१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १२ मंगलबार ०८:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चुनावमा नबढेको सेयर बजारमा मन्त्री फेरिने चर्चासँगै छलाङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १२ मंगलबार ०८:०२:००

चुनावको समयमा बढ्न नसकेको सेयर बजार सोमबार अर्थमन्त्री फेरिने हल्लासँगै बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ८८ अंकले बढेर एक हजार नौ सय २४ दशमलव ९ बिन्दुमा बन्द भएको हो । एक हजार आठ सयको मनोवैज्ञानिक बिन्दुमा स्थिर रहेको बजार पुनः एक तहमाथि उक्लिएको छ । अन्य समूहको सूचकबाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ । आइतबार बेलुकादेखि सरकारमा आएको फेरबदलसँगै सेयर बजार के हुन्छ भनेर निकै चासोपूर्वक हेरिएको थियो ।

एमाले र माओवादी केन्द्रसहित गठबन्धन सरकार बन्ने भएपछि अर्थमन्त्रीको चर्चामा विष्णु पौडेल रहेका थिए । सोमबार कारोबार हुनुअगाडि नै अर्थमन्त्रीमा विष्णु पौडेल बन्ने पक्कापक्की भएपछि सेयर बजारमा सुरुवातदेखि नै हरियाली छाउन पुगेको थियो । बजार बन्द हुँदासम्म सेयर बजार तीन प्रतिशतले बढेर करिब तीन अर्ब रुपैयाँको कारोबार हुन पुगेको छ ।

सोमबार मन्त्री फेरिने हल्लासँगै कारोबार रकमसँगै नेप्से सूचक पनि बढेको हो । यसअघि १५ कात्तिकमा नेप्से परिसूचक ५६ दशमलव ११ अंकले बढेको भए पनि एक अर्ब २९ करोडको रुपैयाँको मात्रै कारोबार भएको थियो । त्यसैगरी, नयाँ आर्थिक वर्ष सुरु भएयता आठ साउनमा ६१ अंकले बढेपछि यसभन्दा माथिल्लो अंकले सेयर बढ्न सकेको थिएन । सोमबार सेयर बजारमा दुई अर्ब नौ करोड रुपैयाँको कारोबार भएको थियो । 

 चुनावपछिको सबैभन्दा बढी अंकले वृद्धि
चुनावपछि पनि त्यति ठूलो अंकले नबढेको नेप्से सोमबार बढेपछि सर्वत्र चासोको विषय बनेको छ । चुनावको समयमा सेयर बजार बढ्ने अनुमान लगानीकर्ताको रहेको थियो । तर, यसपटक विगतमा भएका चुनावको समयमा आएको परिवर्तनजस्तै यसपटकको सेयर बजारमा चुनावको प्रभाव देखिएन ।

सोमबारको सेयर बजारलाई लिएर लगानीकर्ताले विभिन्न टिप्पणी गरेका छन् । विगतका दिनहरूमा विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हाल्दा सेयर बजारले उच्च तहसम्म छोएको हुँदा उनको नेतृत्वले पुँजी बजार सकारात्मक रूपमा अघि बढ्ने अपेक्षाले बजार बढ्नलाई बल पुग्ने एक लगानीकर्ताले बताए । उनले भने, ‘निवर्तमान अर्थमन्त्री र गभर्नरको तालमेल नहुँदा बजार घटेको थियो, अब राष्ट्र बैंक र अर्थ मन्त्रालयको तालमेल मिल्ने हुँदा बजारमा सुधार आउने मनोविज्ञान आमलगानीकर्तामा हाबी भएको हो ।’

लगानीकर्ता विजय रानाभाटले नेतृत्व लिने र पुँजी बजारलाई बुझ्न नसक्दा घट्न पुगेको बताए । उनले भने, ‘अहिलेको अर्थमन्त्रीमा नेतृत्व लिने क्षमता छ । विगतले पनि देखाएको अवस्था हो, अर्थ मन्त्रालय र राष्ट्र बैंकको तालमेल मिल्नेबित्तिकै अहिले देखिएको तरलता समस्या पनि समाधान हुने हुँदा पुँजीबजारमा सुधार हुन्छ र नयाँ रेकर्ड राख्छ ।’