१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २९ शुक्रबार १९:३९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेले शतप्रतिशत नगद लाभांश बाँड्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २९ शुक्रबार १९:३९:००

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को ४१औँ वार्षिक साधारणसभाले शतप्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।

शुक्रबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८/०७९ मा कायम नेप्सेको चुक्ता पूँजी रू एक अर्बको शतप्रतिशतका दरले हुन आउने रकम रू एक अर्ब बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीका सचिव मुराहरि पराजुलीले जानकारी दिए। 

अघिल्लो आर्थिक वर्ष नेप्सेले ६० प्रतिशत नगद लाभांश र ४० प्रतिशत बोनस सेयर दिएको थियो। गत आर्थिक वर्ष २०७८/०७९ मा नेप्सेको खुद नाफा रू एक अर्ब १७ करोड ८१ लाख बराबर देखिएको छ। जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६ दशमलव ४२ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा नेप्सेले रू एक अर्ब ४० करोड ९६ लाख बराबर खुद नाफा कमाएको थियो।

नेप्सेमा सबैभन्दा धेरै सरकारको लगानी छ । नेप्सेमा नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको १४ दशमलव ६० प्रतिशत र कर्मचारी सञ्चय कोषको १० प्रतिशत लगानी रहेको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको छ दशमलव १४ प्रतिशत, लक्ष्मी बैंकको पाँच प्रतिशत, प्रभु बैंकको पाँच प्रतिशत र सेयर ब्रोकर कम्पनीको शून्य दशमलव ६० प्रतिशत लगानी छ।

सीडिएस एन्ड क्लियरिङ लिमिटेड नेप्सेको पूर्णस्वामित्व रहेको सहायक कम्पनी हो। त्यस्तै, नागरिक लगानी कोषमा नेप्सको १० प्रतिशत लगानी छ। बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, नबिल बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीमा पनि नेप्सेले लगानी गरेको छ।

साधारणसभामा पेश भएको वार्षिक प्रतिवेदनअनुसार नेपाल राष्ट्र बैंकले विद्यमान कानूनी व्यवस्था उल्लंघन हुने गरी नेप्सेमा लगानी गरेको उल्लेख छ। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७ बमोजिम नेपाल राष्ट्र बैंकले आफ्नो काम कारबाही र दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कूल पूँजीको दश प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको सेयर स्वामित्व प्राप्त गर्नसक्ने व्यवस्था छ।

तर २०७८ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा १४ दशमलव ६० प्रतिशत लगानी नेपाल राष्ट्र बैंकको रहेको देखिएको छ।