१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७५ चैत १८ सोमबार ११:१७:००
Read Time : > 2 मिनेट
ब्लग

यसकारण गरेँ आमाको किरिया

Read Time : > 2 मिनेट
२०७५ चैत १८ सोमबार ११:१७:००

आफ्ना आमाबाबुको मृत्यु संस्कार गर्न पाउनु सबै सन्तानको समान अधिकार हो । यसमा छोरा र छोरी भन्ने कुरै आउँदैन । वेद, शास्त्रमा यस्तो कतै उल्लेख पनि छैन । फेरि म एक्लो सन्तान । यसैले आमाको मृत्युकर्म गर्नु मेरो पूर्ण अधिकार थियो । अनि केश मुण्डन गरेर आमाको सम्मानका लागि किरियामा बसेकी हुँ । 

मलाई अचम्म लाग्छ, अझै मानिसहरू छोरीले काजकिरिया गर्न हुँदैन भनिरहेका छन् । मुलुकमा यत्रो परिवर्तन भइसक्यो । तर, यति सानो कुरामा अड्किरहेका छौँ । पहिलो सर्त भनेको विभेद र अन्याय अत्याचार अन्त्य गर्ने कुरा हो । यस्ता संकुचित रुढिवादी कुरा उखेलेर फाल्नुपर्छ । 

मैले समाजमा छोरीमाथि हुँदै आएको सामाजिक सांस्कृतिक विभेदहरू सबै बुझेको, भोगेको छु । जनजाति समुदाय पनि छोरीप्रति अझै पूर्ण उदार छैन । पित्तृसत्ताको चर्को दबाब कायमै छ । ती सबै विकृतिलाई चुनौती दिन म आमाको किरिया बसेकी हुँ । 

मलाई प्रत्यक्ष बाधा नआए पनि अप्रत्यक्ष रूपमा भने भोगेँ । जब मैले आमाको काजकिरिया आफैँ गर्ने निर्णय गरेँ, तब केही आफन्तमा हलचल भएछ । मलाई कपाल नखौरन भनियो । तर, अडान छाडिनँ । कसैसँग डगिनँ ।

मेरो कामबाट बुबा धेरै खुसी हुनुभयो । वास्तवमा परिवर्तन आफैँबाट सम्भव हुँदोरहेछ । हामी र हाम्रो समाजमा धेरै कुसंस्कार छन् । ती कुसंस्कारमा तुरुन्तै नराम्रा कुरालाई छाड्ने र राम्रा कुरालाई अवलम्बन गर्ने कुरा अगाडि बढ्नुपर्छ । 

आमाबुबाको वा आफन्तको मृत्यु संस्कारमा सहभागी हुँदा कम्युनिस्ट होइँदैन भन्ने सोच गलत हो । असल कम्युनिस्ट हुन त असल चरित्र हुनुपर्छ । भ्रष्टाचारी, व्यभिचारी पो हुनुहुँदैन । शेषण, दमन पो गर्नुहुँदैन । आफ्ना पितृलाई सम्मान प्रकट गर्दा केको कम्युनिस्ट चारविरोधी हुनु ? आमाको स्वर्गवासका लागि र मेरो आत्माको सम्मानका लागि मैले यसो गरेकी हुँ । 

मलाई लाग्छ, मृत्यु संस्कार आफैँ विज्ञान हो । मान्छेको आत्मा र मान्छेको जीवन नै विज्ञान हो । विज्ञान सँगसँगै मान्छेको भावनाको कुरा पनि छ । मान्छेभित्र संवेदना, संवेग, माया, प्रेम, सद्भाव हुन्छ । यो विज्ञानसँग नै सम्बन्धित विषय हो । यसैले आमाबाबुको काजकिरिया आफ्नो जाति, धर्म, परम्पराअनुसार गर्नु गलत होइन । वेद, शास्त्रलाई गलत व्याख्या गरेर जाली नीति नियम बनाउने मनुस्मृतिजस्तो मुनीहरू गलत हुन् । उनीहरू दलाल थिए । यसैले महिला र दलितलाई अछुत बनाए । ती गद्धारहरूकै कारण शास्त्रमा विसंगति भित्रिएको हो । 

मलाई अचम्म लाग्छ, अझै मानिसहरू छोरीले काजकिरिया गर्न हुँदैन भनिरहेका छन् । मुलुकमा यत्रो परिवर्तन भइसक्यो । तर, यति सानो कुरामा अड्किरहेका छौँ । पहिलो सर्त भनेको विभेद र अन्याय–अत्याचार अन्त्य गर्ने कुरा हो । यस्ता संकुचित रुढिवादी कुरा उखेलेर फाल्नुपर्छ । 

म संस्कृतमा विद्यावारिधि गरिरहेकी छु । धर्मशास्त्रभित्रका छिद्रहरूलाई बुझेर विश्लेषण गरी महिलाको अधिकार स्थापित गराउन नै यो अध्ययन थालेकी हुँ । मेरो शोधको उद्देश्य महिलाहरूको गुमेको वंशको अधिकारलाई फर्काउन सहयोग पु-याउनु पनि हो । यसैले त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन खोेजेकी हुँ ।

जहाँसम्म मलाई लाग्छ, मैले किरियामा बसेर समाजमा नजिर बसाएकी छु । किराती संस्कारभित्रका विकृतिहरूलाई हटाउन सफल भएकी छु । म मृत्यु संस्कारमा गरिने रक्सी–मासुको भोज पूरै वर्जित गराउन सफल भएँ । फलैँचा बनाएर त्यहाँ राँगाको रगत चढाउने परम्परालाई तोडेर आमाको नाममा दश लाखको अक्षय कोष स्थापना गराएँ । अबदेखि छोरीहरू पनि सहज रूपमा आमाबाबुको संस्कार गर्न सक्छन् भन्ने मान्यता स्थापित भएको छ । 

मैले आमाको किरिया बसेर आफ्नो उद्देश्यलाई पूरा गराउने प्रयास मात्र गरेकी हुँ । जहाँसम्म लाग्छ, म आफ्नो समाजमा महिलाको वंश अधिकार स्थापित गराउन सफल भएकी छु । अबदेखि सबैले यसको अनुसरण गरून् । आपसी अस्तित्व सबैले स्विकार्नुपर्छ । धर्ममा भएका विकृति अन्त्य गराउनुपर्छ । महिला र पुरुषको सहभागिता समान गराउन व्यावहारिक रूपले नै प्रमाणित गरेर लागिपर्नुपर्छ ।