मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दीपक भट्ट रामेछाप
२०७९ मङ्सिर २३ शुक्रबार १२:२७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बाँदर लड्ने भिर’मा विद्यालय, बालबालिका जोगाउनै मुस्किल

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ मङ्सिर २३ शुक्रबार १२:२७:००

बिहान विद्यालय पठाएका बालबालिका छुट्टी भएपछि बेलुकी सकुशल घर फर्कन्छन् कि फर्कँदैनन् भन्ने चिन्तामा हुन्छन् मन्थली– ६ स्थित भीमेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक। विद्यालय भवन ‘बाँदर लड्ने’जस्तो भिरालो जमिनमा भएकाले भलुवाजोरस्थित डाँडाखर्कका अभिभावकलाई दिनहुँ चिन्ताले सताउँछ। त्यसमाथि विद्यालयपरिसरमा घेराबारसमेत गरिएको छैन।

सुरक्षित भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासन तथा व्यवस्थापन, छात्रामैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्षा, इन्डाेर र आउटडोर खेल मैदानलगायत हरेक विद्यालयको न्यूनतम आधारभूत आवश्यकता हुन्। तर, भूमेश्वरको भने विद्यालय भवनसमेत भिरमा छ।

शिक्षकहरूलाई पनि विद्यार्थीलाई पढाउनभन्दा धेरै ध्यान उनीहरूलाई जोगाएर सकुशल घर पठाउनमा दिनुपर्ने बाध्यता छ। विद्यालयवरपर तारबार नहुँदा कतिखेर दुर्घटना हुने हो भन्ने चिन्ताले सताइरहने बताउँछिन् शिक्षिका लक्ष्मी सुवेदी। ‘जग्गा अभाव भएकाले भिरालो ठाउँमा विद्यालय भवन निर्माण भएको छ। विद्यार्थीलाई पढाउनुभन्दा पनि कसरी जोगाएर घर पठाउनु भन्ने सधैँ पिरलो हुन्छ,’ उनले भनिन्, ‘विद्यालय आएका बालबालिका लड्ने हुन् कि भनेर दिनभर कक्षाकोठामा थुनेर राख्नुपर्ने बाध्यता छ।’

विद्यालयमा शौचालय र खानेपानीको समस्या उस्तै छ। विद्यार्थीले घरबाटै बोतलमा पानी लिएर आउँछन्। शौचालय नहुँदा बालबालिका खेतबारी वा जंगल जान विवश छन्। विद्यालयको यो अवस्थाबारे व्यवस्थापन समिति, वडा कार्यालय वा नगरपालिका कसैले पनि ध्यान दिएका छैनन्।

विद्यालय पठाएका बालबालिका बेलुकी सकुशल घर आउँछन् कि आउँदैनन् भन्ने चिन्ताले दिनभरि सताइरहने अभिभावक रामचन्द्र घिमिरेले बताए। ‘स्थानीय सरकार छ भन्नु मात्रै छ। विद्यालयको यो बिजोग छ। कलिला बालबालिकालाई विद्यालय पुग्नै गाह्रो छ,’ उनले भने।

विद्यालय भवन बनाउने जमिन नभएर भिरालो जमिनमा भवन निर्माण गरेकाले समस्या भएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बताए। तत्काललाई विद्यालयवरपर घेराबार गर्ने तथा पछि पायक पर्ने र सहज ठाउँमा विद्यालय सार्ने विषयमा शिक्षा समिति, विद्यालय सञ्चालन तथा व्यवस्थापन समिति र अभिभावकसँग पनि छलफल गरेर अघि बढ्ने तयारी भइरहेको उनले प्रस्ट पारे।