१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वीरगन्ज महानगरपालिका– २१ लिपनीबिर्तास्थित वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र बाक्लो हुस्सुले ढम्म ढाकिएको छ । तस्बिर : तिवारी यादव/नयाँ पत्रिका
यम बम काठमाडाैं
२०७९ पौष २१ बिहीबार ०६:११:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तराई–मधेसमा लम्बियो शीतलहर 

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०७९ पौष २१ बिहीबार ०६:११:००

अधिकतम र न्यूनतम तापक्रमको अन्तर १.९ डिग्रीसम्ममा सीमित, औसत अधिकतम तापक्रम पाँच डिग्रीभन्दा बढीले घट्यो

तराई–मधेसमा शीतलहर लम्बिँदा जनजीवन कष्टकर बनेको छ । विशेषगरी मध्यतराई (नेपालगन्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्र)मा दिनभरजसो कुहिरो लाग्ने गरेको छ भने पश्चिम र पूर्वी तराईमा हुस्सु लाग्छ ।

दिनभरजसो घाम नलाग्ने र लागिहाले पनि एकदमै न्यून ताप हुँदा तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम निकै घटेको छ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर (ग्याप) १.९ डिग्री सेल्सियससम्म झरेको छ । मौसम पूर्वानुमान महाशाखाले मध्यतराईमा शीतलहर चलेको औपचारिक घोषणासमेत गरिसकेको छ । पछिल्लो चार दिनयता तराईमा शीतलहर बढेको हो ।

‘नेपालगन्जदेखि जनकपुरसम्म बढी शीतलहर छ, यसलाई हामीले मन्द शीतलहर भनेका छौँ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने, ‘यो क्षेत्रमा तापक्रम अझ घटेर मध्यम किसिमको शीतलहर हुन सक्ने सम्भावना छ ।’

हालसम्म नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको असर रहेको छ । बिहीबार थप अर्काे न्यूनचापीय क्षेत्र आउने र त्यसले तराईमा शीतलहरलाई थप लम्ब्याउन सक्ने आकलन मौसमविद्ले गरेका छन् । भैरहवा, सिमरा र जनकपुरस्थित तापक्रम मापन केन्द्रको तथ्यांक हेर्दा अधिकतम तापक्रम औसतभन्दा पाँच डिग्री सेल्सियस बढीले घटेको छ । 

महाशाखाले मध्य तराईमा घामको ताप मापन गर्दा पनि निकै न्यून पाइएको छ । मध्यतराईमा दिउँसो घामको ताप १०० वाट परमिटरमा झरेको छ, जब कि हिउँदमा सामान्यतयाः १५० भन्दा माथि हुनुपर्ने हो । ‘दिउँसो हुस्सु, कुहिरोसँगै शीतलहर छ, जसकारण जमिनको सतहको हावामा रहेको ताप पनि माथिल्लो वायुमण्डलमा जान सकेको छैन,’ उनले भने ।

तराईमा शीतलहर न्यूनीकरणबारे राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार मात्र नेपाल रेडक्रस सोसाइटी र केयर नेपालसँग छलफल गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार तराईमा शीतलहर चल्न थालेपछि विपन्न नागरिकलाई न्यानो (कम्बलसहित लुगा) वितरणका कार्य स्थानीय तह र जिल्लास्थित विपत् व्यवस्थापन समितिमार्फत हुन्छ । ‘पालिकाको स्र्रोतबाट नभ्याउने अवस्था भयो भने त्यसमा संघ सरकारको सहयोग रहन्छ,’ उनले भने ।

कहाँ कस्तो छ मौसम ?
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमको तराई, लुम्बिनीको पश्चिम तराई, प्रदेश १ र मधेसको पूर्वी तराईमा हुस्सु लागे पनि केही सहज छ । केही क्षेत्रमा हल्का घाम लाग्ने गरेको छ । तर, नेपालगन्जदेखि जनकपुरसम्म बाक्लो कुहिरो छ, जसले शीतलहर चलेको छ ।

बुधबार नेपालगन्जको अधिकतम तापक्रम १५.२ र न्यूनतम तापक्रम ११ डिग्री छ, दिनभर शीतलहर चल्दा अधिकतम र न्यूनतम तापक्रमको अन्तर १.९ डिग्री मात्र छ । त्यहाँ मंगलबार मात्र अधिकतम र न्यूनतम तापक्रमको अन्तर ४.९ डिग्री थियो । तर, १० दिनअघि ११ पुसमा भने यहाँ अधिकतम र न्यूनतम तापक्रमको अन्तर १३.६ थियो, जसकारण न्यानो नै थियो । १० दिनअघि २३.८ डिग्री रहेको तापक्रम ११.४ मा झरेको छ ।

भैरहवाको अधिकतम तापक्रम १५.२ र न्यूनतम ११ डिग्री छ । त्यस क्षेत्रमा दिउँसो र राति उस्ताउस्तै तापक्रम रहेको देखाउँछ । अधिकतम र न्यूनतम तापक्रमको अन्तर २.९ मा झर्नु भनेको दिनभर पनि चिसो हुनु हो । यहाँ ११ पुसमा अधिकतम तापक्रम २५.४ र न्यूनतम १० डिग्री थियो । 

जनकपुरको अधिकतम र न्यूनतम तापक्रमको अन्तर ३.२ डिग्रीमा झरेको छ । बुधबार अधिकतम तापक्रम १६ र न्यूनतम तापक्रम १२.८ मापन भएको छ । मंगलबार अधिकतम तापक्रम १६ र न्यूनतम तापक्रम १२.६ थियो । जब कि ११ पुसमा जनकपुरको अधिकतम र न्यूनतम तापक्रमको अन्तर १३.९ डिग्री थियो ।

मध्यतराईमै पर्ने भैरहवामा भने मंगलबारभन्दा बुधबार केही सुधार भएको छ । तर, शीतलहर कायमै छ । यहाँ अधिकतम र न्यूनतम तापक्रमको अन्तर मंगलबार ३.४ डिग्री रहेकामा बुधबार ४.२ मा उक्लिएको छ । बुधबार अधिकतम तापक्रम १५.२ र न्यूनतम तापक्रम ११ डिग्री मापन भएको छ । ११ पुसमा घाम लागेको थियो । त्यस दिन भैरहवाको अधिकतम तापक्रम २५.४ र न्यूनतम तापक्रम ११ हुँदा अन्तर १४.४ डिग्री थियो ।

तराईमध्ये धनगढी र विराटनगरमा भने शीतलहर कम छ । धनगढीमा बुधबार अधिकतम तापक्रम १६.५ हुँदा न्यनूतम ८.६ डिग्री थियो भने अन्तर ७.९ डिग्री कायम रह्यो । मंगलबार अधिकतम र न्यूनतम तापक्रमको अन्तर ७.५ डिग्री थियो । ११ पुसमा भने धनगढीमा अधिकतम तापक्रम २३.६ र न्यूनतम ७.५ डिग्री मापन भएको छ । 

विराटनगरको अधिकतम तापक्रम धेरै झर्न सकेको छैन । बुधबार अधिकतम र न्यूनतम तापक्रमको अन्तर ८.८ डिग्री रह्यो । यहाँ अधिकतम तापक्रम २० डिग्री रहँदा न्यूनतम ११.२ डिग्री छ । मंगलबार तापक्रमको अन्तर ७.४ डिग्री थियो । तर, ११ पुसमा भने विराटनगरमा अधिकतम तापक्रम २५.२ र न्यूनतम तापक्रम १० डिग्री मापन भएको थियो ।

महाशाखाका अनुसार नेपालमा तत्काल वर्षा हुने सम्भावना छैन । माथिल्लो वायुमण्डल (डेढ किलोमिटरसम्म) पश्चिमी वायुको प्रभाव बलियो रहे पनि तल्लो वायुमण्डलमा प्रभाव निकै कम छ । 

देशभर प्रदूषण बढ्यो : मापन भएका १० स्थानमध्ये राराको हावा मात्र स्वस्थकर
मुगुको रारामा हावाको पिएम (पार्टिकुलेट म्याटर) २.५ मात्रा २९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन स्वस्थकर हो । तर, काठमाडौंको शंखपार्क, ललितपुरको खुमलटार, सुनसरीको झुम्का र कञ्चनपुरको महेन्द्रनगरको वायु प्रदूषण खराब अवस्था (रेडजोन)मा छ ।

त्यस्तै, काठमाडौंकै रत्नपार्क, पोखरा (जिबिएस केन्द्र) र धनकुटामा पनि प्रदूषण अस्वस्थकर छ । भरतपुर र हेटौँडामा समेत वायु प्रदूषणको मात्रा बढ्दै गएको छ । बुधबार साँझ ४ः३० बजेको ‘रियल टाइम पोलुसन डेटा’ हेर्दा पिएम–२.५ को मात्रा झुम्कामा १८३, शंखपार्कमा १६०, खुमलटारमा १५४ र महेन्द्रनगरमा १५२ छ । यो सूचकांक रत्नपार्कमा ११९, पोखरा (जिबिएस) मा ११३, धनकुटामा १०९, भरतपुरमा ७३ र हेटौँडामा ६८ छ । 

यस्तो सूचकांक १०० देखि १५० सम्म पुग्नुलाई बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोग भएका सबैलाई अस्वस्थकर मानिन्छ । त्यस्तै, १५० देखि २०० सम्म पुग्दा सबै उमेर समूहलाई स्वास्थ्य समस्या देखिन सक्छ ।