Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
क्रोएसियाविरुद्ध गोल गर्न नसकेपछि निराश हुँदै बेल्जियमका रोमेलु लुकाकु ।
२०७९ मङ्सिर १६ शुक्रबार ०६:४३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार ०६:४३:००

साबिक उपविजेता क्रोएसिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको छ । समूह ‘एफ’मा क्रोएसियाले बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । बराबरी नतिजासँगै बेल्जियम विश्वकपबाट बाहिरिएको छ । समूह ‘एफ’मा मोरक्को विजेता बन्यो । मोरक्कोले क्यानडामाथि २–१ को जित निकाली समूह विजेता बन्यो । मोरक्कोले तीन खेलमा सर्वाधिक सात अंक बटुल्यो । मोरक्को ३६ वर्षपछि पहिलोपटक प्रिक्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । 

दोस्रो स्थानमा रहेको क्रोएसियाको ५ अंक छ । बेल्जियम ४ अंकका साथ तेस्रो तथा क्यानडा अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएका छन् । कतारको एहमद बिन अली रंगशालामा बिहीबार समूह ‘एफ’को निर्णायक खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको बेल्जियमको विश्वकप यात्रा टुंगिएको हो । सन् २०१८ को सेमिफाइनलिस्ट बेल्जियमले नकआउट चरण स्थान पक्का गर्न क्रोएसियालाई हराउनु नै पर्ने दबाब थियो । बेल्जियमसँग जितबाहेक अन्य विकल्प नै थिएन । 

अर्को खेलमा मोरक्कोको जित पक्का भएपछि बेल्जियमलाई बराबरी नतिजाले बाहिरिने पक्का नै भइसकेको थियो । यस अवस्थामा बेल्जियमले क्रोएसियाविरुद्ध दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको थियो, तर गोल गर्न सकेन । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर धेरै पाएको थियो । स्टार खेलाडीले भरिएको बेल्जियमले मौका खेर फल्दा अघि बढ्न सकेन । प्रशिक्षक रोबर्टो मार्टिनेजकै प्रशिक्षणमा बेल्जियमले रसिया विश्वकपमा तेस्रो स्थान रक्षा गरेको थियो । फिफाको वरीयतामा बेल्जियम दोस्रो स्थानमा छ । 

पहिलो हाफमै बेल्जियमले गोल गर्न मौका पाएको थियो । इंग्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीमा आबद्ध केभिन डे ब्रुनेले खेलको १३औँ मिनेटको पासमा ड्रिज मार्टेन्सको प्रहार पोस्टभन्दा माथि गएको थियो । मध्यान्तरपछि प्रशिक्षक रोबर्टोले अनुभवी खेलाडी रोमेलु लुकाकुलाई मैदानमा उतारेका थिए । लुकाकुले प्राप्त अवसरमा धेरै मिस प्रहार गरेका थिए । खेलको ६२अ‍ौँ मिनेटमा लुकाकुले डिबक्सभित्र गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको फर्कियो । उनले ६ यार्ड बक्सनजिकबाट बल प्रहार गरेका थिए । 

खेलको ८५औँ मिनेटमा लुकाकुले थोमसको पासमा प्रहार गरेको बल बारनजिक हुँदै गयो । खेलको अन्तिम मिनेटमा बेल्जियमले अर्को मौका खेर फाल्यो । लुकाकुले क्रोएसियाको गोललाइन नजिकबाट गोल गर्न सकेनन् । प्रतिपस्र्धामा क्रोएसियाले ४८ र बेल्जियमले ५२ प्रतिशत बल पोसेसन बनाएको थियो । क्रोएसियाको तुलनामा बेल्जियमले १६ पटक गोल प्रयास गरेको थियो । क्रोएसियाले ११ पटक मात्र सट प्रहार गर्‍यो । 

जित्नैपर्ने दबाबमा  दक्षिण कोरिया र उरुग्वे
विश्वकपको ड्र निस्किँदा समूह ‘ए’लाई रोमाञ्चक भनिएको थियो । यस समूहमा पोर्चुगल, घाना, दक्षिण कोरिया र उरुग्वे छन् । पोर्चुगलले एक खेलअगाडि नै प्रिक्वार्टरफाइनल स्थान पक्का गरेको छ । घाना, उरुग्वे र दक्षिण कोरिया नकआउट चरणको दौडमा छन् । तिनैमध्ये दुई टोली मात्र अर्को चरणमा पुग्नेछन् । अन्तिम खेलमा शुक्रबार घानाले उरुग्वेको सामना गर्दै छ । दक्षिण कोरियाले पोर्चुगलविरुद्ध खेल्नेछ । 

पोर्चुगलले शतप्रतिशत जित निकाली समूह विजेताका रूपमा प्रिक्वार्टरफाइनल पुग्नेछ । अफ्रिकन राष्ट्र घानाले दक्षिण अमेरिकी टोली उरुग्वेलाई पराजित गरे उपविजेता बन्न सक्छ । पोर्चुगल र घानाले आ–आफ्नो खेल जिते दक्षिण कोरिया र उरुग्वेको विश्वकप यात्रा समूह चरणमै सीमित हुनेछ । उरुग्वेले घानालाई हराए प्रिक्वार्टरफाइनलको सम्भावना यथावत् राख्नेछ । दक्षिण कोरियाले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलविरुद्ध अप्रत्याशित नतिजा निकाल्दा दोस्रो खेलको नतिजा कुर्नुपर्नेछ । 

सन् २०१० मा नकआउटमा स्थान बनाएको दक्षिण कोरिया र दुईपटकको च्याम्पियन उरुग्वेले गर या मरको स्थितिमा प्रतिस्पर्धा गर्नेछन् । सन् २०१० विश्वकपको क्वार्टरफाइनलमा उरुग्वे र घानाबीच भेट भएको थियो । निर्धारित समय र अतिरिक्त समयमा १–१ को बराबरी हुँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो । उरुग्वेका स्ट्राइकर लुइस सुआरेज विवादित बनेको खेलमा घानालाई पराजित गर्दै सन् १९७० पछि अन्तिम चारमा स्थान बनाएको थियो । उरुग्वेले सन् २०१४ र १८ को संस्करणमा क्वार्टरफाइनलसम्म खेलेको थियो । 

पहिलो खेलमा पोर्चुगलसँग ३–२ ले पराजित घाना दोस्रो खेलमा दक्षिण कोरियालाई ३–२ ले हराएको थियो । उरुग्वे पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा पोर्चुगलसँग २–० ले पराजित भएको थियो ।