मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नेपालको लिग च्याम्पियन मनाङविरुद्ध बंगलादेशी क्लब अबहानीका खेलाडी हेडिङ गर्ने प्रयासमा । तस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार ११:४१:००
Read Time : > 1 मिनेट
खेलकुद

एएफसी कप : घरेलु मैदानमा मनाङ पराजित

खेलको २८औँ मिनेटमा अबहानीका साइघानीको १ मात्र गोलमा नेपालको लिग च्याम्पियन मनाङ पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार ११:४१:००

पहिलो हाफमा गरेको १ मात्र गोल निर्णायक बन्दा बुधबार बंगलादेशी क्लब अबहानी लिमिडेटका मसिह साइघानीले मनाङ मस्र्याङ्दी क्लब एएफसी कपको उद्घाटन खेलमा १–० ले पराजित गरेको छ । समूह ईअन्तर्गत उद्घाटन खेलमा मनाङले घरेलु मैदान सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अबहानीविरुद्ध प्रतिस्पर्धा गरेको हो । मनाङ बल पोसेसनमा राम्रो देखिए पनि मिडफिल्ड र फिनिसिङ पक्षमा कमजोर देखियो । अब मनाङले समूह चरणको दोस्रो खेल ४ वैशाखमा चेन्नईसँग खेल्नेछ ।

अनमार्क साइघानीको सहज हेड
मनाङलाई पहिलो खेलमा निराश पार्न अबहानीका मसिह साइघानीले २८औँ मिनेटमा गोल गरेका थिए । डिबक्सभित्र अनमार्कमा रहेका साइघानीले गोललाइनबाट आकर्षक हेडिङ गोल गरी अबहानीलाई १–० को अग्रता दिलाए । रुवेल मियाले लेफ्ट कर्नरबाट गरेको ‘लङ क्रस’लाई सिक्स यार्डमा अनमार्क रहेका साइघानीले हेड गरेका हुन् । उनले दिलाएको अग्रतालाई अन्तिमसम्म कायम राख्दा बंगलादेशी क्लब अबहानी विजयी भयो ।

अवसर गुमाउँदा पराजय
खेलपछि मनाङका प्रशिक्षक छिरिङ लोप्साङले अवसर गुमाउँदा पराजय बेहोरेको बताए । उनले भने, ‘हामीले अबहानीको भन्दा बढी अवसर सिर्जना गरेका थियौँ, तर गोल गर्न असफल भयौँ ।’ उनले खेलाडीले शतप्रतिशत प्रयास गरेको भन्दै एक खेलकै नतिजाले अर्को चरणमा पुग्ने आशा समाप्त नभएको बताए । प्रशिक्षक लोप्साङले भने, ‘हामीले राम्रो प्रदर्शन गर्‍यौँ । तर, १ मात्र गोल निर्णायक बन्यो । यद्यपि, हाम्रो सम्भावना सकियो भन्ने होइन, अब हामी आगामी खेलमा थप परिष्कृत भएर मैदानमा उत्रनेछौँ ।’ मनाङका कप्तान विराज महर्जनले एकीकृत टिमको अभ्यास लामो समयसम्म गर्न नपाउँदा समन्वयमा केही कमजोरी भएको बताए । उनले भने, ‘लिगपछि मोफसलका केही प्रतियोगिता खेलेर हामी एएफसीकपको तयारीमा लागेका थियौँ, तर यू–२३ र राष्ट्रिय टिमको क्लोजक्याम्पले गर्दा लामो तयारी गर्न सकेनौँ ।’

कठिन जित निकाल्यौँ 
अबहानीका प्रशिक्षक मारियो लिमोसले मनाङ कठिन प्रतिद्वन्द्वी भएको भन्दै मनाङविरुद्धको जित महत्वपूर्ण भएको बताए । उनले भने, ‘हाम्रा लागि मनाङविरुद्धको खेल कठिन थियो । खेलमा दुवैको सम्भावना बराबरी नै थियो । यस्तो अवस्थामा जित निकाल्नु टिमका लागि निकै महत्वपूर्ण छ ।’ उनले मनाङको प्रदर्शनको प्रंशसा गर्दै नेपाली फुटबल दीर्घकालीन रूपमा माथि उठ्ने विश्वास व्यक्त गरे । 

सुरुवाती दबाब टिकेन
मनाङले सुरुवाती २० मिनेटसम्म पाहुना टोली अबहानीविरुद्ध खेल पूर्णतः आफ्नो नियन्त्रणमा राख्यो । तर, मनाङका खेलाडी लय कायम गर्न असफल भए । आक्रामक खेल प्रस्तुत गरेको मनाङ रक्षात्मक अवस्थामा पुगेको थियो । मनाङले सुरुमै गोल निकाल्ने योजना बनाएको थियो । एकपछि अर्को राम्रो मुभ बनाए पनि गोल गर्न भने मनाङका खेलाडी निष्क्रिय रहे । मनाङका लागि पाँचौँ मिनेटमा विशाल राईले डिबक्सभित्रबाट गरेको आकर्षक प्रहार बंगलादेशी गोलरक्षकले असफल पारे । खेलको १२औँ मिनेटमा अञ्जन विष्टले गरेको ‘वानटच’ प्रहारले पोस्टको दिशा लिन सकेन । दोस्रो हाफमा अबहानी उत्कृष्ट लयमा देखियो । पहिलोभन्दा दोस्रो हाफमा अबहानीले खतरनाक मुभ सिर्जना गरेको थियो । ८०औँ मिनेटमा सनडे नवादिल्लुको प्रहार पोलमा लागेर फर्किएको थियो ।