१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार ०७:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरकारी तथा निजी कार्यालयले फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २२ बिहीबार ०७:३३:००

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न निर्देशन दिएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले ३५ दिनभित्र आ–आफ्नो कार्यालय र परिसरमा उत्पादन हुने फोहोर आफैँ व्यवस्थापन गर्न अल्टिमेटम दिएको हो । 

महानगरद्वारा जारी सूचनामा सरकारी संस्थान, प्रतिष्ठान, गैरसरकारी संस्था, स्वास्थ्य तथा शैक्षिक संस्था, कम्पनीलगायत सबैखाले कार्यालयले उत्पादन गर्ने फोहोर जथाभावी नफाल्न महानगरले आग्रह गरेको छ । यस्ता कार्यालयहरूले उत्पादन गरेको फोहोर महानगरका कन्टेनर भए ठाउँसम्म आफैँ पु¥याउनुपर्नेछ । यस्तै, धेरै फोहोर उत्पादन गर्ने र फरक किसिमको फोहोर उत्पादन गर्ने संस्थाहरूले आफैँ व्यवस्थापन गर्नुपर्नेछ । 

महानगरका अनुसार ३५ दिनपछि उक्त सूचना कार्यान्वयन हुनेछ । उनीहरूले नियमित रूपमा कार्यालय परिसर सफा गर्नुपर्नेछ । कार्यालयबाहिर फोहोर थुपार्न पाउनेछैनन् । ‘फोहोर व्यवस्थापन गर्नु हरेक व्यक्ति तथा निकायको कर्तव्य हो,’ महानगरद्वारा जारी सूचनामा भनिएको छ, ‘फोहोरमैला व्यवस्थापन ऐन ०६८ तथा ऐन, नियमावली २०७० को कानुनी व्यवस्थाबमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयले आ–आफ्नो परिसरको फोहोरमैला आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’

नियम कार्यान्वयन नगर्नेलाई दण्ड सजाय हुने चेतावनीसमेत दिएको छ । साथै, फोहोर व्यवस्थापनका लागि लागेको खर्च पनि सम्बन्धित कार्यालयहरूबाटै असुलिने महानगरले जनाएको छ । 

काठमाडौं उपत्यकामा दैनिक झन्डै दुई सय कन्टेनर अर्थात् एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसअघि ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाको अवरोधका कारण फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको थियो । उपत्यकाबाट दैनिक दुई सय कन्टेनर फोहोर ल्यान्डफिल साइट लैजाने गरिएको छ । 

कार्यालयका कवाडी तथा थोत्रा सामान व्यवस्थापन गर्न आग्रह
महानगरकी वातावरण विभाग प्रमुख सरिता राईले सरकारी कार्यालय परिसर फोहोर र प्रदूषित भएकाले यस्तो सूचना जारी गरिएको बताइन् । ‘सरकारी कार्यालय फोहोर छन्, ती कार्यालयहरूमा थोत्रा सामान र फोहोर थुप्रिएको देखिन्छ, त्यसले कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा असर पार्छ,’ उनले भनिन्, ‘हामीसँग सहकार्य गरेर उनीहरूले आ–आफ्नो फोहोर व्यवस्थापन गर्नुपर्छ ।’ उनले सरकारी कार्यालयको गोदाममा थुपारिएको अनावश्यक र थोत्रा सामान हटाउनुपर्ने बताइन् । यस्तै, कतिपय कार्यालय परिसरमा कवाडी र थोत्रा सामान थुपारिएको छ ।