मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १६ शुक्रबार १४:२८:००

काठमाडौं उपत्यकाका अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ। शुक्रबार काठमाडौंको बबरमहलमा प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवारीको प्रदूषण परीक्षण गर्दा अधिकांश सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएको पाइएको हो।

विभागले शुक्रबार ५४ वटा सवारीसाधनको प्रदूषण परीक्षण गरेको थियो। त्यसमध्ये ३८ वटा सवारीसाधन फेल भएका वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले बताए। उनका अनुसार प्रदूषण परीक्षणमा फेल हुनेहरूलाई मर्मत गरेर प्रदूषण पास हुने गरी चलाउन समय दिइएको छ। परीक्षण पास गर्न पठाएका सवारीहरू अर्कोपटक पनि परीक्षण गर्दा फेल भएमा वातावरण संरक्षण ऐन, २०७६ बमोजिम एक लाख रुपैयाँसम्म कारबाही हुनेछ।

सवारी प्रदूषणसँगै ट्राफिक प्रहरीले यान्त्रिक अवस्था र कागजातपत्रको पनि चेकजाँच गरिरहेको छ। यातायात व्यवस्था कार्यविधिअनुसार अहिले पनि प्रत्येक भाडाका सवारीसाधनले ६–६ महिनामा सवारीको प्राविधिक जाँच गराउनुपर्छ। यातायात कार्यालयमै गएर गरिने त्यस्तो जाँचको अनिवार्य सर्त प्रदूषण जाँचको रिपोर्ट गरिएको छ। जसको अर्थ प्रत्येक ठूला तथा भाडाका सवारीले ६–६ महिनामा प्रदूषण जाँचको रिपोर्ट लिएर जानुपर्नेछ।

त्यस्तै, साना तथा मझौला साधनले एक वर्षमा एकपटक त्यस्तो जाँच गराउनुपर्छ। जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ। परीक्षण पास नभएसम्मका लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरूलाई अन्तिम बिन्दुसम्म पुर्‍याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भारपश्चात पुनः प्रदूषण चेकजाँचका लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ।