१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २० मंगलबार ११:१५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

विवाहको मौसम : महिलालाई सुहाउँछ यस्तो पहिरन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २० मंगलबार ११:१५:००

फेसन टिप्स

महिलामा फेसनेबल देखिने रहर पुरुषको तुलनामा धेरै हुन्छ । उनीहरू पार्टीमा जाँदा सिँगारिएर जान रुचाउँछन् । त्यसैले आकर्षक पहिरनदेखि मेकअपसम्ममा उनीहरू चुजी हुन्छन् । अहिले विवाहको मौसम चलिरहेको छ र विवाह पार्टीमा कस्तो पहिरन लगाएर जाने भन्ने विषयमा धेरैलाई चासो छ । पछिल्लो समय महिलाका लागि नयाँ–नयाँ पार्टी वेयर बजारमा भित्रिएका छन् । तपाईंलाई कस्तो डिजाइन सुहाउँछ भन्ने कुरा स्किन टोन र तपाईंको शारीरिक वनावटमा भर पर्छ । त्यस्तै, कस्तो कलर रोज्ने भन्ने विषय पनि महत्वपूर्ण हुन्छ । 

डिजाइन 
रातको समयमा डार्क कलरको पहिरन सुहाउँछ । दिउँसोको पार्टीका लागि हल्का र उज्यालो रङका पहिरनमा राम्रो देखिन्छ । विवाहको पार्टीका लागि महिलाहरूको रोजाइमा लेहेंगा र साडी धेरै पर्ने गरेको छ । जाडो महिना भएकाले भेल्भेटको साडी र चोली धेरैको रोजाइमा पर्छ । परम्परागत कपडा लगाउन चाहनेहरूले ढाकाको चोली र साडी पनि लगाउँछन् ।

यसमा नेपालीपन पनि झल्कन्छ । विवाहित र अविवाहित सबैका लागि म्याच हुने विभिन्न लेहेंगाको डिजाइन पनि अहिले लोकप्रिय छ । साडी–चोलोको पुरानो चलनमा पनि उत्तिकै परिवर्तन आउन थालेको छ । त्यसको साटो लेहेंगा तथा विभिन्न डिजाइनका कुर्ता लगाउने चलन बढेको छ । 

भेल्भेटमा ह्यान्डवर्क गरेको र प्लेन जर्जेट, प्लेन सिल्कमा हातले बुट्टा भरेको कपडा पनि उत्तिकै चलेका छन् । यद्यपि, रेडिमेड कपडामा पनि हातले बुट्टा भरेर पनि नयाँ लुक्स दिएर लेहेंगा, सारी र गाउनको डिजाइन दिन सकिन्छ । रेडिमेड लेहेंगा, सारी, गाउन पनि निकै राम्रो देखिन्छ । 

रङ 
पहेँलो, गुलाबी, कलेजीलगायत रातोभन्दा फरक र कम चम्किला कपडा छनोट गर्दा राम्रो हुन्छ । रातिको पार्टीका लागि डार्क कलरमा साइनिङ दिने फ्याब्रिक छनोट गर्दा उत्तम हुन्छ । यदि दिउँसो पार्टीका लागि हो भने लाइट कलरको कपडा छान्दा राम्रो हुन्छ । धेरै साइनिङ दिने पहिरन लगाउनु हुँदैन ।

मेहदी सेलिब्रेसनको पहिरन
पछिल्लो समय नेपालीहरूको विवाह भारतीय शैलीमा हुन थालेको छ । अर्थात्, यो धेरै दिन चल्ने गरेको छ । यस्तो अवस्थामा पार्टीमा जानेहरूले पनि कुनै दिन लेहेंगा, कुनै दिन सारी र कुनै दिन गाउन लगाउँछन् । विवाहमा मेहदी सेलिब्रेसन, प्रिम्यारिज, विवाह र विवाहपछिका विशेष कार्यक्रम मनाउन थालिएको छ ।

मेहदी कार्यक्रममा लेहेंगा, सारी, कुर्ता–सुरुवाल र गाउन लगाउन सकिन्छ । यसमा विशेषगरी कलर कम्बिनेसनमा ध्यान दिनुपर्छ । हरियो, पहेँलो, रानी, पेस्टा ग्रिन, मेहदीको रङसँग मेल खाने पहिरन लगाउँदा राम्रो देखिन्छ । 

रिसेप्सन पार्टी पहिरन
पछिल्लो समय विवाह विभिन्न चरणमा हुने गरेका छन् । विवाहपछि गरिने भोजका वेला लगाइने पहिरनलाई रिसेप्सन पहिरन भनिन्छ । विवाहको रिसेप्सन पार्टीमा आफन्तबाहेक अन्य पाहुनालाई समेत बोलाइने गरिन्छ । यस्तो पार्टीमा दुलहा–दुलही मात्रै नभएर पाहुनाले पनि पहिरनमा विशेष ध्यान दिने गर्छन् । यसका लागि बुटिक गएर डिजाइनरको सल्लाहअनुसार पहिरन छनोट गर्दा राम्रो हुन्छ ।

धेरैजसो महिलाको रोजाइमा भने लेहेंगा पर्ने गरेको छ । यो लगाउन सजिलो पनि हुन्छ, सारीजस्तो झन्झट हुँदैन । रिसेप्सनमा नाच्न पनि सजिलो हुन्छ । सारी, गाउन पनि रिसेप्सन पार्टीका लागि लगाउन मिल्छ । डिजाइनअनुसार कसरी क्यारी गर्ने भन्ने महत्वपूर्ण हुन्छ ।