मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
क्यारोलिन वाग्नर
२०७९ माघ १ आइतबार १०:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनले प्रविधिमा समेत कसरी उछिन्यो अमेरिकालाई ?

Read Time : > 2 मिनेट
क्यारोलिन वाग्नर
२०७९ माघ १ आइतबार १०:१२:००

चीनले हासिल गरेको पछिल्लो वैज्ञानिक सफलता त्यहाँको सरकारको वर्षौँको विज्ञानमैत्री नीतिको परिणाम हो, जसलाई उसले सफलतापूर्वक कार्यान्वयन गरेर देखायो

कम्तीमा एउटा मापदण्डका आधारमा चीनले उच्च गुणस्तरको विज्ञान उत्पादनमा अमेरिकालाई समेत उछिनेको छ । मेरो अनुसन्धानमा विश्वव्यापी रूपमा धेरै उद्धृत हुने शीर्ष एक प्रतिशत वैज्ञानिक आलेख उत्पादनमा चिनियाँ प्राज्ञ अन्य कुनै देशका वैज्ञानिकभन्दा अगाडि देखिएका छन् । म एक नीति विशेषज्ञ तथा विश्लेषक हुँ र मैले विज्ञान, प्रविधि तथा नवीनतामा सरकारी लगानीले कसरी सामाजिक कल्याणमा सुधार गर्छ भन्ने अध्ययन गर्दै आएको छु । हुन त कुनै एउटा देशको वैज्ञानिक क्षमता मापन गर्नु सहज छैन । तर, मेरो तर्क के छ भने वैज्ञानिक अनुसन्धानमा खर्च गरिएको रकम, प्रकाशित वैज्ञानिक आलेखको संख्या र ती आलेखको गुणस्तर मुलुकको वैज्ञानिक क्षमता मापनका बलिया आधार हुन् । 

पछिल्ला केही वर्ष, आफ्नो विज्ञान क्षमतामा व्यापक सुधार गर्ने चीन एक मात्र राष्ट्र होइन, तथापि चीनको वृद्धि सबैभन्दा उल्लेखनीय देखिन्छ । यही वृद्धिलाई हेरेर अमेरिकी नीति–निर्माता र सरकारी अधिकारी चीनको बढ्दो वैज्ञानिक सर्वोच्चताले शक्तिको विश्वव्यापी सन्तुलनलाई कसरी परिवर्तन गर्ला भनेर चिन्तित हुन थालेका छन् । चीनले हासिल गरेको पछिल्लो वैज्ञानिक सफलता त्यहाँको सरकारको वर्षौँको विज्ञानमैत्री नीतिको परिणाम हो, जसलाई उसले सफलतापूर्वक कार्यान्वयन गरेर देखायो । अब भविष्यमा अमेरिकासामु वैज्ञानिक रूपमा प्रतिस्पर्धी चीनलाई कसरी जवाफ दिने भन्ने चुनौती खडा भएको छ ।

सन् १९७७ मा चिनियाँ नेता देङ सियाओपिङले प्रस्ताव गरेका चार आधुनिकीकरणसम्बन्धी विषयमध्ये एउटा चीनको वैज्ञानिक र प्राविधिक प्रगतिलाई थप सबल बनाउने विषय पनि थियो । सन् २००० सम्म पनि अमेरिकाले वार्षिक रूपमा चीनको भन्दा कैयौँ गुणा बढी वैज्ञानिक आलेख उत्पादन गर्थ्यो । यद्यपि, विगत तीन दशकयता चीनले घरेलु अनुसन्धान क्षमता बढाउन, विद्यार्थी र अनुसन्धानकर्तालाई विदेशका उच्च क्षमतायुक्त संस्थानमा अध्ययन गराउन र चिनियाँ व्यवसायलाई उच्च–प्रविधि उत्पादन निर्माण गर्न प्रोत्साहन गर्न ठूलो रकम लगानी गरिरह्यो । सन् २००० देखि चीनले अनुमानित ५२ लाख विद्यार्थी र प्राज्ञलाई विदेश अध्ययन गर्न पठाएको छ । तीमध्ये अधिकांशले विज्ञान वा इन्जिनियरिङ पढे । यसमध्ये धेरै विद्यार्थी उतै बसे, तर कैयौँ विद्यार्थी उच्च गुणस्तरका प्रयोगशाला र उच्च प्रविधि कम्पनीमा काम गर्न चीन फर्किए । आज, चीन विज्ञान र प्रविधिमा खर्च गर्ने मामिलामा अमेरिकापछि दोस्रो स्थानमा छ । चिनियाँ विश्वविद्यालयबाट अहिले संसारमै सबैभन्दा धेरै इन्जिनियरिङमा पिएचडी गर्ने विद्यार्थी उत्पादन हुन थालेका छन् र चिनियाँ विश्वविद्यालयको गुणस्तरमा नाटकीय रूपमा सुधार भएको छ ।

यो सबै लगानी र बढ्दो सक्षम जनशक्तिका कारण चीनको वैज्ञानिक प्रतिफल (कुल प्रकाशित वैज्ञानिक आलेख संख्याको आधार) बर्सेनि लगातार बढेको छ । सन् २०१७ मा, चिनियाँ प्राज्ञले वैज्ञानिक आलेख प्रकाशनको संख्यामा पहिलोपटक अमेरिकी अनुसन्धानकर्तालाई उछिनेका थिए । यद्यपि, धेरै संख्याको अर्थ गुणस्तर भन्ने हुँदैन । लामो समयसम्म पश्चिमी अनुसन्धाताले चिनियाँ अनुसन्धानलाई न्यून गुणस्तरको र प्रायः अमेरिकी र युरोपेली अनुसन्धानको नक्कल भनेर बेवास्ता गरिरहे । सन् २००० र सन् २०१० को दशकमा, चीनबाट प्रकाशित हुने धेरै वैज्ञानिक उत्पादन विश्वव्यापी वैज्ञानिक समुदायको नजरमा पर्न सकेनन् । तर, चीनले विज्ञानमा निरन्तर लगानीको प्रतिफलस्वरूप अनुसन्धानको विशाल संख्यासँगै गुुणस्तरमा पनि उन्नति भएको देखिन थालेको छ ।

चीनको वैज्ञानिक शक्ति यकिन गर्न, हामीले बाहिर उद्धृत भएका चिनियाँ वैज्ञानिक आलेखको जाँच गर्‍यौैँ । कुनै एक शैक्षिक आलेखमा अर्को आलेखको सन्दर्भ दिइने वा उद्धृत गर्ने कार्यलाई उद्धरण (साइटेसन) भनिन्छ । आलेख जति धेरैपटक अरू आलेखमा उद्धृत गरिन्छ, त्यसलाई त्यति नै उच्च गुणस्तरको वा प्रभावशाली मानिन्छ । त्यस तर्कका आधारमा सबैभन्दा धेरै उद्धृत भएका शीर्ष एक प्रतिशत आलेखले उच्च गुणस्तरको विज्ञानको पनि माथिल्लो तहको प्रतिनिधित्व गर्नुपर्छ । यस वर्गीकरणका आलेखमा सन् २०१९ मा चिनियाँ प्राज्ञबाट प्रकाशित सबैभन्दा बढी ८,४२२ आलेख थिए । जब कि यसमा अमेरिकी प्राज्ञका ७,९५९ र युरोपेली संघको ६,०७४ थिए । हाम्रो अनुसन्धानमा चिनियाँ अनुसन्धान आश्चर्यजनक रूपमा नवीन र रचनात्मक भएको पाइयो । जसबाट विगतमा आरोप लाग्ने गरेजस्तो ती केवल पश्चिमी अनुसन्धानकर्ताको नक्कल देखिएन । चीन अहिले मात्रा र गुणस्तर दुवैमा अमेरिका र युरोपको बराबरीको वैज्ञानिक शक्ति बनेको छ । 

वैज्ञानिक क्षमता सैन्य र आर्थिक शक्ति दुवैसँग जोडिएको हुन्छ । यही सम्बन्धका कारण, अमेरिकाका राजनीतिज्ञदेखि नीति–निर्मातासम्मले चीनको वैज्ञानिक शक्तिलाई अमेरिकाका लागि खतरा मान्न थालेका छन् । यसैलाई मध्यनजर गर्दै अमेरिकी सरकारले चीनको वृद्धिलाई सुस्त बनाउने कदम चाल्न सुरु गरिसकेको छ । हालै सार्वजनिक ‘चिप्स र साइन्स एक्ट अफ २०२२’ले अनुसन्धान र निर्माणका केही क्षेत्रमा चीनसँग सहकार्य गर्न बन्देज लगाएको छ । अक्टोबरमा, बाइडेन प्रशासनले सैन्य प्रयोग हुने केही प्रमुख प्रविधिमा चीनको पहुँच सीमित गर्‍यो । 

आधुनिक विश्व प्राज्ञिक अनुसन्धान विचार र जानकारी आदानप्रदानद्वारा सञ्चालित छ । तिनका नतिजा सार्वजनिक रूपमा उपलब्ध हुने जर्नलमा प्रकाशित हुन्छन्, जसलाई जोकसैले पनि पढ्न सक्छन् । विज्ञान पहिलेभन्दा थप बढी अन्तर्राष्ट्रिय र सहकार्यात्मक हुँदै गइरहेको छ, जहाँ विश्वभरका अनुसन्धानकर्ता आ–आफ्नो क्षेत्रलाई अगाडि बढाउन एकअर्कामा निर्भर हुँदै गएका छन् । क्यान्सर, कोभिड– १९ र कृषिमा भएका पछिल्ला सहकार्यात्मक अनुसन्धान यसैका केही उदाहरण हुन् । अमेरिकाले पनि चीनको वैज्ञानिक वृद्धिबाट फाइदा लिन सक्छ । संसारले जलवायु परिवर्तनजस्ता विश्वव्यापी समस्या सामना गरिरहेको सन्दर्भमा चीनको वैज्ञानिक शक्ति अमेरिकाका लागि खतरा मात्र नभएर अवसर पनि बन्न सक्छ । 

(क्यारोलिन वाग्नर ‘द ओहायो स्टेट युनिभर्सिटी’ अन्तर्गतको अन्तर्राष्ट्रिय मामिला संकायकी प्रमुख हुन्) 
द कन्भरसेसनबाट