मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०९:०७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाका १५ सिटमा मिलेन पार्टी र उम्मेदवारको मत 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ मङ्सिर १५ बिहीबार ०९:०७:००

एउटै व्यक्तिले प्रत्यक्षमा एकातिर र समानुपातिकमा अर्कोतिर मतदान गरेको दल र उम्मेदवारले पाएको मतबाट देखिन्छ

उपत्यकाका प्रतिनिधिसभाका १५ सिटमा दल र उम्मेदवारले पाएको मतमा अस्वाभाविक अन्तर देखिएको छ । यस्तो अन्तर गठबन्धनमा रहेका दलमा मात्र होइन, एमाले, स्वतन्त्र पार्टी र राप्रपामै पनि भेटिएको छ । यही मतान्तरले उपत्यकाका प्रतिनिधिसभा सिटमा आश्चर्यजनक नतिजा आएको छ । 

पार्टी र उम्मेदवारले पाएको मत अन्तरको अर्थ हुन्छ– दलहरूले कतिपय ठाउँमा आफ्ना मत सुरक्षित गर्न सकेका छैनन् र कतिपय क्षेत्रमा उम्मेदवार हेरेर मतदान भएको छ । यसबाहेक यो अन्तरले एउटै व्यक्तिले प्रत्यक्षमा एकातिर र समानुपातिकमा अर्कोतिर मतदान गरेको देखाउ“छ । गठबन्धनका साझा उम्मेदवार भएका ठाउँमा आबद्ध दलहरूले पाएभन्दा उम्मेदवारको मत कम छ । एमालेका उम्मेदवार र समानुपातिक मतबीच पनि धेरै अन्तर छ । उपत्यकाका चार सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र दलले पाएको मतबीच पनि एकरूपता छैन । निर्वाचन आयोगको प्रत्यक्ष र समानुपातिकतर्फको मत अंकलाई आधार बनाउँदा उपत्यकाका तीन जिल्लामा पार्टी र तिनै पार्टीबाट उम्मेदवार बनेकाहरूले पाएको मत फरक–फरक छ । 

काठमाडौं २ मा गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई खसेको जम्मा मत ९ हजार चार सय ४८ हो । तर सोही क्षेत्रमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई समानुपातिकतर्फ खसेको मत जोड्दा १३ हजारभन्दा बढी हुन्छ । काठमाडौं ४ मा २ को भन्दा अंकगणित ठीक उल्टो छ । कांग्रेस उम्मेदवार गगन थापाले प्राप्त गरेको मत र समानुपातिकतर्फ पार्टी पाएको मतबीच पनि ठूलो भिन्नता छ । यहाँ थापाले २१ हजार ३०२ मत पाएका छन् भने कांग्रेसले समानुपातिकतर्फ पाएको मत ११ हजार ८०८ छ । यस क्षेत्रमा एकीकृत समाजवादीले एक हजार ७१३ र माओवादीले एक हजार ५६४ मत पाएको छ । समानुपातिकतर्फ नै स्वतन्त्र पार्टीको मत ९ हजार ४१२ छ । 

ललितपुर ३ मा गठबन्धनकी उम्मेदवार पम्फा भुसाललाई खसेको मत आठ हजार ७६९ छ । तर, सोही क्षेत्रमा समानुपातिकतर्फ गठबन्धनका कांग्रेस, माओवादी र एकीकृत समाजवादीलाई खसेको मत १६ हजार सात छ । काठमाडौं ८ मा गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले प्राप्त गरेको मत र गठबन्धनको समानुपातिकतर्फको मतमा पनि भिन्नता छ । यहाँ श्रेष्ठले चार हजार ८७७ मत पाएका छन् भने समानुपातिकतर्फ कांग्रेस, माओवादी र एकीकृत समाजवादीले पाएको मत ६ हजार ४७५ छ । यस क्षेत्रमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले आठ हजार १०४ मत पाएको छ भने दश हजार १०५ मतसहित सोही पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका थिए । 

काठमाडौं ८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीले पाँच हजार ८८९ मत पाएका छन् ।क्षेत्र नम्बर ७ मा गठबन्धनकी उम्मेदवार मानुषी यमीले ६ हजार ६३ मत पाएकी छन् भने यस क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले पाँच हजार ४० मत पाएको छ । माओवादी केन्द्रले एक हजार ६६८ र एकीकृत समाजवादीले दुई हजार २७८ मत पाएको छ । 

भक्तपुर क्षेत्र नम्बर १ मा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले समानुपातिकमा पाएको मत जोड्दा दश हजार ७१५ हुन्छ । तर, यही क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका सुनील गोठेलाई पाँच हजार २८३ मत खसेको छ । 

काठमाडौं १ मा पनि जटिल अंकगणित छ । यहा“ कांग्रेसले पाएको समानुपातिक भोट जम्मा ६ हजार ९९२ छ । तर, समानुपातिकतर्फ पार्टीले झिनो भोट पाएको त्यही क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह विजयी भए । उनले प्राप्त गरेको मत सात हजार १४३ छ । यहाँ माओवादीको ९६५ र एकीकृत समाजवादीको ४३४ मत छ । 

साना दलका उम्मेदवार र पार्टीको पनि मिलेन हिसाबकिताब
काठमाडौं १ मै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पुकार बम र उनको पार्टीले पाएको मत भने सिंह र कांग्रेसले पाएको मतभन्दा फरक छ । बमले चार हजार ११५ मत पाएका छन् भने उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पाँच हजार ६१८ मत पाएको छ । 

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले १५ हजार २२९ मत पाएकी छन् भने समानुपातिकतर्फ उनको पार्टीले १३ हजार ८७९ मत पाएको छ । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र दलको मतबीच व्यापक फरक छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १६ हजार ६५० मत पाएको छ भने त्यही पार्टीबाट विजयी भएकी तोसिमा कार्कीले ३१ हजार १३६ मत पाएकी छिन् । 

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले आठ हजार ७४३ मत पाएका छन् भने समानुपातिकतर्फ उनको पार्टीलाई १० हजार ५८८ मत खसेको छ । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ९९६ मत पाएको छ भने सोही पार्टीका शिशिर खनालले १४ हजार २०४ मत पाएका छन् । 

भक्तपुर क्षेत्र १ मा निर्वाचित नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्राप्त गरेको मत संख्या ४२ हजार ७६१ हो । तर, यहाँ समानुपातिकतर्फ नेमकिपालाई खसेको मत ३२ हजार ९०४ चार मात्रै छ । त्यस्तै, क्षेत्र २ मा नेमकिपालाई खसेको मत सात हजार ८६३ भने सोही पार्टीका उम्मेदवार अनुराधा थापा मगरले सात हजार १२७ मत प्राप्त गरेकी छिन् ।