Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस चितवन
२०७९ माघ ६ शुक्रबार १४:१०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

Read Time : > 1 मिनेट
रासस, चितवन
२०७९ माघ ६ शुक्रबार १४:१०:००

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्सांकन, निरीक्षण, माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् ।

आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुवाती चरणमा आन्तरिक तयारीका कारण काम सुरु गर्न ढिला हुन गएको हो । भूमिगत विद्युतीकरणका लागि आवश्यक सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा केही समय लागेको उनले जानकारी दिए ।  उनले भने, ‘फिल्डमा काम माघ १६ गतेबाट हुन्छ । अहिले आवश्यक मजदुर र उपकरण तयारी गर्ने काम भइरहेको छ ।’ कामको सुरुवात केन्द्रीय बस टर्मिनल र पुल्चोकबाट गरिने उनले बताए ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रहेर भरतपुर महानगरपालिकाको पुल्चोक–केन्द्रीय बस टर्मिनल–गोन्द्राङ, केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको विद्युत् लाइन भूमिगत गर्ने काम हुनेछ । रु. एक अर्ब २० करोडमा ठेक्का सम्झौता भएको छ ।

भरतपुर बाइपास सडकको पूरै र ६ लेनको पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म सबै तार भूमिगत गरिनेछ । बसपार्कबाट गोन्द्राङसम्मको ३३ केभिएलाई मात्र पहिलो चरणमा भूमिगत गरिनेछ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उनले जानकारी दिए । सन् २०२२ जनवरीबाट लागू हुने गरी निर्माणको सम्झौता भएको काम सन् २०२४ को जनवरीसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

भरतपुरका दुई सडक गरी ११ किलोमिटर क्षेत्रमा विद्युत् भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रूपमा पावर ग्रिड कम्पनीले हेरिरहेको छ । एसियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो । 

उक्त आयोजनाको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ १८ गते शिलान्यास गरेका थिए । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भूमिगत विद्युतीकरणको काम अब तीव्र गतिमा हुने बताइन् । तत्कालीन समयमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसदसमेत रहेका अध्यक्ष दाहाल र महानगरको विशेष पहलमा आयोजना यहाँ ल्याइएको थियो । उनले यो निर्माण सम्पन्न भएसँगै भरतपुरको सौन्दर्यकरणमा थप टेवा पुग्ने बताए । उनले भने, ‘यो भरतपुरको गौरवको आयोजना हो, यसलाई सबै मिलेर सफल बनाउनुपर्छ ।’

आयोजना सम्पन्न गर्न आवश्यक सहजीकरण महानगरले सुरुदेखि नै गर्दै आएको छ । पटकपटकको प्रयासपछि यो आयोजना भरतपुरमा आएको भन्दै उनले यो काम सम्पन्न भएसँगै महानगरका सहरी क्षेत्रमा विस्तारका लागि पहल गरिने बताए । प्रमुख दाहालले आफ्नो पहिलो कार्यकालमा पर्न सफल भएका गौरवका आयोजनामध्ये यसलाई महत्वपूर्ण आयोजनाका रूपमा लिएको बताइन्  । आयोजना सम्पन्न भएसँगै विद्युत्, टेलिकम, इन्टरनेटलगायतका तारका कारण कुरूप देखिएको सहरी क्षेत्र सुन्दर बन्नेछ ।