१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १०:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुई कम्पनीले छुट्याए वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत सेयर

रोजगारमा गएका ८९ जनाले सिआरएन नम्बर लिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १०:२१:००

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि दुई कम्पनीले पहिलोपटक १० प्रतिशत सेयर छुट्याएका छन् । कालिञ्चोक दर्शन लिमिटेड र सुपर मादी हाइड्रोपावर कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई १० प्रतिशत सेयर छुट्याएका हुन् । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र निष्कासन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका, २०७९’ अनुसार कम्पनीले सेयर छुट्याएका छन् ।

कालिञ्चोक दर्शन लिमिटेडको प्राथमिक सेयर बुधबारबाट निष्कासन हुँदै छ । त्यसैगरी, सुपर मादी हाइड्रोपावरको सेयर २० मंसिरबाट निष्कासन हुँदै छ । कालिञ्चोक दर्शनले एक करोड २० लाखबराबरको एक लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दाका लागि र वैदेशिक  रोजगारीमा गएका नेपालीका लागि एक लाख आठ हजार कित्ता सेयर छुट्याएको छ । त्यसैगरी, २ प्रतिशत अर्थात् २१ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशत सामूहिक लगानी कोष र आठ लाख ९६ हजार चार सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । 

त्यसैगरी, सुपर मादी हाइड्रोपावरको साधारण सेयर २० मंसिरबाट निष्कासन हुँदै छ । कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १५ प्रतिशत अर्थात् ३१ करोड ५० लाखबराबरको ३१ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रमा छुट्याएको छ । त्यस्तै, दुई लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि छुट्याएको छ । सेयर दाबी गर्नका लागि श्रम स्वीकृत भने लिएको हुनुपर्छ ।

बुधबारबाट सेयर निष्कासन हुने भएपछि वैदेशिक रोजगारीमा गएका धेरै नेपालीले विशेष चासो देखाउन थालेको सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । विद्यार्थी भिसामा गएका नेपालीले भने सेयरमा आवेदन दिन पाउनेछैनन् । रोजगारमा गएका नेपालीले सेयरमा आवदेन दिनुअघि वैदेशिक रोजगारीका लागि खोलिएको खातामा ६ महिनाभित्र कम्तीमा ५० हजार रुपैयाँ पठाएको हुनुपर्नेछ । गत आर्थिक वर्ष ०७८/७९ मा विभिन्न एक सय ४८ मुलुकमा श्रम स्वीकृति लिएर ६ लाख ३० हजार ९० जना वैदेशिक रोजगारीमा रहेका छन् । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार मंगलबार मध्याह्नसम्म ८९ जनाले सेयरमा आवेदन दिन सकिने गरी रेमिट खाता खोलेर सिआरएन नम्बर लिएका छन् । डिम्याट खाता खोल्नका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट अनलाइन फाराम भर्न सकिन्छ । प्रवक्ता सुरेश न्यौपानेले भने, ‘अहिले विदेश गएका धेरै नेपालीले यसप्रति चासो देखाइरहेका छन्, तर कसरी गर्ने, के गर्ने गर्ने भन्ने पूरा जानकारी नहुँदा अलमल भएको पाएका छौँ ।’