एसियाडका कांस्यपदक विजेता हुन् । सन् २०१० मा चीनको ग्वाझाउ एसियाडमा नेपाललाई बक्सिङबाट प्राप्त एक मात्र कांस्यपदक दीपकले दिलाएका थिए । दीपककै प्रशिक्षणमा रहेकी सुष्माले नेपाली बक्सिङमै इतिहास रच्दै फाइनल स्थान सुरक्षित गरेकी हुन् । 

सुष्माले अब बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्नेछिन् । फाइनल स्थान पक्का गर्ने क्रममा सुष्माले क्वार्टरफाइनलमा भियतनामकी फाम थी किनहानलाई पनि पराजित गरेकी थिइन् । मंगोलियाका प्रतिद्वन्द्वी जनरगुलीलाई तेस्रो राउन्डमा रेफ्री स्टोप कन्टेस्ट (आरएससी) का आधारमा हराएकी थिइन् । 

४८ केजी तौल समूहको फाइनलमा पुगेकी सुष्मा तामाङ बुधबार स्वर्ण पदकका लागि उज्वेकिस्तानकी फोजिलोभासँग भिड्दै

 

 

क्वार्टरफाइनलमा जित हात पारेपछि सुष्माले आफ्नो लक्ष्य नै नेपाललाई पदक दिलाउन रहेको बताएकी थिइन् । ‘मेरो लक्ष्य नै नेपाललाई पदक दिलाउने हो,’ क्वार्टरफाइनल खेलपछि उनले भनेकी थिइन्, ‘सकेसम्म फाइनलमा प्रवेश गर्दै नेपाललाई ऐतिहासिक पदक दिलाउने प्रयास गर्नेछु ।’ सुष्माले क्वार्टरफाइनलमा दिएको प्रतिक्रिया पूरा गरेकी छिन् । फाइनलमा उनले उज्वेकिस्तानकी प्रतिद्वन्द्वीलाई हराउँदा नेपाली बक्सिङ खेलकै सर्वाधिक ठूलो उपलब्धि हात पार्नेछिन् । 

सुष्माले फाइनलमा प्रतिस्पर्धा गर्ने उज्वेकिस्तानकी फोजिलोभाले सेमिफाइनलमा आयोजक राष्ट्र थाइल्यान्डका खेलाडी योद्वारी थिप्सात्चालाई ५–० अंकका आधारमा हराइन् । सन् २०२१ मा पोल्यान्डमा भएको विश्व युथ महिला बक्सिङ च्याम्पियनसिपमा पनि सुष्माले लिथुयानियाकी खेलाडीलाई पराजित गरी क्वार्टरफाइनल स्थान पक्का गरेकी थिइन् । त्यसवेला उनी विश्व वरीयतामा छैटौँ स्थानमा पुग्न सफल रहिन् । 

हुमाले जोल्जार्गलसँग खेल्ने 
यसैगरी, बैंककमा चलिरहेको प्रतियोगितामा महिलातर्फ नेपाली महिला खेलाडी हुमा राईले ५७ केजी तौलसमूहको सेमिफाइनलमा मंगोलियाकी बत्तुर जोल्जार्गलसँग फाइनल प्रवेशका लागि खेल्नेछिन् । हेमाले क्वार्टरफाइनलमा सिंगापुरकी चाओ जी मिन बेरनिसलाई पराजित गरेकी थिइन् ।

प्रतियोगितामा नेपालबाट तीन महिला र तीन पुरुष खेलाडीको सहभागिता छ । पुरुषतर्फ ४८ केजी तौलसमूहका लालप्रसाद उप्रेती र ५७ केजी तौलसमूहमा इन्द्रबहादुर सुनार क्वार्टरफाइनलमा पराजित भइसकेका छन् । ८६ केजी तौलसमूहका विजय बाटा बाई पाएर कम्तीमा कांस्यको हकदार बनिसकेका छन् । सेमिफाइनलमा उनले भारतका मुस्किता माइखेलसँग खेल्नेछन् ।