१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०९:५०:००
Read Time : > 2 मिनेट
सेयर बजार

ब्याजदर घटेपछि सेयर बजारमा उत्साह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार ०९:५०:००

साताको पहिलो दिन नेप्से परिसूचक २ दशमलव ७७ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर घटाएपछि बजारमा उत्साह देखिएको हो । गत बिहीबार अर्थमन्त्रीले बैंकर्सलाई तत्काल ब्याजदर घटाउन निर्देशन दिएका थिए । सो निर्देशनपछि बैंकहरूले ९ अंकको मात्र ब्याजदर कायम गर्ने भद्र सहमति गरेका थिए । शुक्रबार बैंकहरूले ब्याजदर घटाई नयाँ योजनाहरू सार्वजनिक गरेपछि लगानीकर्ता उत्साहित भएका हुन् । वाणिज्य बैंकहरूले जस्तै विकास बैंक र वित्तीय संस्थाहरूले पनि ब्याजदर घटाउन थालेका छन् । यसको सकारात्मक प्रभाव आइतबार बजारमा परेको हो । आइतबार बजार खुल्नेबित्तिकै तीव्र गतिमा उकालो लागेको थियो । २० मिनेटमा नै २ प्रतिशत बढेको नेप्से त्यसपछिको समयमा केही ओरालो लागेको थियो । कारोबार अवधिको आधा घन्टापछि स्थिर देखिएको नेप्से अन्तिम १ घन्टामा पुनः बढेर बन्द भएको हो । नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्ताले आगामी दिनमा बजारले गति लिने लगानीकर्ताको अपेक्षा रहेको छ । 

नेप्से परिसूचक यस दिन ३२ दशमलव २४ प्रतिशत बढेर १ हजार १ सय ९८ दशमलव १८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन ७ दशमलव ३१ अंक बढेर २ सय ५५ दशमलव ३८ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६४ कम्पनीको ८ हजार ७ सय ५३ पटकको कारोबारमा ८८ करोड २१ लाख २० हजार २ सय ७८ रुपैयाँबराबरको २८ लाख ३२ हजार २ सय ४५ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ६० दशमलव ३७ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्रीको चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन सनराइज बैंकको संस्थापक सेयर अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको ८ करोड १७ लाख ४८ हजार रुपैयाँबराबरको ४ लाख ९५ हजार ४ सय ४३ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन एनएमबि बैंक अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ५ सय ११ पटकको कारोबारमा ७ करोड १३ लाख ५१ हजार रुपैयाँबराबरको १ लाख ८३ हजार ६ सय ७५ कित्ता सेयर खरिद–बिक्री भएको छ । आइएमई जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र कालिका लघुवित्तको सेयर मूल्य यस दिन १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ । अन्य ११ कम्पनीहरूको सेयर मूल्य यस दिन ९ प्रतिशतभन्दा बढी बढेको छ । बजार बढे पनि कैलाश विकास बैंकका सेयरधनीको भने यस दिन ६ दशमलव २५ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६४ कम्पनीमध्ये १ सय ३१ कम्पनीहरूको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आइतबार उत्पादनमूलक समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन सर्वाधिक ५ दशमलमव ९७ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्त समूहको परिसूचक ४ दशमलव ८२ प्रतिशत, जीवन बिमा समूहको ४ दशमलव ५७ प्रतिशत, होटेल समूहको ३ दशमलव ७४ प्रतिशत, वाणिज्य बैंक समूहको २ दशमलव ४३ प्रतिशत, अन्य समूहको २ दशमलव ३८ प्रतिशत, जलविद्युत्् समूहको २ दशमलवम १८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ९५ प्रतिशत र वित्त समूहको शून्य दशमलव ८३ प्रतिशत बढेको छ । कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक भने यस दिन शून्य दशमलव २७ प्रतिशत घटेको छ ।

सिर्जनाको साधारणसभा
सिर्जना फाइनान्स लिमिटेडले पुस २८ गते मोरङ व्यापार संघको सभाहल, विराटनगरमा १५ प्रतिशत बोनस सेयर, ९ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने, बोनस सेयर समावेश गरी ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने र संस्थापक समूहको तर्फबाट २ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव रहेको छ । 

दिव्यश्वरीको साधारणसभा
दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले पुस ३० गते योगाम्बर ब्यांक्वेट, सिंहदरबारमा चौथो, पाँचौँ र छैटौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा कम्पनीको प्रबन्धकपत्र र नियमावली संशोधन गर्ने, सञ्चालकहरूको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

अरुण काबेलीको साधारणसभा
अरुण काबेली पावर लिमिटेडले पुस ३० गते इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा सातौँ तथा आठौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा सञ्चालकको निर्वाचन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।

लुम्बिनीको बोनस सेयर
लुम्बिनी विकास बैंक लिमिटेडले १७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । पुस ६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् सो लाभांश वितरण गरिनेछ ।