मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर २१ बुधबार ०६:५६:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टाइब्रेकरमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार ०६:५६:००

अफ्रिकन राष्ट्र मोरक्कोले मंगलबार राति पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । अफ्रिकन राष्ट्र मोरक्को विश्वकपको अन्तिम आठमा पहिलोपटक प्रवेश गरेको हो । 

विश्वकप इतिहासमा चार अफ्रिकन राष्ट्रले मात्र क्वार्टरफाइनल स्थान सुरक्षित गरेका छन् । सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल तथा सन् २०१० मा घानाले अन्तिम आठको स्थान पक्का पारेका थिए । यद्यपि, अहिलेसम्म अफ्रिकन राष्ट्रहरू सेमिफाइनल पुगेका छैनन् । विश्वकप इतिहासमै क्वार्टरफाइनल पुग्ने चौथो अफ्रिकन राष्ट्र मोरक्कोले अब पोर्चुगल र स्विट्जरल्यान्डबीचको विजेताविरुद्ध सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । 

निर्धारित ९० मिनेटमा तथा अतिरिक्त ३० मिनेटमा स्पेन र मोरक्कोले गोलरहित बराबरी खेलेका थिए । चालू विश्वकपमा ब्याक टु ब्याक नकआउट चरणको छिनोफनो टाइब्रेकरबाट भयो । सोमबार राति क्रोएसिया र जापानबीचको नतिजा पनि टाइब्रेकरबाटै आएको थियो । सन् २०१० को विजेता स्पेनविरुद्ध मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट प्रदर्शन गरेका थिए । टाइब्रेकरमा खेल पुग्दा स्पेनिस खेलाडी ‘नर्भस’ देखिन्थे । मोरक्कोका गोलरक्षक बोनो र खेलाडी आत्मविश्वासका साथ टाइब्रेकरमा उत्रिए । 

स्पेनका खेलाडीले टाइब्रेकरको तनाव सामना गर्न सकेनन् । युरोपियन लिगमा आबद्ध स्पेनिस खेलाडी साराबिया, सोलेर तथा सर्जियो बुस्केट्सले पेनाल्टी मिस गरे । जसमध्ये मोरक्कोका गोलरक्षक बोनोले दुई पेनाल्टी छेके । टाइब्रेकरमा मोरक्कोका अब्देल हामिद साबिरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । बदर बनोउनेलेको पेनाल्टी प्रहारलाई स्पेनिस गोलरक्षकले छेकेका थिए । 

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । पाब्लो साराबियाको सुरुवाती प्रहार पोस्टमा लाग्यो । कार्लाेस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई मोरक्कोका बोनोले उत्कृष्ट ढंगले बचाएका थिए । मोरक्कोका खेलाडी हाकिमी चौथो पेनाल्टी प्रहार गर्न आएका थिए । उनले सहजै गोल गरी मोरक्कोलाई ऐतिहासिक रूपमा अन्तिम आठको स्थान सुरक्षित गराए । 

टाइब्रेकरमा स्तब्ध नतिजा बेहोरेको स्पेनिस खेलाडी र प्रशिक्षक एन्रिक निराश देखिए । त्यहीँ नै विजयी टोली मोरक्कोका खेलाडीले गोलरक्षक बोनोसँग जितको खुसी मनाए ।