१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १ शुक्रबार १९:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शान्ति मिसनमा ६ हजारभन्दा धेरै नेपाली सैनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १ शुक्रबार १९:५८:००

संयुक्त राष्ट्र संघको आह्वानमा इतिहासमै पहिलोपटक ६ हजारभन्दा बढी नेपाली सेनाका फौज शान्ति मिसनमा तैनाथ  छन्।

यो नेपाली सेनाको अहिलेसम्मकै ठूलो संख्या हो। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा २७ मंसिरमा लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुईजना शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिसनमा नेपाली सेनाको तैनाथी संख्या ६ हजार १६ पुगेको सेनाले जनाएको छ।

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेपश्चात् संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५८ मा पाँचजना सैन्य पर्यवक्षक लेवनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिसनको यात्राले ६ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ।

 ‘शान्ति मिसनहरूको यस गर्विलो यात्रामा सन् १९७४ मा इजिप्टमा पहिलो नेपाली सैनिक कन्टिजेन्टको रूपमा श्री पुरानो गोरख गण सहभागी भएको थियो भने हालसम्म नेपाली सेनाले ४४ वटा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सहभागिता जनाइसकेको छ,’ सेनाले विज्ञप्तिमा जनाएको छ। 

यस क्रममा नेपाली सेनाका एक लाख ४२ हजार पाँच सय ८५ जना सकलदर्जा शान्ति मिसनमा सहभागी भइसकेका छन्, जसमा एक हजार नाै सय ८२ जना महिला सैनिकसमेत समावेश छन्। विश्व शान्ति स्थापनाका क्रममा हालसम्म ७१ जना नेपाली सेनाका शान्ति सैनिकको निधन भएको छ भने ६८ जना सकलदर्जा घाइते भएका छन्।

हाल संयुक्त राष्ट्र संघमा फौज योगदान गर्ने राष्ट्रहरूको मर्यादाक्रममा नेपाल तेस्रो स्थानमा छ। विभिन्न १२ वटा शान्ति मिसनमा नेपाली सेनाका ६ हजार १६ जना सकलदर्जा (चार सय २९ महिलासहित) सहभागी भइरहेका छन्।

यसैगरी, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमध्ये सिरियामा फोर्स कमान्डर, मिसन लेवनानमा डेपुटी फोर्स कमान्डर तथा मिसन माली र मिसन दक्षिण सुडानमा सेक्टर कमान्डरको रूपमा नेपाली सेनाका अधिकारी कार्यरत छन्।