मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मुना कुँवर काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०७:३६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा कोषबाट ५० हजार आठ सय योगदानकर्तालाई पौने तीन अर्ब भुक्तानी

कोषमा आबद्ध २७० मृतक श्रमिकका परिवारले पाए पाँच करोड नौ लाख भुक्तानी

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ मङ्सिर १२ सोमबार ०७:३६:००

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध दुई सय ७० मृतक श्रमिकका परिवारलाई पाँच करोड नौ लाख भुक्तानी गरिएको छ । कोषले सञ्चालन गरेको आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत मृतक श्रमिकका परिवारलाई कोषले सो रकम भुक्तानी गरेको हो । 

कोषले सञ्चालन गरेको विभिन्न योजनाबापत हालसम्ममा ५० हजार आठ सय योगदानकर्ता र तिनका परिवारलाई दुई अर्ब ७० करोड भुक्तानी गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । जसमध्ये औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाबापत ३१ करोड ७८ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामार्फत तीन करोड ७२ लाख रहेको छ । 

कोषका कार्यकारी निर्देशक ज्ञवालीका अनुसार ०७९ मंसिर १० गतेसम्म कोषमा १७ हजार पाँच सय ६ प्रतिष्ठान र तीन लाख ७५ हजार नौ सय १४ योगदानकर्ता सूचीकृत भएका छन् । हालसम्म कोषले दुई लाख ७० हजार योगदानकर्ताबाट २६ अर्बभन्दा बढी रकम संकलन गरेको छ । 

 घातक रोग लागेमा १० लाखसम्म भुक्तानी गर्ने
  कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ लाई तेस्रोपटक संशोधन गरी घातक रोगमा लागेमा १० लाख रुपैयाँसम्म भुक्तानी गर्ने व्यवस्था गरेको छ । साथै, योगदानकर्ताको पति वा पत्नीको समेत औषधि उपचार खर्च कोषले व्यहोर्ने जनाएको छ । कोषले यसै वर्षदेखि स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजनाअन्तर्गतका नगदरहित सुविधा दिन २८ वटा अस्पतालसँग सम्झौता गरेको छ । सो अस्पतालमा गई उपचार गर्दा योगदानकर्ताले कुनै पनि रकम भुक्तानी गर्नुपर्दैन । 

 मोबाइल एपबाट १३ वटा सुविधा लिन सकिने
सामाजिक सुरक्षा कोषले एसएसएफ नामक एप्लिकेसन सञ्चालनमा ल्याएको छ । एपमार्फत विशेष सापटीका लागि आवेदन गर्ने र सो रकम सोझै योगदानकर्ताको खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । एपमार्फत सापटीलगायत कोषबाट प्रदान गरिने विभिन्न १३ वटा सेवाहरू योगदानकर्ताले लिन सक्ने कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए । योगदानकर्ताले सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सुविधाको दाबी तथा भुक्तानी पनि अनलाइनमार्फत नै लिन सक्नेछन् । 

 सूचीकृत उत्कृष्ट प्रतिष्ठानलाई सम्मान
सामाजिक सुरक्षा कोषमा सूचीकृत १० वटा प्रतिष्ठानलाई सम्मान गरिएको छ । कोषले स्थापना दिवसको अवसरमा काठमाडौं आयोजित एक कार्यक्रमबीच सूचीकरणका आधारमा र योगदान रकमका आधारमा उत्कृष्ट १०–१० वटा प्रतिष्ठानलाई सम्मानित गरेको छ । सूचकरणका आधारमा गरुड सेक्युरिटिज, जिफोरएस सेक्युरिटिज सर्भिस, रिलायन्स स्पाइनिङ् मिल्स, एरिहान्ट मल्टी फाइबर, इन्फोटेक सर्भिस, सिजी फुड नेपाल, स्प्राउट टेक्नोलोजी सर्भिस, किरण सुज, सुविधा सेवा र श्री रघुपति जुट मिल्सलाई सम्मान गरेको छ ।

त्यस्तै, योगदान रकमका आधारमा गोर्खा वेलफेयर ट्रस्ट नेपाल, सेभ दी चिल्ड्रेन, कोटिभिटी नेपाल, लक्ष्मी बैंक, सिडर गेट सर्भिस, एनसेल, स्प्राउट टेक्नोलोजी, गरुड सेक्युरिटिज, वरुण वेभरेज र रिलायन्स स्पाइनिङ मिल्स सम्मानित भएका हुन् । 

सामाजिक सुरक्षा करलाई कोषमा गाभिने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा करबापत संकलन गरिँदै आएको १ प्रतिशत कर सामाजिक सुरक्षा कोषमा नै गाभ्ने बताएका छन् । सामाजिक सुरक्षा कोषको पाँचौँ स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सो रकमलाई कोषमा गाभ्न सरकारसँग छलफल भइरहेको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष, २०७४ अनुसार यसअघि सरकारले संकलन गर्दै आएको सामाजिक सुरक्षा कर कोषमा नै गाभ्ने व्यवस्था गरेको छ । तर, हालसम्म पनि सो कार्यले पूर्णता भने पाएको छैन । त्यस्तै, कार्यक्रममा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा रहेको श्रमिक, अनौपचारिक क्षेत्रमा रहेको श्रमिक र स्वरोजगारलाई कोषमा आबद्ध गराइने बताए ।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले अबदेखि घरमा काम गर्ने मजदुरले पनि  पेन्सन पाउने बताएका छन् । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि कोषमा आबद्ध गराउने भए पनि निजामती कर्मचारी र अनौपचारिक क्षेत्रका श्रमिकबीच समान हैसियत कायम हुने बताए । ‘दैनिक मजदुरी गर्नेले पनि पेन्सन पाउनेछन् । अरूका घरमा काम गर्ने श्रमिक पनि आर्थिक रूपमा सुरक्षित हुनेछन्,’ उनले भने । वैदेशिक रोजगारीबाट फर्केपछि कुनै पनि कामदार रित्तो हुनुनपर्ने उनले जिकिर गरे । रोजगारीमा गएका कामदारका परिवारले कोषबाट ऋण लिएर आफैँ स्वरोजगार हुन सक्ने व्यवस्था गरिएको समेत उनले बताए ।