मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष १३ बुधबार ०६:३१:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउवा रक्षात्मक, शेखर–गगन आक्रामक 

Read Time : > 4 मिनेट
२०७९ पौष १३ बुधबार ०६:३१:००

आफ्नै हठका कारण राष्ट्रप्रमुखदेखि प्रदेशको सभामुखसम्मका राजकीय पदबाट विमुख हुनुुपर्ने अवस्था आएपछि सभापति देउवा रक्षात्मक अवस्थामा, पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न २२ पुसमा केन्द्रीय समिति

केन्द्रीय समितिमा ८२.२७ प्रतिशत सदस्य र संसदीय दलमा ७१.९१ प्रतिशत सांसदको समर्थन रहेका ‘शक्तिशाली’ कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र रक्षात्मक अवस्थामा देखिएका छन् । सत्ता साझेदारीका सन्दर्भमा आफ्नै हठका कारण गठबन्धन भत्किएर पार्टी राजकीय सत्ताबाट टाढा पुगेपछि उनी रक्षात्मक बनेका हुन् । यसको जिम्मा लिनुपर्ने भन्दै नेता शेखर कोइराला–महामन्त्री गगन थापा नेतृत्वको इतर समूह संस्थापनविरुद्ध आक्रामक बनेको छ ।

प्रधानमन्त्री नछाड्ने देउवाकै अडानले एमालेसहितका सात दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि संसद्को पहिलो दल प्रतिपक्षमा बस्ने परिस्थिति बनेको छ । इतर समूहका कतिपय नेताले यसको जिम्मेवारी लिँदै सभापति र दलको नेताबाट देउवाले राजीनामा दिनुपर्नेसम्मको माग उठाउन थालिसकेका छन् ।

चिन्तित देउवा

प्रधानमन्त्री आफै बन्नुपर्ने अडानले सम्पूर्ण सत्ता राजनीति गुमाएका देउवा सार्वजनिक रूपमा केही बोलेका छैनन् । निकट नेताहरू पनि जिम्मेवारीलाई लिएर आरोप–प्रत्यारोपमा छन्।

१४औँ महाधिवेशनबाट पुनः सभापतिमा चयन भएपछि देउवा पहिलोपटक रक्षात्मक बनेका हुन् । सभापति देउवाले अहिलेसम्म घटनाक्रमबारे सार्वजनिक रूपमा केही बोलेका छैनन् । पछिल्लो राजनीतिक परिस्थितिमाथि छलफल गर्न कांग्रेसले २२ पुसमा केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा पहिलो बनेको कांग्रेस देउवाको प्रधानमन्त्री बन्ने अडानका कारण अन्तिम अवस्थामा प्रमुख प्रतिपक्ष दल बन्नुपर्ने अवस्थापछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । यसको जिम्मेवारी पार्टी सभापति देउवाले लिनुपर्ने आवाज पनि कांग्रेसमा उठेको छ । 

सरकार निर्माणका लागि सभापति देउवाले विश्वासपात्रका रूपमा खटाएकाहरूसमेत आरोप–प्रत्यारोपमा लागेका छन् । सभापति देउवानिकट रहेर सरकार निर्माणका लागि लागिपरेका नेताहरू पछिल्लो समय यसबारे कुनै प्रतिक्रिया दिन चाहँदैनन् । देउवानिकट स्रोतका अनुसार देउवाले संवादमा खटाएका नेताहरू एक–अर्कालाई जिम्मेवार भन्दै आरोप–प्रत्यारोपमा छन् ।

नयाँ पत्रिकाको सम्पर्कमा आएका उपसभापति पूर्णबहादुर खड्काले यस विषयमा केन्द्रीय समिति बैठकमा नै छलफल हुने भन्दै कुनै प्रतिक्रिया दिन मानेनन् । ‘केन्द्रीय समिति बैठक आह्वान भइसकेको अवस्थामा बैठकमा नै छलफल हुनेछ । यसबारे बैठकअघि कुनै प्रतिक्रिया दिन चाहन्नँ,’ उनले नयाँ पत्रिकासँग भने । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिले पनि यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । ‘यस विषयमा अहिले कुनै भनाइ राख्दिनँ,’ निधिले भने ।

इतर समूहले आफूनिकट सीमित नेताबाहेक सभापतिले पार्टीका अरू जिम्मेवार नेतासँग सल्लाह नगरी अगाडि बढ्दा ठूलो दुर्घटनामा परेको बताउँदै आएका छन् । केन्द्रीय सदस्य बलबहादुर केसीले बुधबार इतर समूहको बैठक बसेर यसबारे थप छलफल गर्ने तयारी रहेको जानकारी दिए । 

गुरुराज घिमिरेका अनुसार बुधबार इतर समूहका नेता डा. शेखर कोइराला र पदाधिकारीसहितका नेताहरूको छलफल हुँदै छ । उनले छलफल कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्ने र बैठकमा कसरी प्रस्तुत हुनेबारे रणनीति तय हुने बताए । उनले पार्टी नेतृत्व र यसलाई असफल बनाउने लागिपर्ने नेताहरूले जिम्मेवारी लिनुपर्ने गरी बैठकमा छलफल हुन लागेको बताए । ‘यो व्यक्तिगत लाभहानिको विषय होइन, कांग्रेसमाथि भएको ठूलो दुर्घटना हो । हातमा आएको जिम्मेवारी खोसिएको छ । यसको जिम्मा नेतृत्व र यसमा जिम्मेवारले लिनुपर्छ भन्नेमै रहन्छ । सँगै अबको दिनमा कांग्रेस कसरी अगाडि लैजाने भन्ने विषयमा हामी निर्णय लिनेछौँ ।’ 

उनले पहिलो पार्टीले अवसर नपाउँदा प्रजातन्त्रमाथि नै आघात पुगेको बताए । इतरले नेतृत्वसहितका जिम्मेवारले राजीनामा दिनुपर्ने र विशेष महाधिवेशन बोलाउनुपर्ने गरी बैठकमा प्रस्तुत हुने तयारी गरेको छ । कांग्रेस इतर समूह केन्द्रीय समितिमा आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा छ । 

१४औँ महाधिवेशनमा सभापति चयनसँगै देउवाले जिम्मेवारी बाँडफाँड र निर्णय प्रक्रियामा इतर समूहलाई बेवास्ता गर्दै आएका थिए । २९ असार ०७८ मा देउवा नेतृत्वमा पाँचदलीय गठबन्धनको सरकार गठन हुँदा कांग्रेसबाट सात मन्त्री र एक राज्यमन्त्री सरकारमा थिए । जसमध्ये मीनेन्द्र रिजाल र दुईजना मात्र मन्त्री इतर समूहका थिए । रिजालले १४औँ महाधिवेशनमा इतर समूहबाट महामन्त्रीमा पराजय भोगेपछि मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, उनको राजीनामापछि देउवाले कसैलाई रक्षामन्त्रीमा नियुक्त गरेका थिएनन् । संसदीय दलको निर्वाचनसम्म पुग्दा केन्द्रीय समितिमा ८२.२७ प्रतिशत केन्द्रीय सदस्य उनको पक्षमा छन् । 

कांग्रेसको एक सय ३४ निर्वाचित र २३ मनोनीत गरी एक सय ५८ सदस्यीय केन्द्रीय समिति बनेको छ । अझै १० जना मनोनयनको अधिकार सभापतिलाई छ । केन्द्रीय समितिमा इतरको संख्या २८ छ । जसमा एक सय ३० संस्थापन समूहका छन् । महाधिवेशनमा निर्वाचित एक सय ३४ मध्ये महामन्त्री शर्मासहित एक सय नौजना संस्थापन समूहका थिए । २३ मनोनीतमध्ये पौडेलबाहेक दुई मात्र इतर समूहबाट मनोनीत भएका थिए । 

महाधिवेशनपछिका अधिकांश बैठकमा देउवाले एकतर्फी रूपमा आफ्ना प्रस्तावलाई पारित गराउँदै आएका थिए । इतर समूहले स्थानीय तह निर्वाचनको समयमा नै गठबन्धन गरेर जान नहुने भन्दै विरोध गर्दै आएको थियो । तर, केन्द्रीय समिति बैठकबाट सर्वसम्मत रूपमा गठबन्धन गरेर जाने निर्णय भएको थियो । 

टिकट वितरणमा देउवामाथि एकलौटी ढंगले आफूनिकटलाई दिने निर्णय लिएको आरोप छ । ‘आगामी निर्वाचनमा गठबन्धन गर्ने पक्षमा छैनौँ । गठबन्धन गर्दा कांग्रेसलाई कुनै फाइदा छैन । कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन् । निर्वाचनबाहेक सरकार सञ्चालनमा गठबन्धनलाई निरन्तरता दिन सकिन्छ,’ स्थानीय तह निर्वाचनअघि २७ माघमा प्रचण्डलाई भेटेर कोइरालाले भनेका थिए ।

२७ असारमा बसेको केन्द्रीय समिति बैठकमा डा. कोइरालाले संघ र प्रदेशको निर्वाचनमा तालमेल नगर्न प्रस्ताव गरेका थिए । ‘आगामी निर्वाचनमा व्यक्तिकेन्द्रित गठबन्धन गर्‍यौँ भने पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौँ त ? यसबारे आगामी निर्वाचनभन्दा अगाडि यस विषयमा गम्भीर र विस्तृत रूपमा पार्टीभित्र छलफल गरिनुपर्छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रको आवश्यकता र औचित्य पुष्टि हुने गरी मात्रै तालमेलबारे पार्टीकोे धारणा निर्माण गरौँ,’ कोइरालाले भनेका थिए ।

७ पुसमा भएको संसदीय दलमा ७१.९१ प्रतिशत सांसद देउवाको पक्षमा देखिएका थिए । संसदीय दलको निर्वाचनमा ८९ सांसदले मतदान गर्दा सभापति देउवाले ६४ मत र महामन्त्री गगन थापाले थापाले २५ मत पाएका थिए । यससँगै पार्टी र संसद्मा देउवाको भूमिका झन् मजबुत बन्ने अपेक्षा गरिएको थियो । 

देउवाको अन्तर्घाती अडानका कारण अन्तिम अवस्थामा कांग्रेसले सरकारमा जाने अवसरलाई गुमाएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभामुख, प्रदेश उपसभामुखलगायतका राजकीय सत्ताका पदहरूको प्रमुख हिस्सेदारी गुमाएसँगै कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ । 

नयाँ प्रधानमन्त्री नियुक्तिको चार दिनपछि बालुवाटार छाड्ने तयारीमा देउवा 

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको चार दिनपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले सर्नमा ढिलाइ भएको हो । उनले बिहीबार धुम्बाराहीस्थित भाडाको घरमा सर्न लागेको बताए ।

‘बुढानीलकण्ठस्थित निजी निवास मर्मतको काम भइरहेकाले सर्नमा केही ढिलाइ भएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘धुम्बाराहीमा भाडाको घरमा सर्ने तयारी भइरहेको छ । घर सरसफाइको काम भइरहेको छ । बिहीबार सरकारी निवास खाली गर्छौँ ।’ 

‘गम्भीर दुर्घटना भएको छ, गहिराइमा पुगेर समीक्षा हुन्छ’

समग्र विषयमा छलफलका लागि सभापति देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको सल्लाहमा २२ पुसमा केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । महामन्त्री शर्माका अनुसार सरकार निर्माणका विषयमा बैठकमा गम्भीर रूपमा छलफल हुनेछ । ‘केन्द्रीय कार्यसमिति बैठकमा सरकारको विषय एजेन्डाका रूपमा राखिएको छ । गम्भीर दुर्घटना भएको छ, यसलाई गहिराइमा पुगेर समीक्षा गर्नुपर्ने हुन्छ । बैठकमा आलोचना र आत्मालोचना स्वाभाविक रूपमा हुन्छ ।

बैठकअघि पनि हामी पदाधिकारी र कार्यसम्पादन समितिको बैठक बस्नेछौँ । सभापतिसँग पनि छलफल गर्नेछौँ र एउटा धारणा बनाउनेछौँ,’ महामन्त्री शर्माले नयाँ पत्रिकासँग भने, ‘हामीले निर्वाचनमा जाँदै गर्दा जनतामा यो पहिलेजस्तो चाँडै टुट्ने गठबन्धन होइन, लामो समयसम्म रहन्छ भनेर विश्वस्त पारेका थियौँ । तर, निर्वाचनको एक महिनामै गठबन्धन टिकेन । प्रचण्डले गठबन्धनबाहिर गएर सरकार बनाउनुभयो । गठबन्धन जोगाउनका लागि पार्टी नेतृत्वले पनि गम्भीर र संयमित भएर निर्णयमा पुग्नुपथ्र्यो भन्ने पनि छ । समग्र विषयमा कांग्रेसलाई नवीन ढंगले अगाडि बढाउने गरी छलफल गर्नेछौँ । 

देउवाले निर्वाचन समीक्षासहित समसामयिक विषयमा छलफलका लागि निर्वाचनपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार तीन एजेन्डा तय भएका छन् । उनका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक सन्दर्भ र विविध विषयमा छलफलको एजेन्डा तय भएको उनले जानकारी दिए । कांग्रेसले प्रतिनिधिसभातर्फ ९१ स्थानमा उम्मेदवार उठाएकोमा ५७ स्थानमा जित हासिल गरेको थियो । त्यस्तै, समानुपातिकतर्फ ३२ सिट पाएको थियो ।