१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर १९ सोमबार ०९:०९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अस्पतालको शय्याबाट पेलेले भने– मैले हिम्मत हारेको छैन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १९ सोमबार ०९:०९:००

मध्यपूर्वी एसियामा पहिलोपटक विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ । अहिले प्रिक्वार्टरफाइनल खेल सुरु भइसकेको छ । विश्वकप जब–जब हुन्छ, त्यसवेला एक खेलाडीको नाम सधैँ चर्चामा आउँछ, ब्राजिललाई तीनपटक उपाधि दिलाएका र विश्वकपकै महान् खेलाडी पेले । विश्वकपमा पेलेले जुन उपलब्धि हात पारेका छन्, त्यो अन्य खेलाडीले छुनै सकेका छैनन् । विश्वकपमा थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएका पेले अहिले अस्पतालमा छन् । 

शनिबार पेलेको शरीरले प्रक्रिया जनाउन छाडेपछि प्यालिएटिभ केयरमा सारिएको थियो । ब्लडक्यान्सरविरुद्ध लडिरहेका पेलेको किमोथेरापीसमेत रोकिएको छ । शनिबारको गतिविधिपछि पेलेको सम्बन्धमा कुनै पनि वेला नराम्रो घटना फुटबलप्रेमीले सुन्नुपर्ने अनुमान लगाएका थिए । विश्वकप चलिरहँदा एक महान् खेलाडी पेले जीवन–मरणविरुद्ध लडिरहँदा सबै दुःखी छन् । 

तर, आइतबार पेलेले अस्पतालको शड्ढयाबाटै आफूले हिम्मत नहारेको प्रतिक्रिया दिएका छन् । विभिन्न सञ्चारमाध्यममा आइरहेको समाचारप्रति ध्यान नदिन र आफ्नो स्वास्थ्य अवस्था गम्भीर भए पनि ध्यान नदिन आग्रह पेलेले गरेका छन् । समर्थकलाई धैर्य र सकारात्मक सोचका साथ बस्न उनको भनाइ छ । 

‘मेरो उपचार भइरहेको छ, छिटै अस्पतालबाट डिस्चार्ज हुनेमा आशावादी छु,’ पेलेले लेखेका छन्, ‘मैले अझै हिम्मत हारेको छैन । मेरो उपचारमा संलग्न चिकित्सक र उनका टोलीलाई धन्यवाद दिन चाहन्छु ।’ पेले आफू भगवानप्रति धेरै विश्वास राख्ने व्यक्तिका रूपमा बताएका छन् । ‘मलाई भगवान्प्रति धेरै विश्वास छ । सबैले स्वास्थ्यलाभको कामना गर्दै पठाउनुभएको सन्देशले मेरो मनोबल थप बढेको छ । मैले कतार विश्वकपमा ब्राजिलको खेल पनि हेरिरहेको छु । सबैलाई धन्यवाद !’ उनले भने । 

गत वर्ष शल्यक्रियामार्फत पेलेको कोलोनको ट्युमर निकालिएको थियो । किलियन एम्बाप्पे, ह्यारी केन, भिनिसियस जुनियरजस्ता स्टार खेलाडीले सामाजिक सञ्जालमार्फत पेलेको स्वास्थ्यलाभको कामना गरेका थिए ।