मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वीर सिंह
२०७९ मङ्सिर १९ सोमबार १२:३३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सीमित भूगोल र असीमित जनसंख्याबीच बढ्दै खाद्यसंकट

भूगोल सीमित छ, संसाधन सीमित छन्, खाद्यान्न पनि सीमित छ । तर, जनसंख्याको कुनै सीमा छैन । हाम्रो चेतना अझै पनि बन्द छ ।

Read Time : > 2 मिनेट
वीर सिंह
२०७९ मङ्सिर १९ सोमबार १२:३३:००

हालसालै मात्रै युएनले जारीको गरेको रिपोर्टअनुसार विश्वको कुल जनसंख्या आठ अर्ब पुगेको छ । तर, जनसंख्या बढेसँगै विश्वमा खाद्यान्नको चिन्ता पनि सँगसँगै बढिरहेको छ । जनसंख्या र खाद्योत्पादनबारे माल्थसको दर्शन करिब सवा दुई सय वर्षपछि सत्य साबित हुँदै छ । एक शताब्दीसम्म कठोर आलोचना र व्यंग्य खेपेको माल्थसको सिद्धान्तले यथार्थ रूप ग्रहण गर्ने देखिएको छ । 

सन् १७६६–१८३४ मा थोमस रोबर्ट माल्थस आफ्नो देश इंग्ल्यान्डको जनसंख्या वृद्धि हुँदा चिन्तित बनेका थिए । सन् १७९८ मा उनले ‘जनसंख्याको सिद्धान्त’ विषयमा निबन्ध लेखेका थिए । तर, पछि सन् १८०३ मा आफ्नो निष्कर्षलाई उनले पुनः संशोधन गरे । माल्थसलाई पूर्वाभास थियो कि त्यतिवेला इंग्ल्यान्ड एउटा विपत्तितिर बढिरहेको छ । यसकारण त्यहाँको सरकार उक्त गम्भीर समस्याबारे जानकार होओस् भन्ने उनी चाहन्थे । 

त्यसो भए माल्थुसियन सिद्धान्त के हो ? यो सिद्धान्त निकै रोचक छ । यसले बढ्दो मानव जनसंख्या र खाद्यान्नबीचको सम्बन्धलाई रेखांकित गर्छ । एक वाक्यमा भन्नुपर्दा ‘घातक जनसंख्या वृद्धि र अंकगणितीय खाद्य आपूर्ति वृद्धिको सिद्धान्त ।’ माल्थसका शब्दामा भन्दा जबसम्म यसलाई रोक्न सकिँदैन, प्राकृतिक रूपमा मानव खाद्योत्पादन सुस्त गतिमा बढ्छ र जनसंख्या ज्यामितीय अनुपातमा बढ्छ । माल्थसको चेतावनी थियो, ‘जनसंख्याले निरन्तर वृद्धिको बाटो समाउनेछ । र, उक्त जनसंख्यालाई पालनपोषण गर्न खाद्य आपूर्ति पर्याप्त हुँदैन ।’

त्यसो त जनसंख्याकै कुरा गर्दा प्रत्येक २५ वर्षमा दोब्बर हुन्छ भनिन्छ । जनसंख्याको वृद्धि भोजनको निर्बाध उपलब्धिको परिणाम हो । यस्तै, खाद्य उत्पादन ह्रास प्रतिफलको नियम (ल अफ डिमिनिसिङ)को अधीन छ । यी दुवै आयामका आधारमा माल्थसले अनुमान लगाएका थिए कि मानव जनसंख्या खाद्य आपूर्तिभन्दा अगाडि निस्कन्छ । यदि कुनै देशको जनसंख्या खाद्य उत्पादनको स्तरभन्दा बढी भयो भने के हुन्छ ? माल्थसको तर्क छ– ‘विश्वका धेरैजसो मान्छे भोजनको पहुँचबाट वञ्चित भई मृत्युवरण गर्नेछन् । यदि जनसंख्या वृद्धिमा कुनै राष्ट्रिय ठोस नीति बनाएर त्यसलाई कानुनी रूप दिई लागू नगर्ने हो भने जनसंख्या नियन्त्रणको प्राकृतिक रूप उर्लन्छ, जुन भयावह हुन्छ ।’

माल्थसको भनाइ थियो, ‘अकाल, रोग र युद्धले नै सकारात्मक वा प्राकृतिक नियन्त्रण जनसंख्या–खाद्योत्पादन असन्तुलनलाई पुनः सन्तुलनमा ल्याउनेछन् ।’ १९ र २०औँ शताब्दीमा माल्थसको जनसंख्या सिद्धान्तको कडा आलोचना भयो । सबभन्दा बढी आलोचना त खाद्योत्पादनको दर जनसंख्या वृद्धिभन्दा निरन्तर अगाडि रहेको युरोपमा भयो । 
जुन देशलाई अर्थशास्त्रीहरूले २०औँ शताब्दीको उत्तरार्धमा ‘तेस्रो विश्व’ भनेर सम्बोधन गर्थे, त्यसका कैयौँ देश कृषिको आधुनिकीकरणमार्फत खाद्योत्पादनमा ‘पहिलो विश्व’ को बराबरीमा आए । 

सामाजिक आर्थिक विकासका नयाँ क्षेत्र जस्तै, कृषियोग्य भूमि विस्तार, आधुनिक कृषि उत्पादन, यातायात र सञ्चारसाधन, अन्तरदेशीय खुला व्यापारलगायत अनिकाल र भोकमरीजस्तो स्थितिबाट बच्न सहायक हुने विषयतिर ध्यान नदिएका कारण माल्थसको आलोचना गरिन्छ । माल्थुसियन सिद्धान्तले बढ्दो जन्मदरलाई जनसंख्या वृद्धिको एउटै कारण मान्छ ।

वास्तविकताको अर्को पक्ष भनेको घट्दो मृत्युदर 
र मानिसको जीवनकालमा वृद्धि पनि जनसंख्या वृद्धिको प्रमुख कारण हो । चिकित्सा विज्ञानका उल्लेखनीय उपलब्धिद्वारा घातक रोगको उपचार र नियन्त्रण हुन सक्छ भनेर माल्थसले सोचेनन् । न उनले मानिसको जीवनकालमा ठूलो वृद्धि हुन सक्छ, जसले जनसंख्याको वृद्धिदर तीव्र रूपमा बढाउँछ भन्ने नै सोचे । यद्यपि, उनको सिद्धान्तले इंग्ल्यान्डका लागि आफ्नो वैधता सिद्ध गर्न पाएन । तर, सामाजिक, आर्थिक परिस्थिति परिवर्तन हुँदा यसमा ध्यान केन्द्रित भयो र यसले मानिसलाई आफ्नो भविष्यबारे जागरुक बनायो । सिद्धान्तका मूल तत्व आज पनि जीवित छन् । वास्तवमा यो सिद्धान्तको एक सार्वभौमिक अपिल छ, जुन जैविक–भौतिक एकाइका रूपमा दृष्टिगोचर हुन सक्दैन । आफैँमा एउटा घटना हो यो । र, यो घटना सुस्त गतिमा चलिरहेको छ । 

एसिया र अफ्रिकाका कैयौँ देशले पहिलेदेखि नै गम्भीर अवस्थाको सामना गरिरहेका छन् । यसको भविष्यवाणी उनै माल्थसले १८औँ शताब्दीको अन्तमा गरेका थिए । अहिले आएर श्रीलंका, पाकिस्तान, बंगलादेश तथा भारतसहित थुप्रै देशले माल्थस–सिद्धान्त र त्यसको सम्पूर्णता महसुस गरेका छन् ।  आजको विश्वमा सम्पूर्ण युरोप र अधिकांश पश्चिमी देशले अधिक जनसंख्या र सामाजिक–आर्थिक कष्टको सामना गर्नुपर्दैन भने पनि यसको श्रेय माल्थसलाई नै जान्छ । उनले आफ्नो देशलाई तीव्र जनसंख्याको परिणामबारे सुसूचित गरे र पूरै युरोप र विश्वका अन्य कैयौँ देशले ‘जनसंख्या विस्फोट’को स्थितिबाट बच्न उचित उपाय अपनाउन सुरु गरे । 

निवारण उपाय, विशेषगरी विभिन्न गर्भनिरोधक सामग्रीको उपयोग र जन्मदर नियन्त्रणका अन्य थुप्रै माल्थसको सिद्धान्तमा लुकेका तत्व हुन् । ढिलो विवाह, प्रतिविवाह कम बालबच्चा, परिवार नियोजनका लागि प्रोत्साहन र राष्ट्रिय नीति तथा कार्यक्रममार्फत अपनाइएका कैयौँ उपाय माल्थुसियन सिद्धान्तसँगै निहित पूर्वाभासबाट सिकेका पाठ हुन् । 

खाद्योत्पादनको मोर्चामा उपलब्धिको ढोल पिट्ने देशहरू यदि जनसंख्याको बारुदमा बसिरहे भने विस्फोट अवश्य हुन्छ । भूगोल सीमित छ, संसाधन सीमित छन्, खाद्यान्न पनि सीमित छ । तर, जनसंख्याको कुनै सीमा छैन । माल्थसको प्रभाव (छाया) हामीमाथि परिरहेको छ । तर, हाम्रो चेतना अझै पनि बन्द छ । 
(प्रोफेसर, एमिरेट्स जिबी पन्त कृषि एवं प्राविधिक विश्वविद्यालय)