Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १३ मंगलबार १६:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मध्यबिन्दु अस्पतालमा मिर्गौला रोगीलाई निःशुल्क डायलाइसिस सेवा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार १६:४२:००

पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा मंगलबारदेखि मिर्गौला रोगीहरूलाई निःशुल्क डायलाइसिस सेवा सुरु गरिएको छ। यहाँ निःशुल्क डायलाइसिस सुरु भएपछि जिल्लाभित्रका रोगीहरूलाई बाहिरी जिल्ला जानुपर्ने र आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने भएको छ।

पूर्वी नवलपरासीनजिकको जिल्ला रुपन्देही र चितवनका सरकारी अस्पतालमा डायलाइसिसका लागि वेलैमा पालो नपाउने र निजी अस्पतालहरूमा महँगो शुल्क तिर्नुपर्ने मिर्गौला रोगीहरूलाई बाध्यता थियो। तर, मध्यबिन्दु जिल्ला अस्पतालमै यो सेवा सुरु भएपछि जिल्लाभित्रका मिर्गौला रोगीहरूले राहत पाएका छन्।

जिल्ला अस्पतालमा मंगलबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले डायलाइसिस सेवाको उद्घाटन गरेकी छन्। अस्पतालका लागि गण्डकी प्रदेश सरकारले चारवटा डायलाइसिस मेसिन निःशुल्क प्रदान गरेको हो।

जिल्लाभित्रका मिर्गाैला रोगीहरूले मध्यबिन्दु जिल्ला अस्पतालबाट निःशुल्क सेवा पाउने अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए। उनका अनुसार स्वास्थ्य बिमा गरेका वा नगरेका सबैले निःशुल्क डायलाइसिस सेवा पाउनेछन्। त्यसका लागि कुनै पालिका वा वडा कार्यालयबाट सिफारिस पनि नचाहिने उनले जानकारी गराए।

नवलपुर जिल्लामा कम्तीमा ८० जनाले डायलाइसिस गरेको मध्यबिन्दु जिल्ला अस्पतालले तथ्यांक संकलन गरेको छ। जसका लागि अस्पतालमा रहेका चारवटा मेसिन पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ भने अस्पतालमा डायलाइसिस सेवामा मात्रै १० वटा वेड सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले जनशक्ति व्यवस्थापनदेखि थप बेड व्यवस्था गरेर जिल्लाभित्रका सबै बिरामीलाई जिल्ला अस्पतालमै सेवा दिने गरी तयारी थालिसकेको बताए। अस्पतालले पहिलोसत्रको रूपमा अहिले नाैजना मिर्गौला रोगीलाई मात्र सेवा दिएको छ।

जिल्ला अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले यसका लागि स्थानीय तहको सरकारदेखि प्रदेश तथा केन्द्र सरकारको सम्बन्धित मन्त्रालयसम्म पहलकदमी लिइरहेको बताए । घिमिरेले पुस मसान्तसम्ममा जिल्लाभित्रका मिर्गौला रोगीहरूले डायलाइसिसका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता अन्त्य हुने गरी सेवा दिने बताए।

हाल ५० शय्यामा सञ्चालनमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा नियमित सेवाका अलावा सुत्केरी सेवा, कोभिडका बिरामीलाई आइसियू कक्ष, कडा क्षयरोगका बिरामीलाई होस्टेलसहितको उपचार सेवालगायतका सेवाहरू सञ्चालनमा रहेका अस्पताल प्रशासनले जनाएको छ।