मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर २३ शुक्रबार ०९:०८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पेरूमा संसद् विघटन गर्ने खोज्ने राष्ट्रपति बर्खास्तपछि हिरासतमा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २३ शुक्रबार ०९:०८:००

 पेरूका वामपन्थी राष्ट्रपति पेड्रो क्यास्टिलोलाई सांसदहरूले महाभियोगमार्फत अपदस्थ गरेका छन् । राजनीतिक उथलपुथलले लामो समयदेखि प्रभावित पेरूमा राष्ट्रपति क्यास्टिलो अपदस्थपछि पक्राउ परेका विवरण सार्वजनिक भएका छन् ।

क्यास्टिलोले संसद् विघटनको प्रयास गरेको केही समयपछि नै ६० वर्षीय वकिल दिना बोलुअर्टेलाई पेरूको पहिलो महिला राष्ट्रपतिको रूपमा शपथ गराइएको छ । क्यास्टिलोको कदमलाई ‘कु’को प्रयासका रूपमा आलोचना गर्दै महाभियोग लगाएको दुई घन्टाभित्रै बोलुअर्टेलाई संसद्सामु शपथ दिलाइएको थियो । अब उनी सन् २०२६ को जुलाईसम्म पदमा रहनेछिन् ।

१८ महिनाअघि सम्पन्न निर्वाचनमा पेरूको परम्परागत राजनीतिक सम्भ्रान्त वर्गबाट अप्रत्याशित रूपमा सत्तामा पुगेयता क्यास्टिलोले तीनपटक महाभियोगको सामना गर्नुपरेको थियो । तेस्रो महाभियोग प्रयासले उनलाई पदबाट अपदस्थ मात्रै गरेन, उनी ‘कु’ प्रयासको आरोपमा हिरासतमै पुगे । देशवासीका नाममा टेलिभिजनबाट गरिएको सम्बोधनमा ५३ वर्षीय क्यास्टिलोले आफूले विपक्षीको बाहुल्य रहेको संसद् विघटन गर्ने, कफ्र्यु लगाउने र अध्यादेशबाट शासन चलाउने घोषणा गरेका थिए ।

उनको सम्बोधनलाई लिएर तत्कालै आलोचनाहरू खनिन थालेपछि सांसदहरू महाभियोग प्रस्तावमाथि बहस गर्न पूर्वनिर्धारित समयभन्दा अगावै भेला भए र महाभियोगमाथि छलछल गरी पारित गरे । कुल एक सय ३० सांसदमध्ये एक सय एकले महाभियोगको पक्षमा मतदान गरे ।

कास्टिलो सन् २०१८ यता शक्तिको अभ्यास गर्न ‘नैतिक रूपले असक्षम’ भएको आरोपमा बर्खास्त हुने तेस्रो राष्ट्रपति हुन् । ६ थान छानबिन, पाँचपटकको मन्त्रिपरिषद् हेरफेर र ठूला आन्दोलनलगायत संकटका शृंखलापछि क्यास्टिलोमाथि महाभियोग लगाइएको थियो ।

कुनै गैरकानुनी कदमभन्दा पनि राजनीतिक आधारमा नै राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन सकिने संवैधानिक प्रावधानका कारण पेरूमा महाभियोग लगाउनु आमपरिघटना बन्ने गरेको छ । क्यास्टिलोलाई बुधबार साँझ गिरफ्तार गरिएको सरकारी भ्रष्टाचारविरुद्ध कारबाही गर्ने अभियोजकहरूको समूहको संयोजक मारिता ब्यारेटोले बताए । पेरू राजनीतिक अस्थिरताका लागि परिचित देश हो ।

कास्टिलो सन् २०१८ यता शक्तिको अभ्यास गर्न ‘नैतिक रूपले असक्षम’ भएको आरोपमा बर्खास्त हुने तेस्रो राष्ट्रपति हुन्

सन् २०२० मा पाँच दिनमा यहाँ तीनजना राष्ट्रपति बनेका थिए । अहिले यो देशले सन् २०१६ पछि छैटौँ राष्ट्रपति पाएको छ । महाभियोगपछि र गिरफ्तारीको आधिकारिक घोषणा हुनुअघि क्यास्टिलो अंगरक्षकको साथ राष्ट्रपति भवनबाट बाहिर निस्किएका थिए । त्यसपछि उनी प्रहरी मुख्यालय पुगेका थिए । उनका समर्थकले महाभियोगको आलोचना गरेका छन् ।

क्यास्टिलो सन् २०२१ को जुनमा सम्पन्न चुनावमा भ्रष्टाचारको आरोपमा सजाय पाएका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी दक्षिणपन्थी केको फुजिमोरीविरुद्ध ५०.१२ प्रतिशत मतसहित विजयी भएका थिए । एउटा सानो गाउँमा जन्मिएका कास्टिलोले २४ वर्ष शिक्षकको रूपमा काम गरेका थिए । सन् २०१७ मा राष्ट्रिय आमहडतालको नेतृत्व गर्नुअघि उनी धेरै हदसम्म अपरिचित थिए । उनले नेतृत्व गरेको आन्दोलनले तत्कालीन सरकारलाई माग पूरा गर्न बाध्य तुल्याएको थियो ।

राष्ट्रपति निर्वाचन अभियानमा धेरैजसो समय घोडामा यात्रा गर्दै र भ्रष्टाचार अन्त्य गर्ने वाचा गर्दै कास्टिलोले आफूलाई जनताको विनम्र सेवकको रूपमा चित्रण गर्न खोजेका थिए । तर, चाँडै उनीविरुद्ध आरोपहरूको बाढी उर्लियो । उनले कथित भ्रष्टाचार र न्यायको अवरोधदेखि विश्वविद्यालयका थेसिस चोरीसम्मका आरोपको सामना गरिरहेका छन् । पेरूका महान्यायाधिवक्ताले क्यास्टिलोले आफ्नो परिवार र सहयोगीको संलग्नता रहेको एउटा आपराधिक संगठनको नेतृत्व गरेको आरोप लगाउँदै अक्टोबरमा उनीविरुद्ध संवैधानिक उजुरी गरेका थिए । अनुसन्धान उनलाई सत्ताच्युत गर्ने षड्यन्त्रको एउटा अंश भएको क्यास्टिलो र उनका वकिलहरूले तर्क गर्ने गरेका छन् ।