मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
झरना केसी काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार १८:३९:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

जाडो महिनामा योगको महत्व

Read Time : > 3 मिनेट
झरना केसी, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार १८:३९:००

योग गर्ने व्यक्तिमा शारीरिक, मानसिक अनि आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला मात्र विकास हुँदैन, बोलीचाली, रहनसहन, खानपान र दैनिक चालचलनमा नै परिवर्तन आउँछ। 

योगले शरीर र मनलाई परमात्मासँग जोड्ने हुँदा यसलाई ‘जोड’ पनि भनिन्छ। योग जातपात, धर्म सम्प्रदाय, वर्ग, उमेर, लिंग र समय आदि कुराहरूमा सीमित घेराभित्र पर्ने होइन वा सीमांकन घेराभित्र रहने होइन। योग सबैका लागि काम लाग्ने सार्वभौम सनातन विषय हो। 

योग गर्दैमा योगी त अवश्य बनिन्छ तर जोगी बनेर घरसंसार छोडेर हिँड्नुपर्ने होइन। हिँड्नु मूर्खता पनि हो। घरगृहस्थीमा रहेर पनि हामी योग गर्न सक्छौँ, योगी बन्न सक्छौँ। योग विज्ञान विधाअनुसार जीवनशैली बनाउनेलाई योगी भनिन्छ। मानिस जुन मार्गमा पेसा वा कर्म गरिरहेको छ, त्यहीँबाट हामीले योगको ऊर्जा लिन सक्छौँ र जीवन सन्तुलित बनाउन सक्छौँ। 

भगवान कृष्णले पनि भन्नुभएको छ, ‘आफ्नो कर्मको त्याग होइन, आफ्नो कर्म पनि गर्ने र ईश्वरको नाम पनि लिने।’  यसको अर्थ, हामीले गृहस्थीमा रहेर, मानव समाजमा पनि रहेर विविध आसन, अभ्यास, साधना आदि माध्यमबाट मन र शरीरलाई परमात्मासँग जोड्न सकिन्छ। शारीरिक, मानसिक अनि आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला सयौँ योग गर्ने व्यक्तिमा बोलीचाली, रहनसहन, खानपान र दैनिक चालचलनमा विस्तारै परिवर्तन आउँछ। योग रोगीहरूका लागि एक उपचार पद्धति हो भने योगीहरूका लागि मुक्तिको साधना पद्धति हो । 

बदलिँदो जीवन शैलीसँगै मानिसको जनजीवन नै भागदौडमा छ। आफ्नो लागि समय निकाल्ने समय पनि छैन। यदि समय भए पनि विभिन्न सामाजिक सञ्जालहरूमा झुुम्मिने मानिसको आदत बनिसक्यो। बरु रोग लागेर महँगो महँगो अस्पताल गएर औषधि खान तयार हुन्छन् तर शारीरिक व्यायाम गरेर शरीरलाई दुःख दिन चाहँदैनन्। 

रोग लागिसकेपछि रोगअनुसारको औषधि खान तयार हुन्छन् तर रोग कसरी लाग्यो भनेर सिस्टम सुधार्न चाहँदैनन्। तसर्थ शरीर, मन, भावना, चेतना सबैसँग हुन्छ स्वास्थ्य बन्न सबै चाहन्छन्, २४ घन्टामा एक डेढ घन्टा हामीले शरीरलाई समय दियौँ भने बाँकी २२,२३ घन्टा त चार्ज भएर हामीलाई सन्तुलनमा राख्दछ। जसरी मोबाइल चार्ज गरिन्छ त्यस्तै हो शरीर, मन, चेतना र भावना यसलाई पनि दैनिक योग, प्राणायाम अनि ध्यानले चार्ज पनि अति नै जरुरी छ। 

 

योगले शरीर सन्तुलनमा राखी विकारहरूलाई बाहिर निकाल्ने काम गर्छ। रोग लाग्न नदिने वातावरण सिर्जना गर्दछ। शरीर स्वस्थ राखी श्वासप्रश्वासको गतिलाई बढाई भाव सन्तुलनमा राख्दछ। योग साधनाले कुनै पनि विचलित मन वा विचारलाई शान्त बनाई शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्ने एक मात्र उपाय भनेको योग हो। योगबलले मानिसलाई केही काम गरी छाड्ने उत्साह हृदयमा तपाईंको ऊर्जालाई झ–झल्काउँछ र मस्तिष्कमा नयाँनयाँ कामको सिर्जना ल्याउँछ। कुनै पनि महान कार्य सम्पादन गर्ने संकल्प अगाडि बढाउन सहयोग गर्छ आदि। 

जाडोमा योग
जाडो महिनामा चिसोको कारण शरीर निष्क्रिय हुन्छ, चिसो हुनाले हामीलाई आफ्नो ओछ्यान वा ताता लुगाहरूभित्र माया गरी जतनले शरीरलाई राख्छौँ, यसले गर्दा शरीरको आलस्य बढ्दै जान्छ। चिसो मौसम हुने हुनाले चिया कफीको साथसाथै खाना पनि अरू वेलाभन्दा बढी रुच्ने र शरीरको तौल वा बोसो बढ्ने हुन्छ। 

योग रोगीहरूका लागि एक उपचार पद्धति हो भने योगीहरूका लागि मुक्तिको साधना हो। 

परिश्रम कम हुने हुनाले पसिना निस्कन पाउँदैन। शरीरका रक्तसंचार, श्वासप्रश्वास र स्नायुतन्त्रमा शिथिलता आउँछ। हाम्रो जाडोयामको खानेकुरा रहनसहनसँगै बाथ कफको समस्यासँगै रगत बाक्लो हुन्छ र मुटुसम्बन्धी रोगले च्याप्छ। रक्तचाप हुनेहरूका लागि गर्मी महिनामा भन्दा जाडो महिनामा दिन दुई गुना र रात चार गुना प्रेसर बढ्छ भन्ने चिकित्सकहरूको भनाइ छ। तसर्थ, जाडो महिनामा धेरैजसो मानिसहरूको हृदयघातबाट पनि मृत्यु हुने गरेको पाइएको छ। 

जाडो महिनामा चिसो हावाको घनत्व बढी हुन्छ। चिसोले रक्तनलीलाई खुम्च्याउँछ। यसले गर्दा रक्तचाप बढ्ने सम्भावना बढी हुन्छ। रक्तचापको वृद्धिले हृदयघातको सम्भावना रहन्छ। कोलस्ट्रोल बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ। रक्तसंचार राम्रोसँग नभएको कारणले हात, खुट्टा, नाक बढी चिसो हुने गर्छ। पर्याप्त प्राणशक्ति नपुगेका कारण नै चिसो हुने गर्दछ । 

तसर्थ, शरीरको तापक्रम बढाउन योग गर्न अति आवश्यक छ। योग गर्ने मानिसलाई जाडो र चिसोको त्यति अनुभूति हुँदैन, किनकि योगको ऊर्जाले नै शरीर तातिएको हुन्छ। जाडो महिनामा टन्सिल, रुघाखोकी, कफ, दम र निमोनिया धेरै हुने गरेको पाइएको छ। शरीरमा इम्युनिटी प्रतिरोधात्मक शक्ति कम हुनाले नै यी रोगहरूले सताउने गर्छ। यसका लागि हामीले योगबललाई नै जोड दिनुपर्दछ। 

जाडो महिनामा मर्निङ वाक
बिहान चिसोको कारणले कतिपय मानिसलाई मुटुको समस्यामा झन् बढी असर गरेको पनि पाइएको छ। वायुप्रदूषणको कारण फोक्सो, मुटु, एलर्जी, दमजस्ता समस्या देखा पर्दछन्। धेरैजनालाई योग कोठाभित्र गर्दा विभिन्न झन्झटिलो लागी हिँड्न एकोहोरो सजिलो लागे पनि वायु प्रदूषणको कारण त्यति उपयुक्त छैन। 

अव्यवस्थित सवारीसाधनको चाप बाटोघाटो साँघुरोको कारण बिहान सडकको पेटीमा मर्निङवाक गर्दा माथि उल्लेख गरेबमोजिम चिसोको कारण रक्तनलीहरूमा परेको प्रभावसँगै कतिजनाले त ज्यानै गुमाउनुपरेको छ भने कति अपांग नै भएर बस्नुपरेको छ। मर्निङवाक गर्नु राम्रो हो तर शुद्ध हावा र खुला ठाउँ, पार्कहरू जहाँ हाम्रा जेष्ठ आमा बुवाहरू पनि बिहान दिउँसो यसो टहलिने र निर्धक्क हिँड्न, डुल्न सक्ने त्यस्तो ठाउँ व्यवस्थित छैन तर चिसो याममा जेष्ठ बुवाआमाहरूले मर्निङवाक नगरेकै राम्रो मानिन्छ। 

अर्को कुरा घुँडा दुख्ने समस्या हुनेहरूलाई मर्निङवाकले झन् असर पारेको हुन्छ। योग घुँडा दुख्नेदेखि लिएर ढाड कम्मर आदि रोगहरूको विभिन्न आसनहरू छन्। जुन योग शिविर वा योग प्रशिक्षकबाट सिक्न र घरमै बसेर पनि गर्न सकिन्छ। 

अन्य व्यायाम र मर्निङवाकबाट शरीर कसिलो र स्लिम बनाउन त सक्छौँ तर भावबल, मनोवल, चित्तबल र आत्मबल बढाउन सक्दैनौँ। यसका लागि योगबल नै चाहिन्छ। मर्निङवाकमा शरीर त एकोहोरो हिँडिरहेको हुन्छ तर मन भने विभिन्न कुराहरूमा केन्द्रित हुन्छ र यसबाट जति लाभ लिनुपर्ने हो त्यत्ति लिन सक्दैनौँ। मनलाई शुद्ध र सफा राख्न योग साधना नै चाहिन्छ। योग त्यस्तो महाशक्तिको महासागर हो जसमा जति गहिराइमा पुग्यो त्यति शान्त र आनन्दित हुन्छ। विभिन्न आसन, अभ्यास, साधना आदिका माध्यमबाट शारीरिक, बौद्धिक, आध्यात्मिक प्रकारका शक्तिको विकास गर्दछ। 

योग व्यायामले हामीलाई सकारात्मक ऊर्जा दिन्छ, प्राणायामले जागेको ऊर्जालाई सकारात्मक बनाउँछ भने ध्यानले ऊर्जालाई स्थिर बनाउँछ। ध्यानमा यति शक्त्ति हुन्छ कि जब मानिस ध्यानस्त भएर मौन बस्छ उसले ५ किलोमिटरसम्म सकारात्मक तरंगको रेडियसन फाल्छ। वरिपरिको वातावरणमा त त्यति ऊर्जा फाल्छ भने एउटा योगी, ध्यानी व्यक्ति परिवारमा भयो भने परिवारका सदस्यमा त झनै मिराकल नै हुने गर्दछ। उखानै छ हिन्दी श्लोकमा ‘मन चँगा तो कठौतीमा गंगा’ ध्यान भनेको सबैभन्दा ठूलो सुन्दर औषधि हो र मन सफा गर्ने निर्विकल्प तरिका हो। 

अतः योग सधैँका लागि र सबैका लागि । हर मौसम अनि हर दिन योग निरन्तर गर्दा हामीलाई शारीरिक, मानसिक अनि आध्यात्मिक रूपमा जोडी उच्च चेतनायुक्त भएर बाँच्न सिकाउँछ। बढ्दो जाडोसँगै शरीरलाई ऊर्जाशील र गतिशील राख्नका लागि आजबाटै योग अभ्यास सुरु गरौँ।

(लेखक योग प्रशिक्षक हुन्)