१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ५ बिहीबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रको समस्या चरणबद्ध समाधान गर्छु : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ५ बिहीबार ०६:३४:००

अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएका समस्याको समाधनका लागि गृहकार्य गरिरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र  : अवको बाटो’ विषयक अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । ‘अहिले म अर्थतन्त्रमा देखिएको समस्याबारे  छलफल गरिरहेको छु ।

साथै, निजी क्षेत्रलगायतका सरोकारबाट यसको समाधानबारे सुझाव पनि लिइरहेको छु,’ उनले भने, ‘आवश्यक अध्ययन तथा गृहकार्य सकिएपछि अर्थतन्त्रमा देखिएका समस्याको समाधान स्टेप बाई स्टेप गर्दै जानेछु ।’ यस्तै, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य पनि गर्ने उनले बताए । यस्तै, नाकाबन्दी, भूकम्प, कोरोनाकालमा समेत प्रभावित नभएको अर्थतन्त्र अहिले अप्ठ्यारो परिस्थितिमा पुग्नु दुःखद पक्ष भएको उनले बताए । 

 कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि, सूचना प्रविधि, हवाई, पूर्वाधार तथा जलविद्युत्लाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताए । साथै, नेपाल, भारत र बंगलादेशबीच विद्युत् व्यापारका लागि तत्काल पहल गर्नुपर्ने पनि उनको भनाइ छ । यसका अलवा पश्चिम सेती, बुढीगण्डकीजस्ता आयोजनालाई तत्काल निर्माणमाा लैजानुपर्ने उनले बताए ।

यस्तै, पूर्वअर्थमन्त्री युवराज खतिवडाले भन्सार तथा राजस्व प्रशासनमा तत्काल सुधार गर्नुपर्ने बताए । भन्सारलाई कर्डा गर्दा विप्रेषण आप्रवाहसमेत बढ्ने उनको भनाइ थियो । त्यस्तै, अर्थविद् स्वर्णिम वाग्लेले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको बताए ।

साथै, नेपाललाई रेमिट्यान्समा समेत निर्भर राख्न नहुने उनको भनाइ छ । ‘नेपाललई सधैँभरि रेमिट्यान्समै निर्भर राख्न हुँदैन । रेमिट्यान्सको निर्भरता हटाउन दीर्घकालीन योजना बनाउनुपर्छ,’ उनले भने, ‘साथै, वर्तमान समयमा देखिएको राजस्व संकलन पनि बढाउनुपर्नेछ । अहिलेको राजस्व संकलनले कर्मचारीलाई तलब भुक्तानी गर्दा नै सकियो । तसर्थ, यसमा गम्भीर हुनुपर्नेछ ।’ यस्तै, विश्वभर देखिएको आर्थिक संकटको असर नेपालमा पनि पर्न सक्ने उनको भनाइ छ । यसबाट बच्न सचेत भएर अघि बढ्नुपर्ने उनले बताए ।