Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर १९ सोमबार १२:२५:००
Read Time : > 1 मिनेट
खेलकुद

फ्रान्स क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार १२:२५:००

युवा स्ट्राइकर केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा आइतबार साबिक विजेता फ्रान्सले पोल्यान्डलाई ३–१ ले हराउँदै कतार विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल स्थान पक्का गरेको छ । अब फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्यान्ड र सेनेगलबीच खेलको विजेतासँग खेल्नेछ । दोहाको अल थुराम रंगशालामा एम्बाप्पले दुवै गोल मध्यान्तरपछि गरेका हुन् । फ्रान्सको सानदार जितमा ओलिभर जिरुडले थप एक गोल गरेका थिए । खेलको अन्तिम इन्जुरी समयमा पोल्यान्डका कप्तान रोबर्ट लेवान्डोस्कीले एक गोल पेनाल्टीबाट गरेका थिए । 

प्रतिस्पर्धामा पोल्यान्डका गोलरक्षक बोज्सिएक सेचेन्जीले उत्कृष्ट प्रदर्शन गरेका थिए । फ्रान्सले सुरुदेखि नै आक्रामक रणनीति बुनेको थियो । प्रशिक्षक डिडिएरले फिनिसिङमा ग्रिजम्यान, एम्बाप्पे र जिरुडलाई पहिलो सेटमै राखेका थिए । समूह चरणमा ट्युनिसियाविरुद्धको प्रतिस्पर्धामा प्रशिक्षक डिडिएरले सुरुवातमा दोस्रो रोजाइका खेलाडी उतारेका थिए । नकआउट चरणको महत्वपूर्ण खेलमा डिडिएरले कुनै प्रयोग गरेनन् । 

 पोल्यान्डको गोल प्रयास
डिडिएरले सबै सेट खेलाडीलाई प्राथमिकतामा राखी पोल्यान्डविरुद्ध प्रतिस्पर्धामा मैदानमा उतारे । पोल्यान्डले फ्रान्सको शक्तिशाली फिनिसिङ रोक्न रक्षापंक्ति र मिडफिल्डमा समान चार खेलाडी राखेको थियो । पोल्यान्डले सुरुमा रक्षात्मक रणनीति अपनाएको थियो । तर, फ्रान्सले लगातार आक्रमण रणनीति बुन्यो । 

यद्यपि, काउन्टर एट्याक्टमा भने पोल्यान्ड फ्रान्समाथि हाबी देखियो । खेलको २८औँ मिनेटमा जिरुडले लगभग खाली पोस्टमै गोल गर्न चुके । डिफेन्डर र गोलरक्षकसमेत बिट भएको अवस्थामा उनले गोल गर्न सकेनन् । खेलको ३५औँ मिनेटमा पोल्यान्डले खेलमै पहिलोपटक तीन आक्रमण बुन्यो । फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले पोल्यान्डको गोल प्रयासलाई विफल पारे । पोल्यान्डले तीनपटक रिबाउन्समा गोल प्रयास गरेको थियो । 

 इन्जुरी समयमा पेनाल्टी गोल 
पहिलो हाफको ४४औँ मिनेटमा जिरुडको गोलमा फ्रान्सले १–० को अग्रता लियो । जिरुडले एम्बाप्पेको पासमा गोल गरेका हुन् । मध्यान्तरपछि फ्रान्स थप सशक्त रूपमा उत्रियो । फ्रान्सले यसपटक काउन्टर एट्याक्टमा पोल्यान्डको पोस्टमा चार्ज गरेको थियो । यद्यपि, पोल्यान्डका गोलरक्षक सेचेन्जीले फ्रान्सको डरलाग्दो गोल प्रयासलाई विफल पारेका थिए । खेलको ७४औँ मिनेटमा एम्बाप्पेले काउन्टरमा फ्रान्सलाई २–० को अग्रता दिलाए ।  

खेलको अन्तिम इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल थप्दा फ्रान्स ३–० ले अघि बढ्यो । मार्कस थुरामको पासमा एम्बाप्पेले कठिन कोणबाट गोल गरे । इन्जुरी समयको अन्तिम समयमा पोल्यान्डले पेनाल्टी पायो । कप्तान लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक लोरिसले बचाएका थिए । तर, लोरिस गोललाइनबाट बाहिर आएकाले पुनः लेवान्डोस्कीले प्रहार गर्न अवसर पाए । उनले दोस्रो प्रयासमा गोल गरे ।