१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ८ शुक्रबार ०६:१२:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशभर चिसो बढ्यो : मौसम बदलीसँगै प्रदूषण पनि बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ८ शुक्रबार ०६:१२:००

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । पुस लागेसँगै मुलुकभर अधिकतम र न्यूनतम तापक्रम घट्न थालेकामा पछिल्लो समय बिहानपख देशभर हुस्सु लाग्न थालेको छ । काठमाडौंमा बिहीबार मध्याह्नसम्म नै हुस्सु लागेको थियो भने मध्य तराईमा दिउँसो २ बजेसम्म घाम लाग्न सकेन ।

काठमाडौंमा न्यूनतम तापक्रम एकै दिनमा झन्डै एक डिग्री सेल्सियसले घटेको छ । बुधबार बिहान न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेकोमा बिहीबार बिहान ६.५ मा झरेको थियो । अधिकतम तापक्रम पनि १८.२ डिग्रीमा झरेको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दै जानेछ । ‘हिउँदमा तापक्रम घट्ने, हुस्सु लाग्ने हुन्छ नै,’ उनले भनिन्, ‘पूर्वी भेगमा न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले बदली पनि हुन थालेको छ ।’ केही दिनअघिसम्म सुक्खा रहेको काठमाडौंमा हुस्सु लाग्न थालेपछि प्रदूषण पनि बढ्न थालेको छ ।

खुमलटारस्थित वायु गुणस्तर मापन केन्द्रमा बिहीबार साँझ वायु गुणस्तर सूचकांक पिएम– २.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा १५९ पुगेको थियो, जुन अस्वस्थकर मानिन्छ । यो सूचकांक रत्नपार्कमा १२३ र शंखपार्कमा ११० पुगेको थियो । महेन्द्रनगरमा १४७, हेटौँडामा ९४ र धनकुटामा ८७ पुगेको छ ।