१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष ३ आइतबार १३:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सयभन्दा बढी लाभान्वित

Read Time : > 1 मिनेट
२०७९ पौष ३ आइतबार १३:३६:००

निःशुल्क स्वास्थ्य शिविरबारे थाहा पाएपछि चन्द्रकोट गाउँपालिका– ४ का प्रेम थापा शुक्रबार बिहानै गाउँपालिकाको कार्यालय शान्तिपुर पुगे। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर मनबहादुर केसीको कोठामा केहीबेर लाइनमा बसेपछि जेकजाँच पनि सजिलै गर्न पाए। परामर्शसहित उच्च रक्तचापको औषधि लिएर उनी घर फर्किए। थापा तिनै डाक्टर केसीलाई भेट्न काठमाडौं गएको भए कम्तीमा १० हजार खर्च हुन्थ्यो।

चन्द्रकोट– २ की दीपा खरेल ७८ वर्षीय बुबा मनिराम ढकाललाई लिएर शिविरमा आएकी थिइन्। वेलावेलामा पिसाब रोकिने समस्याबाट ढकाल पीडित थिए। वृद्ध अवस्थाका बुबालाई परीक्षणका लागि पटकपटक बुटवल र काठमाडौं लैजानुपर्दा खरेल समस्यामा थिइन्। अहिले घरनजिकैको शिविरमा परीक्षण गराउन पाएकोमा उनले खुसी व्यक्त गरिन्। वृद्ध मान्छेलाई गाडीमा यात्रा गराउँदा पनि सास्ती हुने भएकाले खर्च मात्रै नभएर धेरै कुरामा फाइदा भएको उनले बताइन्।

शुक्रबार र शनिबार अबेरसम्म सञ्चालन भएको शिविरबाट थापा र खरेलजस्ता एक हजार ६ सय २३ जनाले सेवा लिएका छन्। शिविरबाट एक हजार एक सय ६ महिला र पाँच सय १७ पुरुषले सेवा लिएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु भुसालले जानकारी दिए। शिविरका लागि चन्द्रकोट गाउँपालिकाले तीन लाख विनियोजन गरेको थियो।

शिविरमा पूर्वमुख्यसचिव लीलामणि पौडेल, नेपाल नेत्र ज्योति संघका केन्द्रीय महासचिव भरत चन्द, स्वास्थ्य सेवा विभागमा महानिर्देशक चूडामणि भण्डारीलगायतको पहलमा सहिद धर्मभक्त मिर्गौला प्रत्यारोपण केन्द्र, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज, स्वास्थ्य कार्यालय र नेपाल नेत्र ज्योति संघ गुल्मीले प्राविधिक सहयोग गरेकाे गाउँपालिका प्रमुख युवराज खत्रीले बताए। दुईदिने शिविरमा मुटु, मिर्गौला, स्त्री, आँखा र पाठेघरलगायतका समस्याको परीक्षण गरिएको थियो।

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख खत्रीले बताए। सोही अवसरमा गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका शिक्षकलाई मिर्गौला रोग र उपचार तथा प्रत्यारोपणको विषयमा सचेतना कार्यक्रम गरेको छ। सहिद धर्मभक्त मिर्गाैला प्रत्यारोपण केन्द्रका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर कल्पनाकुमारी श्रेष्ठले सचेतना कक्षा सञ्चालन गरेकी थिइन्।