मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ६ शुक्रबार ११:१६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिका र वृद्धवृद्धामा दमको असर जोगिन के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ६ शुक्रबार ११:१६:००

जाडोमा श्वासप्रश्वासका लागि प्रयोग हुने नलीहरू खुम्चन्छन्, जसकारण कतिपयमा दमको समस्या देखिन्छ । विशेषगरी, रातको समय तथा चिसो बढेका वेला दम बढ्ने गर्छ । यो श्वासप्रश्वासमा अवरोध गर्ने रोग हो । प्रायः चुरोट बढी खानेलाई बुढेसकालमा देखिने दम सिओपिडी हो । खानेकुरा पकाउँदा धुवाँले श्वासप्रश्वासमा अवरोध गर्दा पनि सिओपिडी हुन्छ । चुुरोट नखानेहरूमा आज्मा नामक दम देखिने गर्छ । धुलो, धुवाँ र बाहिरी वातावरणको असरस्वरूप श्वासनलीका नसा साँघुरो भएर  आज्मा हुन्छ । दमका रोगीहरू चिसोबाट बच्नुपर्छ । 

डा. खेमराज भुसाल फिजिसियन, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज

मुख्य समस्या
- स्याँस्याँ हुने र अत्यधिक खोकी लाग्छ । 
- कहिलेकाहीँ छाती दुख्ने हुन्छ । 
- ज्वरो आउने, पहेँलो खकार आउने गर्छ । 
बच्ने उपाय 
- धुवाँ, धुलो र चिसोबाट बच्ने, धूम्रपान नगर्ने । 
- प्रोटिनजन्य खानेकुरा, जस्तै– गेडागुडी, दाल, अन्डा, बोसो नभएको मासु खाने । 
- चिसो समयमा घरमै न्यानो भएर बस्ने, विशेषगरी बिहान चाँडै तथा बेलुकी ढिलो बाहिर ननिस्कने । 
- मास्क लगाउने, यसले तपाईंलाई चिसो हावा तथा विभिन्न  संक्रमणबाट बचाउनेछ । 

बालबालिकालाई यसरी जोगाउनुस् 
वयस्कको दाँजोमा बच्चामा दम विकसित हुने सम्भावना धेरै रहन्छ । विशेषगरी संक्रमित व्यक्ति वा भाइरसको सम्पर्कमा आउँदा यस्तो जोखिम रहन्छ । बालबालिकालाई धुलो, धुवाँबाट टाढा राख्नुपर्छ । त्यस्तै, भाइरल इन्फेक्सन, खानपान नमिल्दा तथा फुडको एलर्जीले पनि दम भएको पाइन्छ । कतिपयमा वंशानुगत कारणले पनि दम हुन्छ । 

बालबालिकालाई दम हुँदा लामो समय खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्याँस्याँ हुने, घ्यारघ्यार हुने, रुघाखोकी समयमै निको नहुनेलगायत समस्या देखिन्छन् । दमबाट बच्नका लागि धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बालबालिकालाई जोगाउन जरुरी हुन्छ । संक्रमणबाट जोगाउनका लागि बाहिर खेलेर घर आइसकेपछि बालबालिकालाई साबुनपानीले हातखुट्टा धोइदिनुपर्छ । 

उपचार विधि 
नियमित औषधि सेवन तथा निरन्तरको उपचारले वयस्क तथा वृद्धवृद्धामा दम कम भएर जान्छ । बालबच्चामा भने मुखले खाने औषधि प्रयोग गर्दा नकारात्मक असर निम्तिन सक्छ । त्यसैले इनहेलरको प्रयोगले उपचार गर्नुपर्छ । बालिबालिकाको उपचारमा सामान्यतया दुईथरी इनहेलरको प्रयोग हुन्छ । एकथरी इनहेलरले तुरुन्तै आराम दिन्छ, त्यसलाई रिलिभर भनिन्छ । यो बच्चालाई धेरै गाह्रो भएको अवस्थामा प्रयोग गरिन्छ । त्यस्तै, अर्को कन्ट्रोलर इनहेलर हो । यो लामो समयसम्म प्रयोग गर्नुुपर्ने हुन्छ । कन्ट्रोलर इनहेलरको प्रयोग तीन महिना गरेपछि बिस्तारै बन्द गर्दा बच्चाको दम लामो समयसम्म कन्ट्रोल हुने सम्भावना धेरै हुन्छ । केही बच्चामा निको नै हुन्छ । बच्चामा इनहेलरको प्रयोग पेसरका माध्यमबाट गर्नुपर्ने हुन्छ । पेसर प्रयोग नगर्दा सबै औषधि घाँटीमा जम्मा हुन्छ र फोक्सोमा कम औषधि पुग्छ । जसकारण, औषधिको असर कम हुन्छ र रोग नियन्त्रण गर्न गाह्रो हुन्छ वा औषधिले काम नगर्न पनि सक्छ । इनहेलर प्रयोगपश्चात् घाँटी कुल्ला गर्नुपर्छ ।