मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गुरुप्रसाद न्यौपाने
२०७९ मङ्सिर २९ बिहीबार ०८:५५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विद्युत् उत्पादन र खपत वृद्धिको असन्तुलन

विद्युत् उत्पादन र खपत एउटै सिक्काका दुई पाटा हुन्, तर नेपालमा उत्पादनअनुसार विद्युत् खपत बढेको छैन, करोडौँको बिजुली खेर गइरहेको छ

Read Time : > 4 मिनेट
गुरुप्रसाद न्यौपाने
२०७९ मङ्सिर २९ बिहीबार ०८:५५:००

राज्यले नेपालको आर्थिक विकासको आधारका रूपमा कृषि, पर्यटन र जलविद्युत्लाई प्राथमिकतामा राखेको छ । त्यसमा जलविद्युत् तेस्रो स्थानमा छ । हिमालय शृंखलालगायतका कारण नेपालमा पानी प्रशस्त छ । साथै, नेपालको भौगोलिक अवस्था भिरोलो भएका कारण, त्यस पानीबाट सजिलै विद्युत् उत्पादन गर्न सकिन्छ ।

यद्यपि, नेपालमा जलविद्युत् उत्पादनको सम्भाव्यताबारे नयाँ अध्ययन भएको छैन । पुराना अध्ययनहरूले भने ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखाएका छन् । त्यसमा ४३ हजार मेगावाट विद्युत् उत्पादनमा तत्काल लगानी गर्न सकिन्छ । त्यसमा अहिले नेपालमा २३०० मेगावाट विद्युत् मात्रै उत्पादन भइरहेको छ । क्षमताअनुसार विद्युत् हुन धेरै बाँकी छ । तर, नेपालमा विद्युत् उत्पादन उत्साहनजनक रूपमा बढ्दै गएको छ, यो सकारात्मक पक्ष हो । 

नेपालमा विसं २०४९ मा विद्युत् ऐन ल्याएर निजी क्षेत्रलाई विद्युत् उत्पादनमा बाटो खुला गरिएको हो । त्यसको दुई दशकमा निजी क्षेत्रले १३०० मेगावाटभन्दा बढी बिजुली उत्पादन गरिसकेका छन् भने हजारौँ मेगावाटका आयोजना निर्माण तथा अध्ययनको चरणमा छन् । यो एकदमै राम्रो उपलब्धि हो । समग्रमा विद्युत् उत्पादमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । साथै, निजी क्षेत्र जलविद्युत्मा अझै लगानी बढाउन चाहन्छन् । तर, त्यसमा सरकारले लगानीलाई प्रोत्साहन गर्ने लगायतका नीति ल्याएर सहयोग गर्नुपर्छ । यसरी नेपालमा अब विद्युत् उत्पादन बढ्नेमा कुनै शंका छैन । यो त सिक्काको एउटा पाटो मात्रै हो । सिक्काको अर्काे पाटो भने खपत हो । 

विद्युत् उत्पादन र खपतलाई एउटै सिक्काको दुई पाटाको रूपमा हेर्नुपर्छ । तसर्थ, उत्पादन गरेपछि तत्काल विद्युत् खपत गर्न सक्नुपर्छ । तर, नेपालमा उत्पादनअनुसार विद्युत् खपत बढेको छैन । पछिल्ला वर्षमा करोडौँको बिजुली खेर गइरहेको छ, जुन एकदम दुःखद पक्ष हो । यद्यपि, गत वर्षभन्दा यो वर्ष कम विद्युत् खेर गएको बताइन्छ । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष खेर जाने विद्युत् भारतमा बिक्री सदुपयोग गर्‍यो, यो सकारात्मक पक्ष हो । 

नेपालको विद्युत् एकदमै स्वच्छ इनर्जी हो । यसको महत्व संसारभर छ । साथै, संसारमा यसको हाहाकार पनि छ । तर, नेपालमा यही बिजुली खेर गइरहेको छ । जलविद्युत्कै धनी हुन लागेको देशमा विद्युत् खेर जानु, यसको सदुपयोग गर्न नसक्नु दुःखद विषय हो । तसर्थ, अबको मुख्य बाटो भनेको नै विद्युत् खपत बढाउनु हो । 

अहिले नेपालमा विद्युत्को कुल जडित क्षमता २३ सय मेगावाट हारहारी छ । तर, अधिकतम विद्युत् माग भने १७ सय मेगावाट हारहारी छ । त्यसअनुसार विद्युत् उत्पादन र खपतमा ६०० मेगावाटको ग्याप छ । त्यसमा झन्डै ४०० मेगावाट विद्युत् भारतमा बिक्री गरियो । त्यसअनुसार यो वर्ष २०० मेगावाट विद्युत् खेर गयो भने गत वर्ष ५०० मेगावाट विद्युत् खेर गएको थियो । 

चालू आवमा नेपालको कुल विद्युत् जडित क्षमता तीन हजार हाराहारी पुग्ने अनुमान छ । तर, विद्युत् खपत भने त्यसअनुसार बढ्ने सम्भावना एकदमै न्यून छ । दुई–तीन सय मेगावाटभन्दा विद्युत् खपत बढ्ने देखिन्न । यहाँको विद्युत् उत्पादन र खपतको गति (वृद्धिदर) मिलेको छैन । आगामी आवमा भयावह रूपमा विद्युत् खेर जान सक्ने सम्भावना छ, किनकि भारतले पनि पर्याप्त मात्रामा बिजुली नकिन्न सक्छ । 

०८५ भित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । तर, अहिले २३०० मेगावाट विद्युत् उत्पादन हुँदा नै खेर गइरहेको छ । अब थपिने विद्युत् कहाँ लगेर खपत गर्ने ? विद्युको माग स्वतः बढेको छ । तर, उत्पादन भने जेमोर्टिक छ । यस्तो अवस्थामा अब स्वदेशमै विद्युत् खपत बढाउनेतर्फ हामी अग्रसर हुनैपर्छ । 

किन बढ्न सकेन खपत ? :  सरकारले विद्युत् उत्पादनमा निजी क्षेत्रलाई खुला गर्‍यो । वितरण, प्रसारण तथा व्यापार भने सरकारको एकाधिकारमा रह्यो । त्यसले गर्दा पनि प्रगति नभएजस्तो लाग्छ । यदि, विद्युत् प्रसारण लाइन, विद्युत् व्यापारमा निजी क्षेत्रलाई पनि खुला गरेको भए अहिले यो अवस्था आउने थिएन । 

यस्तै, विद्युत् खपत बढाउन सरकारले नारामा राम्रोे कुरा गरेको छ । विद्युतीय चुलो वितरण गर्ने, ग्यासमा अनुदान नदिनेजस्ता नीति ल्याउने पनि भनेको छ । तर, त्यसको कार्यान्वयन फितलो छ । सरकारले हस्तक्षेपकारी भूमिका पनि निर्वाह गर्न सकेको छैन । 

अब के गर्ने ? : सरकारले विद्युत् खपत बढाउन तत्काल विद्युतीय चुलोको प्रयोग बढाउने काम गर्नुपर्छ । विशेष गरी, ठूला सहरमा ग्यास प्रतिस्थापन गरेर विद्युतीय चुलो प्रयोगमा ल्याउने काम गरेमा मात्रै विद्युत् खपतमा ठूलो उपलब्धि हुन्छ । यस्तै, विद्युतीय सवारीसाधनको प्रयोग बढाउन पनि सरकारले जोड दिनुपर्छ । र, त्यसका लागि सरकारले सहुलियतदरमा कर्जा दिनेजस्ता नीति ल्याउनुपर्छ । 

यस्तै, सिँचाइमा पनि विद्युत् खपत बढाउन सकिन्छ । भूमिगत सिँचाइ प्रणालीबाट कैयौँ जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकिन्छ । तर, विद्युत् नहुँदा कृषकहरूले सिँचाइ सुविधासमेत पाउन सकेका छैनन् । तसर्थ, सिँचाइमा विद्युत् प्रणालीको विकास गर्न सके खपत बढाउन सकिन्छ । 

यस्तै, प्रसारण प्रणाली नहुँदा थुप्रै उद्योगले विद्युत् पाउनसकेका छैनन् । तसर्थ, प्रसारण लाइन बनाएर उद्योगमा विद्युत् खपत पुर्‍याउन सरकार अग्रसर हुनुपर्छ । नेपालका फलाम पगाल्ने उद्योग, सिमेन्ट, डन्डी उद्योगलाई थुप्रै विद्युत् चाहिन्छ । तर, त्यस्ता उद्योगले विद्युली पाउन सकेका छैनन् । तसर्थ, सरकारले औद्योगिक क्षेत्रमा तत्काल प्रसारण लाइन बनाउन जोड दिनुपर्छ । यस्तै, औद्योगिक विकास गर्न सकेमा पनि विद्युत् खपत बढ्छ । 

स्वदेशी खपतपछि मात्रै निर्यात : नेपालमा जति विद्युत् उत्पादन हुन्छ, त्यसअनुसार खपत हुन तत्काल सम्भव छैन । दीर्घकालीन रूपमा नै नेपालमा विद्युत् उत्पादन बढी हुन सक्छ । यद्यपि, हाम्रो पहिलो प्राथमिकता स्वदेशी खपत बढाउनमै हुनुपर्छ । त्यसपछि मात्रै भारतलगायतका देशसँग विद्युत् व्यापार गर्नुुपर्छ । नेपालको विद्युत् आफैँमा स्वच्छ छ । यसको आवश्यकता भारत, बंगलादेशजस्ता छिमेकी मुलुकमा बढ्दै गएको छ । तसर्थ, भारत तथा बंगलादेशमा विद्युत् व्यापार गर्ने गरी पनि अघि बढ्नुपर्छ । त्यसमा पनि पहिलो प्राथमिकता भारतीय बजारलाई दिनुपर्छ । भारतलाई बाइपास गरेर अन्य देशमा विद्युत् व्यापार गर्छु भन्नुहुँदैन । 

निजी क्षेत्रलाई पनि विद्युत् व्यापार : हाल नेपाल सरकार स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् व्यापार गर्दै आएका छ । यो आफैँमा राम्रो हो । तर, अब भारतमा विद्युत् व्यापार गर्न निजी क्षेत्रलाई पनि खुला गर्नुपर्छ । निजी क्षेत्रलाई विद्युत् व्यापारमा खुला गरेमा भारतमा योभन्दा अझ बढी र द्रुतगतिमा विद्युत् बिक्री गर्न सकिन्छ । नेपालको बिजुलीका लागि भारत एकदमै ठूलो बजार हो । तर, त्यसमा सरकारले मात्रै विद्युत् व्यापार गर्छु भन्दा सोचेअनुरूप उपलब्धि गर्न सकिँदैन । तसर्थ, अब निजी क्षेत्रलाई पनि भारतलगायतका देशमा विद्युत् व्यापार गर्न बाटो खुला गर्नुपर्छ ।

अब आउने सरकारले के गर्ने ? : चुनावी माहोल सकिएसँगै अहिले नयाँ सरकार बन्ने चरणमा छ । अब आउने सरकारले ऊर्जा क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्छ र निजी क्षेत्रमैत्री नयाँ विद्युत् ऐन ल्याउन अग्रसर हुुनुपर्छ । २०४९ को विद्युत् ऐनले ऊर्जा क्षेत्रको नयाँ आयाम र भविष्यलाई सम्बोधन गरेको छैन । साथै, स्वदेशी, विदेशी लगानीलाई प्रोत्साहन तथा आकर्षण गर्ने ऐन ल्याउनुपर्छ । 

यस्तै, विद्युत् नियमन आयोगलगायतका सरकारी निकायलाई बलियो र क्रियाशील बनाउनुपर्छ । यस्तै, जलाशययुक्त आयोजना बनाउन पनि सरकारले प्रोत्साहन गर्नुपर्छ । नदी प्रवाह (आरओआर)मा आधारित आयोजना बनाएर मात्रै विद्युत् उत्पादनमा पर्याप्त उपलब्धि हासिल गर्न सकिँदैन । तसर्थ, अब जलाशययुक्त आयोजना बनाउन अग्रसर हुनुपर्छ । बुढीगण्डकी, तमोरलगायतका प्रस्तावित जलाशययुक्त आयोजना बनाउन सरकारले निजी क्षेत्रलाई सँगसँगै अगाडि बढाउनुपर्छ । अब निजी क्षेत्र र सरकार नै मिलेर जलविद्युत्को विकास गर्ने हो । हामीले छिटोभन्दा छिटो जलाशययुक्त आयोजना बनाउन जोड दिनुपर्छ । 

निष्कर्ष :  समग्रमा नेपालमा विद्युत् उत्पादनको सम्भावना उच्च छ । विद्युत् उत्पादन बढेको पनि छ । तर, खपत भने बढेको छैन । यद्यपि, नेपालमा खपतको सम्भावना प्रबल छ । तर, त्यसका लागि सरकारले धेरै काम गर्नुपर्छ । अबका दिनमा उद्योग, यातायात, भान्सा, पर्यटनलगायतका क्षेत्रलाई विद्युतीकरण गर्ने गरी सरकार अग्रसर हुनुपर्छ । त्यसमा निजी क्षेत्र पनि हातेमालो गर्न तयार छ ।