मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार ०९:१३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकपमा दोस्रोपटक पेनाल्टीमा चुके मेसी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा अघि घानाका असामोहले पनि विश्वकपमा दुई पेनाल्टी चुकाएका छन्

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार ०९:१३:००

तनावपूर्ण खेलमा निकै अनुभवी खेलाडी पनि आत्तिन्छन् । प्रतिस्पर्धामा स्टार खेलाडीले आफूमाथि नै चर्को दबाबको महसुस गर्छन् । तनावबाट मुक्त हुन नसक्दा सहज अवसरसमेत चुकाउने गर्छन्, खेलाडी । अझ निर्णायक खेलमा पेनाल्टी प्रहार अवसर पाउँदा अनुभवी खेलाडीले किन हो तनावपूर्ण वातावरणमा खेलिरहेका हुन्छन् । चालू विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनी कप्तान लियोनल मेसीले पनि यस्तै ‘नर्भसनेस’को सामना गरिरहेका छन् । 

समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान अर्जेन्टिनाले पोल्यान्डसँग प्रतिस्पर्धा गरेको थियो । यो खेलमा हारले अर्जेन्टिना बाहिरिने र जितले अर्को चरणमा पुग्थ्यो । गर या मरको अवस्थामा प्रतिस्पर्धा गरेको अर्जेन्टिनाले पहिलो हाफमै पेनाल्टी पायो । मेसीले नै खेलको ३५औँ मिनेटमा पेनाल्टी प्रहार गर्न अग्रसर भए । पाँचौँ विश्वकप खेलिरहेका मेसीले नर्भसझैँ देखिए । पोल्यान्डका गोलरक्षक सेचेन्जी मेसीको पेनाल्टी जसरी पनि बचाउने आत्मविश्वासका साथ पोस्टको लाइनमा उभिए ।

मेसीले दायाँतिर प्रहार गरेको पेनाल्टीलाई गोलरक्षक सेचेन्जीले डाइभ गरी विफल पारे । पोल्यान्डविरुद्ध अग्रता लिने अर्जेन्टिनाले ठूलो अवसर गुमायो । मेसीको पेनाल्टी मिसले समर्थक निराश भएका छन् । यद्यपि, यो खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गर्‍यो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिए । 

 साउदी अरेबियाविरुद्ध पेनाल्टी सफल
कतार विश्वकपमा मेसीको यो दोस्रो पेनाल्टी हो । समूह चरणको पहिलो खेलमै साउदी अरेबियाविरुद्ध मेसीले पेनाल्टी प्रहार गरेका थिए । मेसीकै पेनाल्टी गोलमा अर्जेन्टिनाले साउदी अरेवियाविरुद्ध १–० को अग्रता लियो ।  सो खेलमा साउदी अरेबियाले सनसनी नतिजा निकाली २–१ ले बाजी मार्‍यो ।

समग्रमा मेसीले विश्वकपमा तीनमध्ये एक पेनाल्टी प्रहार मात्र गोल गरेका छन् । विश्वकप इतिहासको एकै संस्करणमा दुई पेनाल्टी सेभ गर्ने पोल्यान्डका गोलरक्षक तेस्रो खेलाडी हुन् । साउदी अरेबियाका गोलरक्षक अल दसारीले पनि मेसीको पेनाल्टीलाई रोक्न सकेनन् । विश्वकपमा दुई पेनाल्टी मिस गर्ने सूचीमा मेसी र घानाका असामोह गायन शीर्ष स्थानमा छन् । मेसीले सन् २०१८ को रसिया विश्वकपमा आइसल्यान्डविरुद्धको खेल पनि असफल पेनाल्टी प्रहार गरेका थिए । 

असामोहले सन् २०१० को दक्षिण अफ्रिकी संस्करणमा चारमध्ये दुई पेनाल्टी चुकाएका थिए । जसमध्ये एउटा पेनाल्टी उनले जीवनभरि नै सम्झिरहनेछन् । क्वार्टरफाइनलमा घाना र उरुग्वेबीच प्रतिस्पर्धा भएको थियो । तनाव सामना गर्न नसक्दा असामोहले असफल पेनाल्टी प्रहार गरेका थिए । उनको पेनाल्टी गोल हुँदा घाना पहिलोपटक विश्वकप इतिहासमै सेमिफाइनलमा पुग्ने थियो । असामोहको मिस पेनाल्टीसँगै घाना क्वार्टरफाइनलमा रोकियो । 

 करिअरमा ३१ पटक असफल
सन् २००५ मा मेसीले राष्ट्रिय टोलीमा डेब्युमा गरेका थिए । उनले अहिलेसम्म अर्जेन्टिनी टोलीबाट एक सय ६८ खेलमा प्रतिस्पर्धा गरेका छन् । उनले ९३ पटक गोल गरेका छन् । मेसीले अहिलेसम्म अन्तर्राष्ट्रिय करिअरमा अर्जेन्टिनाबाट चार पेनाल्टी मिस गरेका छन् । क्लब र देशका लागि उनले ३१ पटक असफल पेनाल्टी प्रहार गरेका छन् । मेसीले राष्ट्रिय टोलीबाट जर्मनीविरुद्धको मैत्रीपूर्ण खेलमा पेनाल्टी मिस गरेका थिए । 

पछिल्लोपटक क्लबस्तरीय खेलमा मेसीले पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि पनि यस्तै प्रदर्शन गरे । युरोपियन च्याम्पियन्स लिगमा पिएसजीले रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दा मेसीले पेनाल्टीमा गोल गर्न सकेनन् । करिअरमा पेनाल्टी सुटआउट (टाइब्रेकर)मा मेसीले सातपटक गोल गर्न चुकाए । यसमध्ये सन् २०१६ को कोपा अमेरिका कपको फाइनलमा चिलीविरुद्ध उनले पेनाल्टी मिस गर्दा अर्जेन्टिनाले उपाधि उचाल्न सकेन ।