१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर १२ सोमबार २०:०२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरी ४ : स्थगित मतगणना सुचारु गर्न आयोगको निर्देशन

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार २०:०२:००

सुनसरी क्षेत्र नम्बर ४ मा रोकिएको मतगणनालाई निरन्तरता दिन निर्वाचन आयोगले निर्देशन दिएको छ। 

निर्वाचन आयोगको प्रतिक्रिया पर्खिरहेको र सोमबार प्राप्त पत्रका आधारमा बाँकी मतगणना गर्न निर्देशन प्राप्त भएको निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए। 

‘आयोगको जवाफ हामीले पर्खिरहेका थियौँ, आज प्राप्त भयो,’ उनले भने, ‘कानुनतः मतगणनालाई निरन्तरता दिनू भन्ने निर्देशन प्राप्त भएको छ।’ उनले मंगलबार बिहान सर्वदलीय बैठक बसेर मतगणना सुचारु गर्ने बताए।

निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीले ६०६ मत नेकपा एमालेका उम्मेदवारलाई थप गरेकाे भन्दै कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना रोक्न निवेदन दिएका थिए। 

त्यसपछि शनिबार बसेको सर्वदलीय बैठकमा दुवै पक्षको फरक माग भएपछि सहमति हुन सकेन। सोही बैठकमा निर्वाचन अधिकृतले गल्ती स्वीकार गरेका थिए। 

पुनः आइतबार बसेको सर्वदलीय बैठकले समेत निष्कर्ष निकाल्न नसकेपछि कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि गणना गर्न निर्वाचन कार्यालयमा निवेदन दिएका थिए। आयोगबाट आउने प्रतिक्रियाको आधारमा अगाडि बढ्ने गरी सो निवेदन निर्वाचन आयोगमा पठाइएको थियो। 

कार्की–कुसियैतबीच कडा टक्कर

सुनसरी ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतको कडा प्रतिस्पर्धा छ। सुरुवाती अवस्थादेखि एकपछि अर्को गर्देै दुवैले अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार कार्कीले झिनो मतले अग्रता लिएका छन्।

अहिलेसम्म ६० हजार ६ सय ३२ मतगणना हुँदा उनले २३ हजार ७९ मत प्राप्त गरेका छन्। त्यस्तै, एमालेका कुसियतले २३ हजार ८ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत अधिकारीका अनुसार हालसम्म ३२ वडामध्ये २२ वडाको मतगणना भइसकेको छ। उनका अनुसार अब ८ वटा वडाको पूरा र गणना हुँदै गरेको एउटा वडाको गरी करिब २१ हजार मत गणना गर्न बाँकी रहेको उनले जानकारी दिए।

दुवै पक्षको पत्रकार सम्मेलन

सोमबार इनरुवामा कांग्रेस र नेकपा एमालेले छुट्टाछुट्टै पत्रकार सम्मेलनसमेत गरेको थियो। रोकिएको मतगणना तत्काल सुरु नभए सडक आन्दोलनमा उत्रिने नेकपा एमालेका जगदीश कुसियतले चेतावनी दिएका छन्। 

निर्वाचन परिचालन कमिटीले पत्रकार सम्मेलन गर्दै तत्काल रोकिएको मतगणना गर्न माग गरेको हो। कुसियतले समयमा मतगणना नगरेर धाँधली गर्न विपक्षीहरू सक्रिय रहेको आरोप लगाउँदै आयोगलाई तत्काल बाँकी रहेका मतगणना गर्न माग गरेका छन्। 

त्यस्तै, कांग्रेसको पत्रकार सम्मेलनमा जिल्ला सभापति केदार भण्डारीले निर्वाचन समितिले गल्ती स्वीकार गरिसक्दा पनि एमालेले बखेडा झिकेको आरोप लगाए। नेकपा एमालेले डराएर धम्की दिन थालेको र यसअघि ६०६ मत धाँधली भएको प्रमाणित भएको कारण पुनः मतगणना हुनुपर्ने नेपाली कांग्रेसको माग छ।