१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ७ बिहीबार १०:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अन्तर्वार्ता दिन जाँदा कस्तो कपडा लगाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ७ बिहीबार १०:५०:००

पछिल्लो समय रोजगारीका नयाँ–नयाँ अवसरहरू खुलेका छन् । त्यहाँ जागिर गर्नका लागि अन्तर्वार्ता दिन जाँदा कस्तो कपडा लगाउने ? यो जिज्ञासा धेरैलाई हुन्छ । आफ्नो करिअरसँग जोडिएको विषय हुनाले पनि यसमा धेरैलाई चासो हुन्छ । तपाईंले केही कुरामा ध्यान दिनुभयो भने आफूलाई अन्तर्वार्तामा स्मार्ट रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । 

मौसमअनुसारका कपडा 
जाडो मौसममा तपाईं लङ कोट वा ब्लेजर क्यारी गर्न सक्नुहुन्छ । त्यस्तै, गर्मीमा सर्ट, पाइन्ट नै लगाएर फर्मल भएर पनि जान सक्नुहुन्छ । सर्टमा आइरन गर्न नभुल्नुस् । रंगिचंगी सर्ट नभएर एउटै कलरको सर्ट छान्नुस् । टाई पनि एकै कलरको लगाउनुस् । महिलाले पनि सकभर सर्ट÷पाइन्टमै जाँदा राम्रो हुन्छ । तर, यदि तपाईंलाई पाइन्ट लगाउन मन पर्दैन भने फर्मल साडीमाथि ब्लेजर लगाउन सक्नुहुन्छ । तपाईंले जिन्स पाइन्ट र त्यसमाथि सिम्पल कुर्था र ब्लेजर पनि लगाउन सक्नुहुन्छ । रंगिचंगी होइन, एउटै कलरको कुर्था वा साडी रोज्नुपर्छ । 

चम्किलो रङ नछान्नुस् 
कलर कम्बिनेसन मिल्न जरुरी छ । अधिक चम्किलो कपडा अन्तर्वार्ताका लागि राम्रो होइन । त्यसैले चम्किलो कालो, खैरो, रातो, पहेँलोलगायत गाढा रङका कपडा नछान्नुस् । तपाईंले आकासे रङको निलो, मरुन, पर्पललगायत रङका कपडा लगाउन सक्नुहुन्छ । 

हल्का पर्फ्युम प्रयोग 
थोरै पर्फ्युम प्रयोग गर्नुस् । पसिना गनाउने, मोजा गनाउनेलगायत समस्याबाट यसले टाढा राख्न सहयोग गर्छ । तर, अत्यधिक पर्फ्युमको प्रयोग राम्रो मानिदैन । किनकि, तपाईंको अन्तर्वार्ता लिने मानिसलाई नै पर्फ्युमसँग एलर्जी भएको पनि हुन सक्छ । हल्कासम्म त उसलाई ठीकै लाग्ला, धेरै प्रयोग गर्नुभयो भने अन्तर्वार्ता लिने व्यक्ति खुसी नहुन सक्छ । त्यसैले माइल्ड पर्फ्युम प्रयोग गर्नुस् । 

जुत्ताको चयन 
तपाईंको लुक्सलाई डिफाइन गर्न जुत्ताले निकै सहयोग गर्छ । त्यसैले आफूलाई सुहाउने साधारण खालका जुत्ता किन्नुस् । सकभर तुना भएको छालाको जुत्ता प्रयोग गर्नुस् । पोलिस गर्न नबिर्सनुस् । धेरै स्टाइलिस जुत्ता नछान्नुस् । 

गहना कम लगाउनुस् 
कतिपय व्यक्ति गहनाका सौखिन हुन्छन् । तर, तपाईंले कानमा मुन्द्रा, हातमा बालालगायत गहना लगाउनु राम्रो मानिदैन । महिला र पुरुष दुवैले सकेसम्म कम गहना लगाउनुस् । यदि, विवाहित हुनुहुन्छ भने बिहेको औँठीसम्म लगाउन सक्नुहुन्छ । पुरुषले क्लासिक लुक्स दिने घडी लगाउँदा राम्रो हुन्छ । महिलाले कानमा सानो र साधारण इयर रिङ लगाउन पनि सक्नुहुन्छ । हातमा चुरा नलगाउनुस् ।

हेयर स्टाइल 
हेयर स्टाइल सिम्पल हुनुपर्छ । महिलाले कपाल खुला छाड्नुभन्दा बाँधेको राम्रो हुन्छ । पुरुषले कपालमा जथाभावी कलर नगरेको राम्रो हुन्छ । त्यस्तै, कपाललाई स्टाइलिसभन्दा पनि क्लासिक लुक्स दिनुभयो भने राम्रो देखिन्छ । दाह्री काट्ने वा हल्का राख्न मन छ भने ट्रिम गर्न सक्नुहुन्छ । 

हल्का मेकअप 
हल्का मेकअप गर्न सकिन्छ । तर, धेरै भद्दा देखिने गरी मेकअप गर्नुहुँदैन । महिलाले हातमा मेहदी नलगाउँदा राम्रो हुन्छ । किनकि, तपाईंले अन्तर्वार्तामा आफ्नो आत्मविश्वास प्रस्तुत गर्ने हो, स्टाइल होइन ।