मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : निकोलस कजोबा/एनाडोलु, एजेन्सी
रे मवारे
२०७९ मङ्सिर २५ आइतबार १०:४०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सम्भव छ एचआइभीमुक्त विश्व, तर... 

Read Time : > 2 मिनेट
रे मवारे
२०७९ मङ्सिर २५ आइतबार १०:४०:००

देश/विदेश

एचआइभीमुक्त विश्व सम्भव भए पनि संक्रमितको जीवन जोगाउने सिएबी–एलए औषधि अझै उच्च जोखिममा रहेका मानिसमाझ पुग्न सकेको छैन

रे मवारे

सन् २०३० सम्ममा बेलायती स्वास्थ्य अधिकारीले इंग्ल्यान्डमा एचआइभीका सबै नयाँ संक्रमण रोक्ने योजना बनाएका छन् र योजना सफल भए इंग्ल्यान्ड ‘एचआइभीलाई पराजित’ गर्ने पहिलो राष्ट्र हुनेछ । अधिकारीले औषधि कम्पनीसँग हस्ताक्षर गरेका धेरै नयाँ सम्झौताबाट राष्ट्रभरि नयाँ औषधिको पहुँच प्रत्याभूत गर्नेछ । यसबाट निश्चय नै इंग्ल्यान्डका जनतालाई लाभ हुनेछ । यद्यपि, हामीले कोभिड–१९ महामारीपछि एउटा मुलुक मात्रैले भाइरसलाई ‘पराजित’ गर्न सक्दैन भन्ने पाठ सिकेका छौँ । भाइरसलाई सीमाले छेक्न सक्दैन । तसर्थ, महामारीलाई स्थानीयस्तरमा औषधि कम्पनीसँगको सम्झौताले नभई वैश्विक ऐक्यबद्धताले पराजित गर्न सकिन्छ ।     

आज विश्वव्यापी रूपमा एचआइभीलाई पराजित गर्न वास्तवमै बजारमा रहेका र विकास भइरहेका चमत्कारी नयाँ औषधि तथा उपचार हामीसँग छ, तर यसका लागि हामीले मिलेर काम गर्नुपर्छ । विश्वका जुनसुकै कुनामा आवश्यकता परेका हरेकलाई औषधि उपलब्ध गराइनुपर्छ । यसका लागि उल्लिखित औषधि एवं उपचार पद्धतिलाई विश्वका हरेक कुनाका संक्रमितमाझ पुर्‍याउन अपरिहार्य छ । इंग्ल्यान्डले अबको १० वर्षभित्रै एचआइभीलाई ‘पराजित’ गर्ने लक्ष्य सुईबाट लगाउन मिल्ने औषधि क्याबोटेग्राभिरमा आधारित छ । औषधि उपचारका लागि मात्र नभई रोकथामका लागि पनि उपयोगी छ । जुलाई २०२२ मा विश्व स्वास्थ्य संगठनले एचआइभीका लागि प्रि–एक्सपोजर प्रोफिलेक्सिसका रूपमा लङ–एक्टिङ इन्जेक्टेबल क्याबोटेग्राभिर (सिएबी–एलए) प्रयोगको दिशानिर्देश जारी गर्दै ‘एचआइभी संक्रमणको पर्याप्त जोखिममा रहेका मानिसका लागि यो सुरक्षित र अत्यधिक प्रभावकारी रोकथामको विकल्प हो’ भनेको थियो । यसलाई एचआइभीविरुद्धको लडाइँमा सम्भावित उलटफेर गर्ने औषधि मानिन्छ । यसले द्विमासिक सुईमार्फत पर्याप्त सुरक्षा प्रदान गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रारम्भिक ‘र्‍यान्डोमाइज्ड’ परीक्षणले सिएबी–एलएको प्रयोगले मौखिक क्याबोटेग्राभिर औषधि प्रयोगको तुलनामा एचआइभी जोखिममा ७९ प्रतिशत कमी ल्याएको छ ।  

सबै परिस्थितिले सिएबी–एलएमा एड्सलाई इतिहासको रद्दीको टोकरीमा सीमित पार्न मद्दत गर्ने क्षमता रहेको संकेत गरेको छ । तर, जीवन बचाउने यो औषधि आवश्यक सबैमाझ पुर्‍याउने लडाइँ हालसालै सुरु भएको छ । सबैभन्दा बढी उपयुक्त एचआइभी रोकथाम औषधि अझै पनि एचआइभीको उच्च जोखिममा रहेका मानिसमाझ पुग्न सकेको छैन ।

पहिले जीवन त्यसपछि नाफा : भिआइआइभी हेल्थकेयर ठूला औषधि कम्पनी फाइजर, ग्लाक्सोस्मिथ क्लाइन र सिओनोगीसँग सम्बद्ध छ, जसले सिएबी–एलए औषधि उत्पादन एवं औषधिको सर्वाधिकार राख्छ । भिआइआइभी हेल्थकेयर अन्य औषधि कम्पनीजस्तै नाफामुखी संस्था हो । यही कारणले सिएबी–एलए व्यापक एवं सुपथ रूपमा उपलब्ध गराइएको छैन । कम्पनीले सुरुमा ‘उत्पादन जटिलता, नियामक आवश्यकता, पुँजी लगानी आवश्यकता र अप्रत्याशित बजार अवस्था’ उल्लेख गर्दै विकासोन्मुख मुलुकका जेनेरिक उत्पादकलाई सिएबी–एलएको जेनेरिक उत्पादन गर्न स्वैच्छिक इजाजतपत्र दिन अस्वीकार गरेको थियो । नागरिक समाज संगठन, अभियन्ता र चिकित्सा संगठनको तीव्र विरोधपछि कम्पनीले आफ्नो निर्णय उल्ट्यायो र जुलाई २०२२ मा ९० वटा निम्न र निम्न–मध्यम आय भएका मुलुकमा राष्ट्र संघ समर्थित मेडिसिन प्याटेन्ट पूलबाट जेनेरिक औषधि उत्पादन गर्ने अनुमति दियो । 

स्वैच्छिक इजाजतपत्र सम्झौताको समाचारलाई सबैले उत्साहसाथ स्वागत गरे । यद्यपि, आवश्यक पर्ने सबैको औषधिमा पहुँच पुग्न सकेको छैन । जेनेरिक औषधि उत्पादकले सिएबी–एलएको अन्तिम तयारी उत्पादन गर्न चारदेखि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । धेरै राष्ट्रसँग अझै केही वर्ष सुपथ मूल्यमा सिएबी–एलएमा पहुँच नहुने देखिन्छ र औषधि आपूर्तिका लागि बजार भिआइआइभीमै निर्भर हुनुपर्छ । 

भिआइआइभीले निम्न आय भएका विकासोन्मुख राष्ट्र विशेषतः सबैभन्दा बढी एचआइभी संक्रमण भएका सब–सहारा अफ्रिका क्षेत्रमा ‘लागत मूल्य’मा औषधि बिक्री गर्ने नीति भएको घोषणा गरेको छ । कम्पनीले सिएबी–एलएको मूल्य अझै पनि औपचारिक रूपमा घोषणा गरेको छैन । भिआइआइभीले जुलाई २०२२ मा मेडिसिन्स साइन्स फ्रन्टियर्सलाई प्रतिवर्ष प्रतिव्यक्ति दुई सय १० देखि दुई सय ४० डलरसम्मको नाफारहित मूल्य निर्धारण गरेको र ‘कुनै पनि समयमा (मूल्य) परिवर्तन हुन सक्ने’ बताएको छ । यो मूल्य क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभ –चाई) अनुसार जेनेटिक औषधिभन्दा १० गुणाले बढी हो । सबैभन्दा धेरै आवश्यक पर्ने राष्ट्रमा यो उलटफेर गर्ने सुई उपलब्ध गराउन ढिला हुँदा हजारौँ नयाँ एचआइभी संक्र्रमण निम्तिन सक्छ, जसलाई रोक्न सकिन्थ्यो । विडम्बना ! भिआइआइभी हेल्थकेयरको नीति आममानिसअनुकूल छैन । 

भिआइआइभीजस्ता ठूला औषधि कम्पनीले नाफा जोगाउन एचआइभी महामारीको सुरुवातदेखि नै दक्षिणी गोलार्धमा उलटफेर गराउने औषधिको पहुँचमा अवरोध पुर्‍याउँदै आएका छन् । सन् १९९० मा जब दक्षिणी अफ्रिकी क्षेत्रमा एड्सका कारण जन्मदरभन्दा मृत्युदर बढी हुने गरी फैलिएको महामारीमा अमेरिकाको सयभन्दा बढी औषधि कम्पनीको संस्था फार्मास्युटिकल रिसर्च एन्ड मान्युफ्याक्चरर्स अफ अमेरिकाले आक्रामक रूपमा अफ्रिकी संक्रमितलाई जेनेरिक औषधि उपलब्ध नगराउन लबी नै गरेको थियो । स्मरण रहोस्, दक्षिण अफ्रिकामा जेनेरिक औषधि निर्माण गर्ने प्रयास गरिएको थियो । अमेरिकी औषधि कम्पनीको लबी र तत्पश्चात्को कानुनी लडाइँले भाइरस नियन्त्रण गर्न एवं रोक्न सकिने असंख्य मृत्यु रोक्नमा ठूलो बाधा–व्यवधान निम्त्याएको थियो । 

अहिले पनि दोहोर्‍याएर हामी यो दुःखद इतिहास निम्त्याउन सक्दैनौँ । सिएबी–एलए इंग्ल्यान्डका लागि मात्र नभई सारा विश्वका लागि एचआइभीविरुद्ध लड्ने हतियार हो । हामीलाई यो औषधि सुपथ मूल्यमा एक दशकपछि नभई आजै चाहिएको छ ।  

(मवारे वर्ल्ड इथिकल डाटा फाउन्डेसनका शोधकर्ता एवं प्रविधि क्षेत्रका पत्रकार हुन्)
अल जजिराबाट