१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०८:५९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरले थप्दै छ १४ सय स्मार्ट लाइट

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ०८:५९:००

ललितपुर महानगरपालिकाले दोस्रो चरणअन्तर्गत १४ सय स्मार्ट सडकबत्ती (स्मार्ट लाइट) राख्न थालेको छ । जसअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखिनेछ ।

महानगरका अनुसार यसअन्तर्गत चार सय बत्ती जडान भइसकेका छन् । बाँकी पनि चैत मसान्तभित्र जडान भइसक्नेछ । ‘दोस्रो चरणअन्तर्गतको काम सुरु भइसकेको छ । चार सय बत्ती जडानसमेत गरिसकेका छौँ । बाँकी ठाउँमा पनि काम भइरहेको छ,’ महानगरका जुनियर इलेक्ट्रिक इन्जिनियर सञ्जय खड्काले भने । सडकबत्ती जडानमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत सहयोग रहनेछ । उनका अनुसार पहिलो चरणअन्तर्गत बत्ती राखिएका ठाउँहरूबाट सकारात्मक प्रतिक्रिया आएपछि दोस्रो चरणको काम सुरु गरिएको हो ।

दोस्रो चरणअन्तर्गत बत्ती राखिने १५ वटा मुख्य चोकमा धेरै प्रकाश दिने ठूला बत्ती राखिनेछ । पुल्चोकस्थित महानगर कार्यालयअगाडि, जावलाखेल, लगनखेल, बुङमती बसपार्क, लगनखेलको आर्मी पेट्रोलपम्प, गणेशमान पार्कलगायतका चोकमा ठूला बत्ती राखिनेछ । 

महानगरले पहिलो चरणअन्तर्गतको ६ सय स्मार्ट सडकबत्ती जडान फागुन ०७७ मै गरिसकेको छ । यस चरणमा कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा सडकबत्ती राखिएको थियो । सवारी दुर्घटनाको प्रमुख कारण अँध्यारो सडक भएकाले सडकबत्ती राख्न थालिएको महानगरले जनाएको छ । पहिलो चरणअन्तर्गतको स्मार्ट सडकबत्ती जडानमा पनि महानगरको ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत सहयोग गरेको थियो । जसअन्तर्गत सात करोड रुपैयाँ लागेको थियो ।

 राजु महर्जन
प्रवक्ता, ललितपुर महानगरपालिका

यस्ता सडकबत्ती मान्छेको चहलपहल हुँदा आफैँ बल्छ भने मानिसको चहलपहल कम हुँदै जाँदा निभ्छ । अर्थात्, जहाँ चहलपहल हुन्छ, त्यहीँ बल्छ । केन्द्रबाटै नियन्त्रण गर्न पनि सकिन्छ । स्मार्ट बत्तीका कारण सडकमा गुड्ने सवारीसाधनको इम्बोस्ड नम्बर पनि सफासँग देखिन्छ । बत्तीले दुर्घटनामा पनि कमी आउनेछ । अनावश्यक रूपमा दिनभरि बत्ती बल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

०७४ सालको स्थानीय तह निर्वाचनकै वेला ललितपुर महानगर प्रमुखका उम्मेदवार चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार ०७७ सालदेखि महानगरले स्मार्ट सडकबत्ती जडान गर्न थालेको हो । 

 कस्तो हुन्छ स्मार्ट सडकबत्ती ?
महानगरले राखेको सडकबत्ती बाल्न र निभाउन मानिसको आवश्यकता पर्दैन । सडकमा हुने चहलपहलअनुसार बत्ती आफैँ बल्ने–निभ्ने हुन्छ । रातको समयमा सडकबत्तीलाई केन्द्रबाटै कन्ट्रोलसमेत गर्न सकिनेछ । ‘यो सडकबत्ती मान्छेको चहलपहल हुँदा सबैतिर बल्छ भने मानिसको चहलपहल कम हुँदै गए एउटा बल्ने अर्को नबल्ने हुन्छ । केन्द्रबाटै नियन्त्रण गर्न पनि सकिन्छ,’ महानगरका प्रवक्ता राजु महर्जनले भने, ‘स्मार्ट बत्तीका कारण सडकमा गुड्ने सवारीसाधनको इम्बोस्ड नम्बर पनि सफासँग देखिन्छ । बत्तीले दुर्घटनामा पनि कमी आउने नै छ । सडकमा अनावश्यक रूपमा दिनभरि बत्ती बल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।’ यसले सहर सुरक्षित बनाउन पनि मद्दत मिल्ने उनको भनाइ छ । 

 तेस्रो चरणका लागि टेन्डर आह्वान हुँदै
चक्रपथभित्र तेस्रो चरणअन्तर्गतको सडकबत्ती राख्न महानगरले टेन्डर आह्वान पनि गर्ने भएको छ । पुस महिनाभित्र टेन्डर पक्रिया पूरा हुने महानगरले जनाएको छ । तेस्रो चरणमा बल्खुदेखि बालकुमारीसम्म सडकबत्ती राखिनेछ । चक्रपथभित्र करिब दुई करोड लागतको सडकबत्ती राखिनेछ । यसमा महानगर र सडक विभागको ६० प्रतिशत र विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ । इन्जिनियर खड्काका अनुसार टेन्डर आह्वानका लागि महानगरले हायर गरेको कन्सल्ट्यान्टले काम गरिरहेको छ ।