मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यम बम काठमाडौं
२०७९ पौष २० बुधबार १६:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभर बढ्यो प्रदूषण, १० केन्द्रमध्ये राराको हावा मात्र स्वस्थकर

Read Time : < 1 मिनेट
यम बम, काठमाडौं
२०७९ पौष २० बुधबार १६:४०:००

नेपालमा वातावरण विभागमार्फत सञ्चालित २७ वटा वायु गुणस्तर मापन केन्द्रमध्ये १० वटा मात्र सञ्चालनमा छन्। तीमध्ये राराको वायुको अवस्था मात्र स्वस्थकर देखिएको छ। 

राराको वायुको मात्रा रियल टाइममा पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा २९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन स्वस्थकर हो। 

काठमाडौंको शंखपार्क, ललितपुरको खुमलटार, सुनसरीको झुम्का र कञ्चनपुरको महेन्द्रनगरको वायु प्रदूषण खराब अवस्था (रेडजोन)मा छ भने काठमाडौंको रत्नपार्क, पोखरा (जिबिएस केन्द्र) र धनकुटाकाे वायु पनि अस्वस्थकर छ। त्यस्तै, भरतपुर र हेटौँडामा प्रदूषणको मात्रा बढ्दै गएको छ।

बुधबार साँझ साढे चार बजेको ‘रियल टाइम पोलुसन डेटा’ हेर्दा पिएम– २.५ को मात्रा झुम्कामा १८३, शंखपार्कमा १६०, खुमलटारमा १५४ र महेन्द्रनगरमा १५२ छ। 

यो सूचकांक रत्नपार्कमा ११९, पोखरा (जिबिएस) मा ११३, धनकुटामा १०९, भरतपुरमा ७३ र हेटौँडामा ६८ छ। 

यस्तो सूचकांक १०० देखि १५० पुग्नुलाई बालबालिका तथा वृद्धका लागि तथा श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरूका लागि अस्वस्थकर मानिन्छ भने १५० देखि २०० सम्मलाई सबै उमेर समूहलाई स्वास्थ्य समस्या देखिन सक्ने हुन्छ र घरबाहिर धेरै समय बिताउन नहुने भनिन्छ।

वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने हिउँदयाम सुक्खा रहँदा पनि काठमाडौंलगायत क्षेत्रमा प्रदूषण बढिरहेको बताउँछन् । ‘सुक्खा मौसममा धुलोधुँवा बढी हुन्छ। इँटाभट्टाको धुँवा पनि मिसिने हुन्छ,’ उनले भने, ‘प्रदूषणको हिसाबले यो समय सिजन मानिन्छ।’

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार केही दिनयता काठमाडौंको तल्लो वायुमण्डलमा हावा कम चल्न थालेको छ, जसकारण प्रदूषण बढाउन मद्दत पुगेको हुन सक्छ।

‘हावा कम चलेको छ। पानी परेको छैन। यसले प्रदूषण बढाउने तत्व तल्लो वायुमण्डलमा थिग्रिएर बसेको हुन सक्छ,’ उनले भने, ‘काठमाडौंलगायत क्षेत्रमा तत्काल पानी पर्ने अवस्था पनि छैन।’