१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ पौष २६ मंगलबार ०६:०२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

१६ सय कैन्दीबन्दी बिरामी

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ पौष २६ मंगलबार ०६:०२:००

अव्यवस्थित बसाइ, खानपान र तनावका कारण कतिपय कैदीबन्दी दीर्घरोग बोकेर घर फर्कन बाध्य

कुन रोगका बिरामी कति ?

  • प्यारालाइसिस (पक्षघात)– २७ जना ।
  • मानसिक रोग– ६ सय (औषधि खानुपर्ने), परामर्श दिनुपर्ने थप सयजना ।
  • मिर्गाैला रोग– नियमित डायलाइसिस गर्नुपर्ने नौजना, औषधि सेवन गर्नुपर्ने दुई सयजना । 
  • क्यान्सर– ११ जना ।
  • कुष्ठरोग– तीनजना । 
  • हाडजोर्नी– पाँच सय ।
  • सुगर–प्रेसर– तीन सयभन्दा बढी

- पाँच वर्षमा रोगका कारण १०७ कैदीबन्दीको कारागारमै मृत्यु

- देशभरका कारागारमा ६५ वर्षमाथिका ३२९ पुरुष र ८३ महिला

देशभरका कारागारमा रहेका करिब १६ कैदीबन्दी सामान्यदेखि गम्भीर रोगबाट ग्रसित छन् । उनीहरूको उपचारका लागि राज्यले मासिक ६० लाख रुपैयाँ खर्च गर्दै आएको छ । सुधारगृह बन्नुपर्ने कारागारको अव्यवस्थित बसाइ, खानपान र तनावका कारण कतिपय कैदीबन्दी दीर्घरोग बोकेर घर फर्कन बाध्य छन् । 

बिरामी कैदीबन्दीमध्ये गम्भीर रोग लागेर उपचार गर्नुपर्ने धेरै छन् । कारागार व्यवस्थापन विभाग र कारागार अस्पतालले उपलब्ध गराएको तथ्यांकअनुसार २७ जनामा प्यारालाइसिस, ११ जनामा क्यान्सर, नौजना नियमित डायलाइसिस गर्नुपर्ने, मिर्गौलासम्बन्धी अन्य समस्याको औषधि सेवन गर्नुपर्ने दुई सय, पाँच सयजनामा हाडजोर्नीको समस्या, तीनजनामा कुष्ठरोग तथा तीन सयभन्दा बढी कैदीबन्दीमा सुगर र प्रेसरको समस्या छ । त्यस्तै, ६ सयमा मानसिक रोग र सय जना मानसिक रोग लागेर परामर्श चाहिने छन् ।

कैदीबन्दीको उपचार गर्ने दायित्व सरकारको हो । केन्द्रीय कारागार अस्पतालले कैदीबन्दीको उपचार व्यवस्था मिलाउने गरेको छ । देशभरका कारागारबाट बिरामी रिफर गरेर उपचार व्यवस्था सहज पार्ने जिम्मेवारी पनि यही अस्पतालको हो । यदि यो अस्पतालमा पनि उपचार सम्भव नभए सम्झौता भएका १५ वटा ठूला अस्पतालमा उपचार गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले बताए । ‘पछिल्लो समय कारागारमा कैदीबन्दी बिरामी हुने क्रम बढेको छ, अव्यवस्थित बसाइ, तनाव र खानपानले कैदीबन्दीमा विभिन्न रोग लागेको हाम्रो अनुमान छ,’ उनले भने, ‘स्वास्थ्य शिविर सञ्चालन गरेर, उनीहरूलाई नियमित परामर्श दिएर र खानपान व्यवहार व्यवस्थित गरेर कारागारमा बिरामीको संख्या घटाउन हामी लागिपरेका छौँ ।’ 

डा. प्रकाश बुढाथोकी, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, केन्द्रीय कारागार अस्पताल 
कारागारहरूमा कैदीबन्दी बिरामी हुने क्रम बढेको छ । वार्षिक १६ जनाको त विभिन्न रोगका कारण मृत्यु हुने गरेको तथ्यांक छ । अव्यवस्थित बसाइ, तनाव र खानपानले कैदीबन्दीमा विभिन्न रोग लागेको हाम्रो अनुमान छ । विभिन्न शिविर, परामर्श र खानपानलाई व्यवस्थित पारेर कैदीबन्दी बिरामी संख्या घटाउन हामी लागिपरेका छौँ ।

कारागार व्यवस्थापन विभाग र कारागार अस्पतालले रोग, जटिलताका आधारमा देशभरका कारागारबाट कैदीबन्दीको सरुवा र उपचार व्यवस्था मिलाउँछ । सामान्य उपचारका लागि भने सम्बन्धित कारागारमै अहेबदेखि छैटौँ तहको स्वास्थ्य कर्मचारीको व्यवस्था गरिएको हुन्छ । तर, गम्भीर रोग लागेका, जिल्ला अस्पतालमा उपचार सम्भव नभएका कैदीबन्दीलाई काठमाडौं ल्याइन्छ । यहाँ ल्याएपछि केन्द्रीय कारागार सुन्धारापरिसरमा रहेको अस्पतालमा उपचार गरिन्छ । यस अस्पतालमा ७७ जना स्वास्थ्यकर्मीसहित ३६ शड्ढयाको अस्पताल छ । यहाँ पनि उपचार सम्भव नभए सम्झौता भएका अन्य अस्पताल लगिन्छ । 

देशका सबैजसो कारागारमा सामान्य स्वास्थ्य समस्याको उपचार सेवा भए पनि गम्भीर रोगको उपचार हुँदैन । कारागार अस्पतालले देशभरका ७४ वटा कारागारलाई उपचार शीर्षकमा वार्षिक दुईदेखि १० लाखसम्म रकम दिँदै आएको छ । तर, धेरै नै रकम खर्च हुने स्वास्थ्य समस्या देखिए काठमाडौं ल्याइन्छ । सम्झौता भएका अस्पतालमा भएको सबै खर्च कारागार अस्पतालले व्यहोर्छ । देशभर जम्मा ७४ वटा कारागार छन्, जहाँ २७ हजार कैदीबन्दी बस्दै आएका छन् । त्यसमध्ये सबैभन्दा धेरै बिरामी केन्द्रीय कारागारमा छन् । 

कारागारभित्रैको अस्पतालमा उपचार सम्भव नभए कैदीबन्दीको उपचार गर्न वीर अस्पताल, ट्रमा सेन्टर, नेपाल आँखा अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, मानसिक अस्पताल पाटन, सरुवा रोग अस्पताल टेकु, एनआरएल ल्याब, राष्ट्रिय मिर्गाैला रोग उपचार केन्द्र, प्रसूतिगृह, बिपी स्मृति अस्पताल वसुन्धरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलगायत स्वास्थ्य संस्थामा उपचार गरिन्छ ।

यसबाहेक कैदीबन्दीको उपचार सहज बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालमा पनि उपचार व्यवस्था मिलाउन पहल भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बुढाथोकीले जानकारी दिए । यी अस्पतालसँग तीन महिनाअघि मात्रै सम्झौता भएको हो । यसले कैदीबन्दीको उपचारलाई निकै सहज बनाएको बुढाथोकीले बताए । 

बिरामी कैदीबन्दीको संख्या बढ्दै गएपछि उनीहरूको उपचार खर्च पनि बढेको छ । सम्पूर्ण उपचार खर्च राज्यले नै व्यहोर्ने भएकाले मासिक करिब ६० लाख खर्च हुन्छ । यो रकम सरकारले नै व्यहोर्छ । सम्झौता भएका अस्पताललाई गृह मन्त्रालयमातहत रहेको कैदीबन्दी उपचार गर्ने अस्पतालले संयोजन गर्ने गर्छ । अस्पतालहरूलाई भुक्तानी पनि कारागार अस्पतालले गर्छ ।

३०–४० वर्ष उमेर समूहका बढी दीर्घरोगी 
कारागारमा रहेका दीर्घरोगीमध्ये ३०–४० वर्ष उमेर समूहका धेरै छन् । यो उमेरमा धेरै तनाव हुने कारणले पनि उच्च रक्तचाप, मधुमेय, मिर्गाैलासम्बन्धी रोग लाग्ने गरेको छ । सबैभन्दा बढी आपराधिक क्रियाकलापमा संलग्न हुने उमेर समूह पनि ३०–४० वर्षकै छन् । 

धेरैजसोमा हाडजोर्नीको समस्या 
कैदीबन्दीमा हार्डजोर्नीसम्बन्धी समस्या व्यापक देखिन थालेको छ । हार्डजोर्नीसम्बन्धी रोग लागेर नियमित औषधि सेवन गर्ने बिरामीको संख्या पाँच सयभन्दा बढी छ । कारागारमा हाडजोर्नीका बिरामी बढ्नुलाई कतिपयले प्रहरीको दोष रहेको बताउने गरेका छन् । प्रहरीले लाठी तथा बुट हान्दा धेरैजसोमा हाडजोर्नीको समस्या देखिएको उनीहरूको टिप्पणी छ । हुन त हिरासतमा रहेका कैदीबन्दीलाई कुट्न नपाइने नियम बनेपछि प्रहरीमा यस्तो प्रवृत्ति हटेको बताइन्छ । तर, कैदीबन्दीका आफन्तले अनुसन्धानका क्रममा प्रहरीले जथाभावी कुट्दा हाडर्जोनीको समस्या देखिएको आरोप लगाउने गरेका छन् । प्रहरीले भने शारीरिक बल प्रयोग नगरेको दाबी गरेको पाइन्छ । 

कैदीबन्दीमा विभिन्न रोग बढ्दै जानुको मुख्य कारण अव्यवस्थित खानपान र बसाइ मानिन्छ । यसमा सत्यता रहेको बुढाथोकीको समेत भनाइ छ । उनका अनुसार चिसो र कोचाकोच गरी बस्नुपर्ने, अनावश्यक तनाव, समयमा खाना नपाइने, पौष्टिक आहाराको कमी, स्वस्थ खानेकुरा नपाउनुलगायत कैदीबन्दीमा रोग देखिनु मुख्य कारण हुन् । यसलाई कम गर्न कारागार अस्पतालले कैदीबन्दी बिरामीको संख्या कम गर्न स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, खेलकुदका गतिविधि बढाउनुपर्ने, खानेकुरामा ध्यान दिने, समयमै खाना खान दिने, फराकिलो ठाउँ, मनोपरामर्श, कारागारभित्रै रोजगारलगायत विषयलाई उठान गरेको छ । यदि कारागारभित्र यी गतिविधि सञ्चालन गर्ने हो भने कैदीबन्दीमा स्वास्थ्य समस्या देखिने दर कम हुने बुढाथोकीको भनाइ छ ।