मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ पौष २ शनिबार १९:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेलडाँडीका अवैध संरचनामाथि चल्याे डोजर 

अस्पताल निर्माणका लागि ग्रिनबेल्टमा बनेका दर्जनौँ संरचना हटाइयो  

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ पौष २ शनिबार १९:२७:००

कञ्चनपुरको बेलडाँडीमा स्थानीय सरकारले अवैध संरचनामाथि डोजर लगाइएको छ। बेलडाँडी गाउँपालिकाले ग्रिनबेल्टभित्र निर्माण भएका दर्जनौँ अवैध संरचनामाथि डोजर लगाएको हो। 

चालू आर्थिक वर्ष २०७९-०८०मा १५ शय्याको अस्पताल निर्माणका लागि बेलडाँडी गाउँपालिकाले छनोट गरेको स्थानमा निर्माण भएका अवैध संरचना हटाएको छ। विगतमा कृषि कार्यालय रहेको भवनसहितका १२ घर, गोठ, पसल भत्काएको हो। 

बेलडाँडी गाउँपालिकाले अस्पताल निर्माणका लागि छनोट गरेको सरकारी जमिनमा बनाइएका घर, टहरासहितका संरचना भत्काएको छ। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले दुईपटक सूचना जारी गर्दासमेत अस्पताल निर्माणस्थल खाली नगराएपछि डोजर नै लगेर भत्काएको बताए। 

‘हामीले दुईपटक अस्पताल निर्माणस्थल खाली गराउनका लागि सूचना जारी गरौँ, तर कसैले मानेन, ‘उनले भने, ‘बाध्य भएर अवैध संरचना हटाएका हौँ।’ 

१५ शय्याको अस्पताल निर्माणका लागि झन्डै १ बिघा १७ कठ्ठा जमिन क्षेत्रफलमा अस्पतालको भवन, पार्किङ, क्यान्टिन, शवगृहसहितका संरचाना निर्माण हुनेछन्। 

अस्पताल निर्माणका लागि बंगलामुखी बैजनाथ जेभीले अस्पताल निर्माणमा ६ मंसिर ०७९मा सम्झौता गरेको छ। अस्पताल निर्माण क्षेत्र खाली भएसँगै कम्पनीले अस्पताल निर्माण गर्नेछ।
 
उक्त स्थान ओगटेर बसेकामध्ये दुई परिवार वास्तविक सुकुमबासी भएकाले उनीहरूको पालिकाले अस्थायी रूपमा बसोबास व्यवस्था मिलाउने गाउँप्रमुख रानाले बताए। ‘शैलेन्द्र राना र लक्ष्मी गिरी दुई परिवारको अवस्था ज्यादै नाजुक छ,’ उनले भने, ‘उनीहरूको पालिकाबाट अस्थायी रूपमा प्रबन्ध गछौँ।’ 

गाउँपालिकाको स्वामित्वमा रहेको उक्त अतिक्रमित जमिन खाली गराएसँगै पालिका नेतृत्वको प्रशंसा भएको छ। स्थानीयले पालिकाको काम जनमुखी साहसिक भएको बताएका छन्। 

स्थानीय किरण ठगुन्नाले पालिकाबाट भएको काम राम्रो भएको बताउँदै, यसरी नै सम्पूर्ण अतिक्रमण गरिएको ग्रिनबेल्ट खाली गराउनुपर्ने बताए।

‘गाउँपालिकाले ७२ बिघा जमिनभित्र निर्माण भएका नेतादेखि कर्मचारीका अवैध संरचना पनि भत्काउनुपर्छ, ‘जहाँ गरिब त्यहाँ मात्रै डोजर होइन, ठूलाबडाले कब्जा गरेको जमिन पनि खाली गराउनुपर्छ।’

बेलडाँडीका स्थानीय अगुवा युवा निरू साहूले गाउँपालिकाले अघि बढाएको सामाजिक र जनहित कार्य सराहनीय भएको बताए। 
‘यो ठाउँमा अस्पताल निर्माण हुनु, हामी बेलडाँडीबासीका लागि सुखद विषय हो,’ उनले भने, ‘यसमा हामी सबैले गर्व सहयोग गर्नुपर्छ।’ 

उक्त जमिनमा बसेका कुम्भराज गिरीले आफुहरू अन्यन्त्रसमेत जमिन भएको तर केही नभएका परिवारलाई पुनर्स्थापनामा जोडदिएका छन्।